सिमकोट । हुम्ला सदरमुकाम सिमकोटमा सम्पन्न प्रथम गोल्डकप पुरुष फुटबल प्रतियोगिताको उपाधि ठेहे फुटबल क्लबले हात पारेको छ ।
आज शनिबार सम्पन्न फाइनल खेलमा जिल्ला सदरमुकाम सिमकोट तल्लो गाउँको सिम ब्वाइज क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै ठेहेले पहिलो गोल्डकपको उपाधि उचालेको हो ।
निर्धारित तथा थप गरिएको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा ठेहेका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नुका साथै गोलरक्षकले विपक्षीका प्रहार रोक्न सफल भएपछि टोलीले उपाधि आफ्नो पक्षमा पारेको हो ।
उपाधिसँगै ठेहे फुटबल क्लबले नगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सिम ब्वाइज क्लबले नगद ७५ हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष विशाल सिंहले जानकारी दिए ।
'दिगो विकास युवा क्लब र रानीबन युवा क्लबको संयुक्त आयोजनामा सञ्चालन भएको प्रतियोगितामा जिल्लाभरका १६ वटा फुटबल क्लब सहभागी थिए', अध्यक्ष सिहंले नेपालवोटसँग भने, 'प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग चरणका खेल सञ्चालन गरिएको थियो । '
यसअघि शुक्रबार सम्पन्न सेमिफाइनलमा सिम ब्वाइजले नाम्खा फुटबल क्लबलाई ३–० गोलले तथा ठेहेले भटभटे फुटबल क्लबलाई ४–२ गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए ।
जिल्लामा पहिलोपटक आयोजना गरिएको गोल्डकपले स्थानीय फुटबल खेलको विकास, प्रतिभावान् खेलाडीको पहिचान र खेलकुद क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको अध्यक्ष सिंहले बताए ।
प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३ २२:५२