भदौ ३१, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश, जिल्ला र स्थानीय तह एवम् साथै जनवर्गिय संगठनहरुको एकीकरणका सन्दर्भमा महासचिव बिष्णु पौडेलले पेश गरेको प्रस्तावमाथि बरिष्ठ नेता माधवकुमार नेपालले फरक प्रस्ताव अघि बढएका छन् ।
नेकपाको केन्द्रीय सचिवालय बैठकमा वरिष्ठ नेता नेपाले पेश गरेको फरक प्रस्तावलाई बहुमत सदस्यले साथ दिएको नेपाल निकट नेताहरुले दावी गरेका छन् ।
पछिल्लो समयमा बसेको सचिवालयको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेका महासचिव पौडेलले एकता प्रक्रिया टुंगो लगाउन आवश्यक मापदण्डसहिते प्रस्ताव पेश गरेका थिए । पौडेलको प्रस्तावमा अन्य बुँदामा सहमत भएपनि बरिष्ठताको मापदण्डमा नेपालले फरक प्रस्ताव राखेको नेकपाका एक नेताले जानकारी दिए ।
नेकपाका प्रदेश, जिल्ला, स्थानीय तह देखि जनवर्गिय संगठनका एकीकृत कमिटीको नेतृत्वमा हाल कायम रहेका कमिटीको पदलाई वरिष्ठताको आधार बनाउने कि व्यक्तिको बरिष्ठतालाई आधार बनाउने भन्नेमा कुरा मिलेपछि वरिष्ठ नेता नेपालले फरक प्रस्ताव पेश गरेको बताइएको छ ।
महासचिवको प्रस्तावमा हाल अध्यक्ष रहेको, सो सरहको पदमा रहेको वा माथिल्लो कमिटीमा रही काम गरेकोलाई एकीकृत कमिटीको अध्यक्ष बनाउने कुरा उल्लेख गरिएको छ । जसले साविकका दुवै पार्टीका जिल्ला अध्यक्ष वा सोही कमिटीमा रहेका अन्य पदाधिकारीबाट मात्र एकिकृत पार्टीको जिल्ला अध्यक्ष वा सचिव बनाउनुपर्ने बाध्यता हट्ने मात्र छैन् नेपाल पक्षियत प्रदेश, जिल्ला देखि जनवर्गिय संगठनका नेताहरु जिम्मेवारबाट बाहिरिने छन् ।
आफूपक्षिय नेता तथा कार्यकर्ता एकिकृत पार्टीको जिम्मेवारीबाट बाहिरिने भएपछि वरिष्ठ नेता नेपालले अहिले कमिटी एकीकरण भएकाले बहालवाला कमिटीमा रहेका व्यक्ति मात्र एकीकृत कमिटीको नेतृत्वमा रहनुपर्ने कुरालाई जोड दिदैं आएका छन् । उनको फरक प्रस्तावमा उक्त कुरालाई जोड दिइएको छ ।
नेपालले गरेको फरक प्रस्तावमा भनिएको छ, नेकपामा व्यक्तिको होइन, कमिटीहरुको एकीकरण भैरहेको छ । कमिटीको एकीकरण भनेपछि तत्कालीन एमाले वा एमाओवादी केन्द्रको सम्बन्धित कमिटीमा रहेका व्यक्तिहरु एकीकरणमा पर्नुपर्ने हो । कमिटीमा रहेकामध्ये बरिष्ठतम व्यक्तिलाई अध्यक्ष र सचिव बनाउनुपर्छ । व्यक्ति हेरेर एकीकरण गर्न थालियो भने त्यसको कुनैपनि हालतमा मान्य हुँदैन ।’
व्यक्तिको व्यवस्थापन अन्य कमिटीहरुमा गर्न सकिने भन्दै नेता नेपालले अहिले कमिटीहरु एकीकरण गर्दा विद्यमान कमिटीभन्दा बाहिरका व्यक्तिलाई नेतृत्वमा नल्ययाउन नेतृत्वलाई दवाव दिदैं आएका छन् ।
प्रदेश र जिल्लाको पार्टी एकिकरणमा प्रदेश ५, २ र ६ का केही जिल्लाहरुमा कमिटी बाहिरका व्यक्तिलाई अध्यक्ष र सचिवमा सिफारिस गरिएपछि नेपाल समूह असन्तुष्ट बनेको हो । कमिटिको जिम्मेवारीलाई नै मापदण्ड बनाएर तलसम्म लैजान माग गरेको नेपाल पक्षले भनेको छ ‘अहिले व्यक्ति व्यवस्थापन गर्न लागियो भने कमिटीहरु एकीकरणनै हुँदैन । ’
नेकपाका एक सचिवालय सदस्यका अनुशार नेता नेपालको प्रस्तावमा नेता झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा बादलले समर्थन जनाएका छन। नौ सदस्यीय सचिवालयमा यो भनेको बहुमत हो । दोस्रो बरियताका अध्यक्ष प्रचण्डले नेपालको प्रस्तावलाई ठीकै हो भनेका छन भने ईश्वर पोखरेलले पौडेलको प्रस्तावको बचाउ गरेका छन् ।