काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे खण्डस्थित कृष्णभिरमा सडक मर्मत नसकिँदासम्म नारायणगढ–मुग्लिन सडकको तुइन खोला क्षेत्रमा आज (भदौ २२ गते) देखि हरेक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म २ घण्टाका दरले पटकपटक सवारीसाधन आवतजावत रोकिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार तुइन खोला परियोजनाको भित्तो काट्ने (माटो कटान) काम अघि बढाउन आज (सोमबार) देखि हरेक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बिचबिचमा आधा घण्टा मात्र यातायात खुलाइने गरी तालिका बनाइएको हो।
जसअनुसार आजदेखि हरेक बिहान ६ बजेदेखि ८ बजेसम्म, बिहान ८ः३० देखि १०ः३० सम्म, बिहान ११ देखि दिउँसो १ सम्म, दिउँसो १ः३० देखि ३ः३० सम्म र दिउँसो ४ः०० देखि साँझ ६ः०० बजेसम्म सवारीसाधन आवागमन बन्द गरिनेछ।
यसबिचका हरेक आधा घण्टा (बिहान ८ः००–८ः३०, बिहान १०ः३०–११ः००, दिउँसो १ः००–१ः३०, दिउँसो ३ः३०–४ः००) भने सवारीसाधन सञ्चालन गर्न दिइनेछ। साँझ ६ बजेउता भने सडक खुला रहनेछ।
‘मुग्लिन-काठमाडौं सडकखण्डको कृष्णभिरमा सडक मर्मत कार्य जारी रहेको तथा उक्त स्थानमा नयाँ ट्र्याक खोली आवागमन सुचारु गर्न केही समय लाग्ने भएकाले उक्त सडकमा सवारीसाधनको आवागमन बन्द रहेको बेहोरा विदितै छ। सोही कारणले नारायणगढ-मुग्लिन सडकखण्डमा समेत सवारी आवागमन न्यून भएको छ’, सूचनामा भनिएको छ, ‘कृष्णभिरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोला परियोजनाको माटो कटान कार्य अगाडि बढाउँदा न्यूनतम संख्यामा सवारीसाधन प्रभावित हुने भएकाले कृष्णभिर सडकखण्डको मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सुचारु नहुन्जेलसम्मका लागि नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला क्षेत्रमा मिति २०८३।०५।२२ गतेदेखि प्रत्येक दिन तपसिलको कार्यतालिकाबमोजिम सवारीसाधनको आवागमनमा आंशिक रोकावट लगाइने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ।’
जिल्ला प्रशसन कार्यालयको सूचना

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३ ०६:५६