काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले बेपत्ता हुनेको संख्या बढ्दै छ ।
सडक, पुल, भन्सार पूर्वाधार र मालवाहक सवारीसाधनमा मात्रै क्षति पुर्याएन। यसले नेपाल–चीन व्यापारको मेरुदण्ड मानिने चालक तथा सहचालक जनशक्तिमै ठूलो क्षति पुर्याएको छ।
बाढीमा सयौँ ट्रक तथा कन्टेनर बगेका छन् भने ती सवारीसाधनमा कार्यरत चालक, सहचालक र मजदुरमध्ये ठूलो संख्या अझै सम्पर्कविहीन रहेको व्यवसायीहरूले बताएका छन्।
नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाका अनुसार बाढीमा ५०० भन्दा बढी ट्रक तथा कन्टेनर बेपत्ता छन्। तीमध्ये अधिकांश सवारीका चालक र सहचालकसमेत सम्पर्कमा आउन नसकेको उनले नेपालखबरलाई जानकारी दिए।
‘चालक र सहचालहरुको टिपोट हुँदै छ। कति त सम्पर्कविहीन छन्। केही चालकहरु श्रीमतीसमेत गाडीमा यात्रा गरेको भन्ने छ तर फर्किएको जानकारी छैन। त्यसैले पनि डेटा निकाल्न गाह्रो भइरहेको छ’, अध्यक्ष सापकोटाले भने।
हालसम्मको प्रारम्भिक विवरणअनुसार ६०० भन्दा बढी चालक र सहचालक हराइरहेको अनुमान रहेको सापकोटाले जानकारी दिए।
यो क्षति तत्कालीन रूपमा एउटा यातायात व्यवसायको समस्याजस्तो देखिए पनि यसको प्रभाव नेपाल–चीन व्यापार, पर्यटक आवागमन, यात्रुवाहक यातायात र चीनबाट नेपाल भित्रिने विद्युतीय सवारीसाधन (ईभी) सम्म फैलिने व्यवसायीहरूको भनाइ छ।
बाढीले ध्वस्त बनाएको रसुवागढी–केरुङ नाका नेपालका लागि चीनसँगको प्रमुख स्थल व्यापारिक मार्ग हो। बाढीले नाका र त्यसतर्फ जाने सडक तथा पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि व्यापारिक आवागमन नै प्रभावित भएको छ।
बाढीले क्षति पुर्याएको पूर्वाधार पुनर्निर्माण त छँदै छ, यससँगै अर्को ठूलो चुनौती ढुवानी जनशक्तिको अभाव बन्ने देखिएको छ।
चीनको केरुङबाट सामान ल्याउन नेपाली मालवाहक चालकहरू सीमाक्षेत्रसम्म पुग्ने, कन्टेनर जिम्मा लिने र लामो दूरीको पहाडी सडक हुँदै काठमाडौंलगायत बजारसम्म सामान ल्याउने गर्छन्। बाढीले रसुवागढी नाका बन्द भएपछि यसको विकल्पको रुपमा व्यवसायीहरुले मुस्ताङको कोरला नाकाबाट ढुवानी सुरु गरेका छन्।
बाढीमा चालक तथा सहचालकका साथै ठूलो संख्यामा कन्टेनर बगेकाले तत्कालै पहिलेकै क्षमतामा ढुवानी सञ्चालन गर्न कठिन हुने व्यवसायीहरू बताउँछन्।
‘नेपाल चीन व्यापारका लागि करिब १४ सयदेखि १५ सय कन्टेनर रहने गथ्र्यो। केही मर्मतमा, केही अन्य रुट सञ्चालन हुन्थे। नियमित चल्ने भनेको एक हजार जति हो। त्यसमा ५०० भन्दा गाडी हराइरहेका छन्’, सापकोटाले थपे।
यसले चीन–नेपाल व्यापारका लागि गाडीका साथै दक्ष चालक र सहचालकको अभाव हुने उनी बताउँछन्।
तातोपानी नाका नियमित रुपमा सञ्चालन नहुँदा पछिल्लो चीन–नेपाल व्यापारका लागि रसुवागढी नाका प्रयोग हुँदै आइरहेको थियो।
