धुन्चे । बाढीपछि रसुवाका जंगल, भिर तथा नदीकिनारमा मानिस फसेको हुन सक्ने आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीले ती क्षेत्रमा गस्ती तीव्र पारेका छन् ।
सुरक्षा निकायका अनुसार जंगल तथा नदीकिनारका सम्भावित जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ ।
सम्पर्कविहीन भएका व्यक्तिले आफ्ना आफन्तहरू जंगल तथा भिरमा रहेको आशंका गरेका छन् । यसैलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले सम्भावित स्थानमा निगरानी बढाएका हुन् ।
‘हामीले जंगलको माथिल्लो भागबाट पनि पैदल नै गस्ती गरिरहेका छौँ,’ सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेत भन्छन्, ‘नदीकिनारमा पनि खोजी भइरहेको छ । हरेक दिन हेलिकोप्टरबाट पनि रेकी भइरहेको छ । अहिलेसम्म त्यो क्षेत्रमा उद्धार गर्नुपर्ने कोही पनि भेटेका छैनौँ । खोजीमा हरसम्भव प्रयास भइरहेको उनको भनाइ छ ।
बाढी आएको पहिलो दिनदेखि नै नदीकिनार तथा त्यसआसपासका माथिल्ला क्षेत्रमा हेलिकोप्टरमार्फत निगरानी र रेकी गरिएको सुरक्षा निकायले जनाएको छ । सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा निगरानी बढाइए पनि अहिलेसम्म कसैलाई फेला पार्न नसकिएको सुरक्षा निकायको भनाइ छ । ‘कोही बेहोस् अवस्थामा छन् अथवा पुरिएको अवस्थामा छन् भने छुट्टै कुरा नत्र त्यो क्षेत्रमा अन्य व्यक्ति भेटेका छैनौँ,’ सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी नेत्रबहादुर कार्की भन्छन्, ‘घट्टेखोलाजस्ता दुर्गम ठाउँमा पनि हाम्रा फौज पैदल नै गइरहेका छन् । डाँडाकाँडामा पनि खोजी भइरहेको छ ।’
यसरी गस्ती गर्ने क्रममा सुरक्षाकर्मीले शवहरू भने फेला पारेका छन् । आइतबार पनि सशस्त्र प्रहरीले टिमुरे क्षेत्रमा तीनवटा शव फेला पारेको सशस्त्र प्रहरीका प्रवक्ता कार्की बताउँछन् । चीनसँगको नाकादेखि स्याफ्रुबेँसीसम्मको सम्पूर्ण सडक बगाएकाले सबै क्षेत्रमा अझै सुरक्षाकर्मी पुग्न सकेका छैनन् । कतिपय क्षेत्रमा हेलिकोप्टरमार्फत सुरक्षाकर्मी झारेर पनि खोज तथा उद्धार भइरहेको सैनिक प्रवक्ता बस्नेत बताउँछन् ।
स्याफ्रुबेँसीदेखि माथिल्लो क्षेत्रमा सुरक्षा निकायको एउटा मात्र कार्यालय छ । टिमुरेमा सशस्त्र प्रहरीको बिओपी छ । रसुवागढी नाका र टिमुरेमा सबै सरकारी कार्यालय बाढीले बगाए पनि सशस्त्रको बिओपी जोगिएको थियो । यद्यपि, डिउटीमा खटिएका सशस्त्र नौ कर्मचारी भने बेपत्ता छन् ।
सो बिओपीमा हाल थप सुरक्षाकर्मी परिचालन गरिएको छ । डिएसपी प्रदीप राई नेतृत्वको टोलीलाई सीमा सुरक्षादेखि बाढीको खोज तथा उद्धारको जिम्मेवारी दिइएको छ । सशस्त्रको टोलीले दैनिक शव फेला पारिरहेको छ । जीवित व्यक्ति भने फेला नपरेको सशस्त्र प्रहरी अधिकारी बताउँछन् ।
बेपत्ताहरूको खोजीमा सुरक्षा निकायले ड्रोनको पनि प्रयोग गरिरहेका छन् । तर, रसुवामा हेलिकोप्टरको नियमित उडान भइरहने र ड्रोनका कारण अवरोध हुने भएकाले धेरै ड्रोन भने सुरक्षा निकायले उडाउन पाएका छैनन् । सुरक्षाकर्मीले खोजीमा ढिलाइ गरेको भन्दै कतिपय सम्पर्कविहीन व्यक्तिका परिवारहरूसमेत आफैँ खोजीमा निस्किएका छन् ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेत भन्छन्– हामीले जंगलको माथिल्लो भागबाट पनि पैदल नै गस्ती गरिरहेका छौँ । नदीकिनारमा पनि खोजी भइरहेको छ । हरेक दिन हेलिकोप्टरबाट पनि रेकी भइरहेको छ । अहिलेसम्म त्यो क्षेत्रमा उद्धार गर्नुपर्ने कोही पनि भेटेका छैनौँ ।
सशस्त्र प्रहरी प्रवक्ता डिआइजी नेत्रबहादुर कार्की भन्छन्–कोही बेहोस् अवस्थामा छन् अथवा पुरिएको अवस्थामा छन् भने छुट्टै कुरा, नत्र त्यो क्षेत्रमा अन्य व्यक्ति भेटेका छैनौँ । घट्टेखोलाजस्ता दुर्गम ठाउँमा पनि हाम्रा फौज पैदल नै गइरहेका छन् । डाँडाकाँडामा पनि खोजी भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३ ०७:१३