असार २१, काठमाडौं । खोला तथा नदी किनारमा रहेका बालीनाली असार २८ गतेभित्रै थन्काइसक्न सरकारले सबैमा अनुरोध गरेको छ ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शनिबार सूचना जारी गर्दै तटीय क्षेत्रमा उच्च सतर्कताका साथ निर्माणको काम गर्न र बालीनाली भए २८ गतेभित्रै थन्काउन अनुरोध गरेको हो ।
१ हप्ता सम्म प्राय नदीमा बहाव बढ्दो क्रममा रहने र त्यसपछि नदीमा बहाव उच्च हुने पूर्वानुमान रहेकोले तटिय क्षेत्रमा रहेका कृषि उपज संभव भएसम्म यही असार २८ गतेभित्र थन्क्याउनुहुन अनुरोध छ, तटिय क्षेत्रमा गर्नुपर्ने निर्माणको कार्य उच्च सतर्कता साथ गरौ सरकारद्धारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
हाल नदी र खोलामा जलस्तर बढ्दो क्रममा रहेको र एक हप्तापछि बहाव उच्च हुने पूर्वानुमान महाशाखाले गरेको छ ।
शनिबारदेखि सोमबारसम्म प्रमुख र मझौला नदीमा बाढीको जोखिम न्यून रहेको जनाएको छ । डेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा बेलुकासम्म बहाव उच्च हुने अनुमान छ । साथै केही नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन भनिएको छ ।
मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर बदली भई पश्चिम र पूर्वी भागमा हल्कादेखि मध्यम खालको वर्षा हुने तथा एक(दुई स्थानमा भारी वर्षा हुने अनुमान मौसमविदले गरेका छन् । यस्तो अवस्था सोमबारसम्मै रहने पूर्वानुमान गरिएको छ ।