अहिले व्यवसायीहरुले मुस्ताङको कोरला नाका प्रयोग गर्दै सामान ल्याउने तयारी गरिरहेका छन्। रसुवा बाढीका कारण केरुङमा रोकिएका मालवाहक सवारी कोरला नाका हुँदै ल्याउन सुरु गरिएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की बताउँछन्।
‘केरुङमा रोकिएका १७६ मालवाहक सवारीमध्ये ३१ वटा शनिबार कोरलातर्फ लागेका थिए। ती कन्टेनर सोमबार कोरला पुगेको खबर छ। आज ३५ वटा गाडी हिँड्दै छन्। यसरी ३०–३५ का दरले मालवाहक सवारी ल्याइरहेका छौँ’, उनले भने।
कार्कीका अनुसार कोरला नाका र सडक सञ्चालनमा आए पनि पर्याप्त चालक उपलब्ध नहुँदा ढुवानीको क्षमता घट्ने, गाडीको पालो कुर्नुपर्ने, ढुवानी लागत बढ्ने र सामान काठमाडौं ल्याउन थप समय लाग्ने जोखिम रहेको व्यवसायीहरु बताउँछन्।
सेनाका ४५ र सशस्त्रका १२ जना अझै बेपत्ता
भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेपनि नेपाली सेनाका ४५ जना अझै बेपत्ता रहेको नेपाली सेनाले जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको भोटेकोशी बाढी तथा खोज तथा उद्धार कार्यसम्बन्धी पत्रकार सम्मेलनमा नेपाली सेनाका राजाराम बस्नेतले बाढीपछि बेपत्ता भएकाहरुको खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए ।
उनका अनुसार नेपाली सेनाले हवाई, जमिन र टनेल गरी तीनवटा क्षेत्रमा खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ।
‘नेपाली सेनाले सरकारको निर्देशनबमोजिम सम्बन्धित सबै डिजास्टरमा इन्भल्भ भएका निकायहरूसँग एकदमै नजिकबाट समन्वय र सहकार्य गरेर काम गरेको छ। विशेषगरी हवाई, जमिन र टनेल खोज तथा उद्धार गरी तीनवटा सेक्टरमा बाँडेर काम गरिरहेका छौँ,’ बस्नेतले भने ।
परराष्ट्र मन्त्रालयको समन्वयमा छिमेकी तथा मित्रराष्ट्रबाट प्राप्त सहयोगलाई समेत खोज तथा उद्धारमा प्रयोग गरिएको उनले बताए ।
‘परराष्ट्र मन्त्रालयबाट समन्वय भएर सेनाले जोइन्ट्ली कार्य गर्ने गरी छिमेकी तथा फ्रेन्डली फरेन कन्ट्रीजबाट जुन सहयोग प्राप्त भएको छ, यसको लागि आभारी छौँ। उहाँहरूसँग नजिकबाट समन्वय र सहकार्य गरेर, काँधमा काँध मिलाएर टनेल इलाकामा खोज तथा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन प्रतिबद्ध छौँ,’उनले भने ।
बस्नेतले खोज तथा उद्धारका क्रममा हिलो, माटो, लेदो तथा ठूला ढुंगा र चट्टानका अवशेष चुनौतीका रूपमा देखिएको बताए ।
‘मुख्यगरी चुनौतीहरूमा हिलो, माटो, लेदो भरिएका स्थानहरू छन्। त्यससँगै आएका ठूला–ठूला ढुंगा र चट्टानका अवशेषहरू रहेका छन्। थ्री–एमा पनि करिब २० मिटर तल खनेपछि मात्रै पावरहाउसमा जाने इन्ट्री पोइन्ट फेला परेको थियो,’ उनले भने।
उनका अनुसार त्रिशुली थ्री–ए पावरहाउस करिब १७५ मिटरभित्र रहेको थियो । सीमित भूगोल, एयर ट्राफिक तथा हवाई उडानका लागि कठिन अवस्था र बदलिइरहने मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको उनको भनाइ छ ।
