सिमकोट । हिमाली जिल्ला हुम्लामा मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने चालकलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकिङ अभियान सुरु गरेको छ ।
ब्रेथलाइजर मेसिन प्राप्त भएपछि ट्राफिक प्रहरीले नियमित मापसे जाँच गर्न थालेको ट्राफिक प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी सहायक निरीक्षक दिपेश चौहानले जानकारी दिए ।
चौहानका अनुसार मापसे सेवन गरेर सवारीसाधन चलाउने दश जना चालकहरु नियन्त्रणमा परेका छन् ।
मदिरा सेवन गरेर सवारी साधान चलाउने गरेको गुनासो बढ्न थालेपछि जिल्लाका विभिन्न सवारीसाधनका चालकलाई लक्षित गरी जिल्लाका तिन वटा चेकपोष्ट मार्फत मेनुअल्ली चेकिङ भइरहेको भएपनि यतिबेला जिल्ला सदरमुकाम सिमकोटमा ब्रेथलाइजर मेसिन मार्फत चेकिङ सुरु गरेको चौहानले जानकारी दिए ।
उनका अनुसार हालसम्म मापसे चेकिङका क्रममा हाल सम्म १० जना चालक कारबाहीमा परेका छन् । उनीहरूबाट जनही ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना असुल गरिएको र उनिहरुलाई सवारीसाधन चलाउन नदिई सम्बन्धीत सवारीसाधनका धनीलाई वा धनीले ल्याएको अर्को चालकलार्ई बुझाईएको बताए ।
कारबाहीमा पर्नेमा सामान्यतया, निजी सवारीसाधन र मोटरसाइकल चालक रहेका छन् । सार्वजनिक यातायातका चालक भने हालसम्म मापसेमा नपरेका बताए ।
जिल्लामा ब्रेथलाइजर मेसिन उपलब्ध नहुँदा यसअघि चालकलाई रोकेर सामान्य जाँच गर्ने गरिएको थियो । अहिले मेसिनबाट बिहान, दिउँसो र बेलुका नियमित जाँच भइरहेको प्रमुख चौहानले जमनबारी दिए । कच्ची सडकमा समेत चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेको जाँचका क्रममा भेटिएको उनको भनाइ छ । जिल्लामा एक मात्रै मेसीन भएकाले जिल्ला सदरमुकाम बाहेक अन्य सर्केगाड र मैला कवाडी चेकपोस्टमा भने मेनुअल्ली चेकजाँच भइरहेको बताउनु भयो ।
गैरसरकारी संस्थाका अध्यक्ष जनक बुढाले दुर्घटनाको जोखिम न्यूनीकरण गर्न मापसे चेकिङ सुरु हुनु सकारात्मक भएको बताउनुभयो । हाल सिमकोटमा मात्रै सञ्चालन भइरहेको जाँचलाई सर्केगाड र हुम्ला–बाजुरा सीमा क्षेत्रको कवाडीसम्म विस्तार गर्नुपर्ने उहाँको सुझाव छ ।
जिल्लाभर ट्राफिक प्रहरीको १० जनाको दरबन्दी रहे पनि हाल आठ जना मात्रै कार्यरत छन् । तीमध्ये पाँच जना सदरमुकाम सिमकोट, एक जना सर्केगाड र एक जना मैला–कवाडी चेकपोस्टमा खटिएका छन् भने एक जना बिदामा रहेको प्रमुख चौहानले बताए ।
प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३ २३:११