धुन्चे । माथिल्लो त्रिशूली २१६ जलविद्युत् आयोजनाको भूमिगत डिसेन्डरमा दुईवटा शव फेला परेका छन् ।
उद्धार टोलीले आइतबार आयोजनाको भूमिगत डिसेन्डरबाट थप दुई शव निकालेको हो ।आयोजनाको टनेलबाट शनिबार दुई, शुक्रबार ६ र १२ भदौमा एकजनाको शव निकालिएको थियो । उद्धारका क्रममा आइतबार थप दुई शव फेला परेको प्रोजेक्ट म्यानेजर गिरिराज अधिकारीले बताए ।
शनिबार एकजना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको थियो । आयोजनामा अझै ५४८ जना सम्पर्कविहीन छन् । उनीहरूमध्ये करिब तीन सयजना सुरुङभित्र फसेको अनुमान गरिएको छ । आइतबार विदेशीसहितको उद्धार टोलीले थर्मल क्यामेरामार्फत सुरुङभित्र थप खोजी गरेको नेपाली सेनाले जनाएको छ ।
सुरुङ तथा हेडवक्र्समा हराइरहेकाहरूको खोजीका लागि आवश्यक कामसमेत जारी रहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान०का अनुसार आइतबारसम्म आयोजनाको ११० मिटर लामो तीनवटा डिसेन्डर बेसिनको सर्च गरिएको छ ।
‘आइतबार आइआर ड्रोनले डिसेन्डर बेसिनमा पूर्ण रूपमा सर्च गरेको थियो । उद्धारमा नेपाली सेना, नेपाल ड्रोन एसोसिएसन, कोरियन र शेर्पासहितको टोली सहभागी छन् । तालिमप्राप्त सर्च डगले पनि खोजी गरिरहेको छ,’ इप्पानले भनेको छ ।
त्यस्तै, सोमबार अडिट नम्बर ३ सुरुङबाट माथितर्फको खोजी कार्यलाई तीव्रता दिने तयारी भइरहेको सम्बन्धित कम्पनीले जनाएको छ । यस्तै, १२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत्मा पनि आइतबार एक शव भेटिएको छ । यसमा अझै तीनजना बेपत्ता छन् ।
१० भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्मा कार्यरत हजारौँ कर्मचारी, प्राविधिक, इन्जिनियर तथा श्रमिक सम्पर्कविहीन छन् । १२ दिन हुँदा पनि उनीहरूको खोजी तथा उद्धारमा अपेक्षाकृत सफलता मिलेको छैन ।
यस्तै, उद्धार टोलीले २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा सम्पन्न गरेको छ । आयोजनाको सुरुङभित्र दुईजनाको शवबाहेक केही नभेटिएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य बन्द गरेको इप्पानले पुष्टि गरेको छ ।
१८ भदौमा आयोजनाको पेनस्टक पाइप काटेर सुरुङभित्र प्रवेश गरी खोजी गर्दा दुईजनाको शव भेटिएको थियो । दुवै शवको पहिचान हुन सकेको छैन । आयोजनामा कार्यरत ३९ जना अझै हराइरहेका छन् । सुरक्षित ठाउँमा पुगेका १९ जनाको पहिले नै उद्धार भइसकेको थियो ।
शुक्रबार दुईजनाको जीवितै उद्धार भएको ६० मेगावाटको माथिल्लो त्रिशूली– ३ ए जलविद्युत् परियोजनामा आइतबारसम्म अरू उद्धार हुन सकेको छैन । शुक्रबार यस परियोजनाको सुरुङमा एक शव पनि भेटिएको थियो । यस परियोजनाका अझै ३९ जना सम्पर्कविहीन छन् । परियोजनाको पावरहाउस तथा टनेलमा नेपाली सेनाको फौजद्वारा रेस्क्यु इक्विपमेन्ट सामग्रीसहित निरन्तरता खोज तथा उद्धार कार्य भइरहेको बताइएको छ ।
माथिल्लो त्रिशूली ३ ‘बी’मा निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका १३ जना सम्पर्कमा आएका छन् । योसँगै यसमा सम्पर्कविहीन हुनेको संख्या दुई सय छ । निर्माणाधीन अवस्थामा रहेको यस परियोजनामा पनि बाँधबाहेक सबै संरचना भूमिगत थिए । त्यसमा विद्युत्गृह भएको स्थान पहिचान गरिएको छ । यसैगरी बाहिर नै रहेको कर्मचारी आवास क्षेत्र पनि पहिचान गरिएको छ । त्यससम्म पुग्नका लागि पहुँच मार्ग बनाउने काम भइरहेको छ । ‘माथिल्लो त्रिशूली– ३ ‘बी’मा अडिट २ बाट फौज छिरेर अडिट १ बाट निस्किएको छ । अडिट २ टनेलबाट एक्स्काभेटर जान सक्ने गरी बाटो सफाइ भइरहेको र हालसम्म केही फेला नपरेको अवस्था छ,’ सेनाले भनेको छ । सोमबार पुनः खोजी कार्य गर्ने तयारी छ ।
९३ जना सम्पर्कविहीन रहेको १११ मेगावाटको रसुवागढीमा खोजी तथा उद्धार कार्यलाई जारी राखिए पनि आइतबार प्रगति भएको छैन । ‘सुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धारको टोली कम्पोसाइट कुइक रियाक्सन टिम तथा आयोजनाको प्रतिनिधिसहितको टोली पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगी खोजी कार्य भएको छ,’ सेनाको आइतबारको सूचनामा छ । विद्युत्गृहभित्र चार तलाको विद्युत्गृह तथा कन्ट्रोल रुमसम्मै बाढीको माटो, हिलो र लेदो भरिएको पाइएको छ ।
आठजना बेपत्ता भएको चिलिमे जलविद्युत्मा आइतबार पनि केही प्रगति भएको छैन । ‘चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले मिनी एक्स्काभेटर र पम्पको सहायताले लेदो फाल्ने काम गरेको र सिलिङ अप्रेसन गरी हेलिकोप्टरबाट स्याफ्रुबेँसीमा झारेको एक्स्काभेटर टनेल इलाकामा लैजाने कार्य भइरहेको छ,’ सेनाको सूचनामा छ । पाँच मेगावाटको मैलुङको विद्युत्गृहबाट हराइरहेका सातजनाको अवस्था १२औँ दिन बितिसक्दा पनि अज्ञात छ । विद्युत्गृह बाढीमा बगेको छ ।
१२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत्का तीन, २४ मेगावाटको त्रिशूली जलविद्युत्का तीन, १४।१ मेगावाटको देवीघाट जलविद्युत्का एक र १५।६ मेगावाटको मिडिल त्रिशूलीका दुईजना सम्पर्कविहीन छन् । यस्तै, त्रिशूली ३ ‘बी’ हब सबस्टेसनका १६, चिलिमे त्रिशूली २२० केभी प्रसारणलाइनका दुई र रसुवा वितरण केन्द्रका एकजना सम्पर्कविहीन छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३ ०७:०७