चितवन । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदलका विषयमा निर्देशन नदिएको स्पष्ट पारेका छन्।
बिहीबार चितवन पुगेका लामिछानेले सञ्चारकर्मीसँग कुराकानी गर्दै यस विषयमा सरकारले थप स्पष्ट पार्ने प्रतिक्रिया दिए। सरकारले गरेका काममा पार्टीले ‘हो मा हो’ नमिलाउने उनको भनाइ थियो।
‘कहिले काँही सरकारले गरेका कुराहरूमा थप स्पष्टता चाहियो, प्रश्न भयो भने त्यसमा पार्टीले चेक एन्ड ब्यालेन्स गर्ने, त्यसलाई सोध्ने, त्यसको अझ बढी स्पष्ट पार्ने गर्नै पर्छ,’ लामिछानेले भने, ‘सरकारले गरेका सबै चिजलाई हो मा हो मिलाउँदैन पार्टीले। पार्टीले गरेका सबै चिजमा सरकारले पनि हो मा हो मिलाउँदैन।’
सरकारले गरेका काममा पार्टीका फरक धारणा हुनसक्ने उनको भनाइ थियो। ‘कहिले काँही सरकारले गरेका काममा पार्टीले फरक धारणा बनाउने, आवश्यक पर्दा निर्देशन दिने गर्छ,’ लामिछानेले भने।
सरकारले गर्ने कामको सरकारले नै पुष्टि गर्नुपर्ने उनले बताए। आईजीपी फेरबदलमा पनि सरकारले औचित्य पुष्टि गर्नुपर्ने उनको भनाइ थियो।
‘कुनै पनि सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदमहरू चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ। त्यो औचित्य अवश्य पनि सरकारले पुष्टि गर्ला,’ उनले भने।
आईजीपी फेरबदल गर्न रास्वपाले निर्देशन दिएको विषयमा पनि प्रश्न गरिएको थियो। यस विषयमा रास्वपा प्रवक्ताले स्पष्ट पारिसकेको उनले बताए।
तथापि, सुरक्षा निकायसँगको विषयमा सरकारले औचित्य पुष्टि गर्नुपर्ने धारणा राखे। लामिछानेले भने, ‘सुरक्षा निकायसँग रहेको यो जिम्मेवारी हेरफेर असाध्यै संवेदनशिल विषय रहेको कारणले सरकारले कुनै निश्चित समयमा यसको औचित्य अवश्य पनि पुष्टि गर्ला।’
आईजीपी फेरबदलका लागि रास्वपाले निर्देशन नदिएको र यस्ता विषयमा निर्देशन नदिने पनि उनले बताए। ‘पार्टीले आईजीपी फेर, डीआईजी फेर, इन्स्पेक्टर फेर, सीडीओ फेर भनेर बिल्कुल भन्दैन,’ लामिछानले भने।
सरकारले बुधबार दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनाएको थियो। त्यसविरुद्ध कार्की सर्वोच्च पुगेका छन्। उनको रिट दर्ता हुन भने बाँकी छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३ १९:५४