नेपाली सेनाले प्रभावित क्षेत्रमा दैनिक १५ देखि २२ वटासम्म हेलिकप्टर परिचालन गरी खोज तथा उद्धार कार्य अघि बढाइरहेको जनाएको छ ।
‘हामीले १५ वटादेखि २२ वटासम्म हेलिकप्टरहरू त्यस्तो स्थानमा—जुन सानो एउटा खोल्चो छ—त्यो खोल्चोबाट कुनै पनि त्रुटिरहित ढङ्गले खोज तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेका छौँ,’ बस्नेतले भने ।
बेपत्ता सैनिकको खोजीमा समेत सबै सरोकारवाला निकायसँग समन्वय भइरहेको उनले बताए ।
पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बल नेपालले पनि बाढी तथा विपद्पछि खोज तथा उद्धार र राहत वितरणका लागि ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको जानकारी दिएको छ ।
सशस्त्र प्रहरीका प्रतिनिधिका अनुसार हालसम्म चार हजार २०३ जना सशस्त्र प्रहरी विपद् प्रभावित क्षेत्रमा परिचालन भएका छन् । त्यसमध्ये कोल्याप्स्ड स्ट्रक्चर सर्च एन्ड रेस्क्यु, मेडिकल, ड्रोन, रोप रेस्क्यु, स्विफ्ट वाटर रेस्क्यु, डेड बडी म्यानेजमेन्ट, डिजास्टर म्यानेजमेन्ट तथा हाइअल्ट रेस्क्यु लगायतका विशेष तालिमप्राप्त ७७४ जना रहेका छन् ।
‘यी टिमसँगै अन्य सशस्त्र प्रहरी बलका टिमहरू नेपाली सेनासँग र नेपाल प्रहरीसँग संयुक्त रूपमा र एकल रूपमा पनि खोज तथा उद्धार र राहत वितरण कार्यक्रममा परिचालन भएका छन्,’ सशस्त्र प्रहरीका रविन राजले भने ।
सशस्त्र प्रहरीले नुवाकोट, रसुवा र धादिङका विभिन्न १३ स्थानमा अस्थायी बेस स्थापना गरेर खोज तथा उद्धार तथा राहत वितरणको काम गरिरहेको जनाएको छ ।
यस्तै, सात स्थानमा हेल्थ क्याम्प स्थापना गरी स्वास्थ्य सेवा प्रदान भइरहेको छ। तीमध्ये रसुवामा दुई र नुवाकोटमा पाँचवटा हेल्थ क्याम्प छन् । हालसम्म स्वास्थ्य शिविरबाट २ हजार ९७० जना लाभान्वित भएको सशस्त्र प्रहरीले जनाएको छ ।
राहत वितरणका लागि रसुवामा हालसम्म ११३ वटा उडान गरिएको छ। ती उडानमार्फत १०० स्थानमा राहत वितरण गरिएको र करिब १४ हजार जना लाभान्वित भएको जनाइएको छ ।
यस्तै, नुवाकोटमा ८६ वटा उडान गरी ५० स्थानमा राहत वितरण गरिएको छ। यसबाट करिब ८ हजार ४०० जना लाभान्वित भएको सशस्त्र प्रहरीले जनाएको छ ।
घटनामा सशस्त्र प्रहरीका १३ जना बेपत्ता भएकामा एक जनाको शव फेला परेको र १२ जना अझै बेपत्ता रहेको जानकारी दिइएको छ ।
टनेल रेस्क्युका लागि पनि सशस्त्र प्रहरीले छुट्टै जनशक्ति परिचालन गरेको जनाएको छ । नुवाकोटमा १७ गते ६३ जना, १८ गते ४१ जना, २० गते १०४ जना र २१ गते २७ जना परिचालन गरिएको थियो। त्यस्तै रसुवामा १७ गते ६० जना, १८ गते ३९ जना र २० गते ९९ जना परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरणको कामलाई निरन्तरता दिइरहेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३ १९:२४