काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परेर ११ दिनमा उद्धार गरिएका चीनिया नागरिक लु हाइताओले आफूलाई उद्धार हुने कुनै विश्वाशै नलागेको अनुभव सुनाएका छन् ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट शनिबार उद्धार गरिएका चिनियाँ नागरिक लुले बाहिरबाट नेपाली सेनासहितको उद्धारकर्मीहरुको सिटीको आवाजमा आफूलाई पत्यार नलागेको बताएका छन् ।
सैनिक अस्पताल छाउनीमा उपचार गराइरहेका लु लाई भेट्न सैनिक अस्पताल पुगेको चीनिया राजदुतहितको टोलीसँग यस्तो बताएका हुन् ।
गएको भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण सुरुङभित्रै थुनिएका उनलाई उद्धार गरेर हेलिकप्टरमार्फत काठमाडौं ल्याएपछि चिनियाँ दूतावासको टोलीले सैनिक अस्पताल पुगेर भेटेको थियो।
११ औँ दिनमा हाइताओको जीवित उद्धार भएपछि चीनमा रहेका उनको परिवारमा खुसीयाली छाएको छ। चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले लामो समयको प्रतीक्षापछि लुको परिवारले राहतको सास फेर्न पाएको उल्लेख गरेको छ।
उनलाई शनिबार जलविद्युत् आयोजनाको २२५ मिटर ९७४० फिट० लामो सुरुङबाट बाहिर निकालिएको थियो। सीसीटीभीले लुसँग चिनियाँ दूतावासको टोलीले गरेको संवादको अडिओ पनि सार्वजनिक गरेको छ।
सोही अडिओलाई उल्लेख गरी सीसीटीभीले समाचार प्रकाशन गरेअनुसार लु हाइताओ सुरुङभित्र सबैभन्दा अग्लो स्थानमा रहेको र उद्धार टोलीले बजाएका सिट्ठीका आवाजहरू सुने पनि त्यसलाई पत्यार नलागेको बरू आफ्नै कल्पना मस्तिष्कमा घुमेको हुन सक्ने ठानेको बताएका छन्।
उद्धारकर्मीहरूले चिच्याएको आवाज पनि आफूले नसुनेको उनले चिनियाँ दूतावासका टोलीलाई बताएको सीसीटीभीले उल्लेख गरेको छ।
लुले चिनियाँ दूतावासको प्रतिनिधिसँग भनेका छन्, ‘जब उनीहरूले मेरो आँखासामु उज्यालो प्रकाश दिए, मैले त्यसलाई विश्वास नै गर्न सकिनँ। उनीहरूले मेरो आँखासामु बत्ती देखाएपछि म चिच्याउन पनि सकिनँ। त्यसबेलासम्म मेलै उद्धार हुने आशा मारिसकेको थिएँ।’
अर्को सञ्चारमाध्यम एनबीसी न्यूजमा हङकङबाट लेखिएको समाचारमा चीनमा रहेकी लुकी बहिनी लु हाइरोङलाई उद्धृत गरिएको छ। उनका अनुसार, चिनियाँ अधिकारीहरूले लुको उद्धार हुनासाथ उनलाई खबर गरेका थिए। तर, समाचारमा दाजुको तस्बिर सार्वजनिक नहुँदासम्म विश्वास नलागेको हाइरोङले बताएको एनबीसी न्यूजले उल्लेख गरेको छ।
४९ वर्षीय लु विवाहित हुन्। उनका एक छोरा छन्। उनी चीनको मध्य भागमा पर्ने हेनान प्रान्तका किसान थिए।
फुर्सदको समयमा मुख्यतः सिकर्मीको काम गर्दै अतिरिक्त आम्दानी गर्दै आएका थिए। बहिनी हाइरोङले एनबीसी न्युजलाई बताएअनुसार लु पहिलोपटक विदेशमा काम गर्न गत फेब्रुअरीमा उनको गाउँकै एक व्यक्तिसँग नेपाल आएका थिए।
लुले नेपालमा आफूले काम गर्ने स्थानको बारेमा भने परिवारलाई बताएका थिएनन्। उनीहरूले नेपालको बाढीमा बेपत्ता भएका चिनियाँ नागरिकको बारेमा बनाइएको आपसी सहयोग समूहमा अरूले पठाएका समाचार हेरेर मात्रै घटना र काम गर्ने स्थानको बारेमा थाहा पाएको उनले बताएकी छन्। ‘यत्ति ठूलो विपत्तिका बीच भएको यो उद्धार हाम्रो लागि चमत्कार जस्तै हो,’ हाइरोङले भनेकी छन्।
लु बाढीको हराएको खबर पाएदेखि खान र सुत्नसमेत नसकेको उनले बताएकी छन्। उनीहरूले बाढी आएको छैटौँ दिनमा मात्रै लु बेपत्ता भएको खबर पाएका थिए। त्यसपछि आफूहरू स्तब्ध भएको र नेपालका समाचार एआई प्रयोग गरेर चिनियाँ भाषामा अनुवाद गर्दै हेर्न थालेको उनले बताएकी छन्।
विभिन्न सञ्चारमाध्यममा उनीहरूलाई उद्धृत गरिएअनुसार, लुको उद्धार भएपछि पनि लामो समय आफ्नै मान्छे हो भन्ने विश्वास गर्न कठिन भएको थियो। उद्धारपछि सार्वजनिक भएको लुको तस्बिर आफन्तहरूको बीचमा सेयर गरेर त्यसमा देखिएको व्यक्ति लु नै हुन् कि होइनन् भनेर पहिचान गरिएको उनीहरूले बताए।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३ २१:०४