असार २९, मुगु । खत्याड गाउँपालिकाको पाँचौ गाउँसभाको बहुमतले वडा केन्द्र तोकेपछि भएको झडपमा घाइते भएकालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।
बहुमतको निर्णय आफनो पक्षमा नभएको भन्दै असन्तुष्ट पक्षले विरोध गरेपछि दुईपक्षबीच झडप भएको हो। झडपमा दुई जना घाइते भएका छन्।
खत्याड गाउँपालिकाको पाँचौ गाउँसभालले गाँउपालिकाको ३, ६, ७, ९ र १० वडाको वडा केन्द्र स्थापना गर्ने प्रस्ताव बहुमतबाट पास गरेको थियो। निर्णयमा असन्तोष जनाउँदै वडा नम्बर ३ रोलगाउँका युवाले गाउँपालिकाको सभा सञ्चालन भइरहेका बेला ढुङ्गामुढा गर्दा दुई पक्षबीच झडप भएको हो।
झडपमा खत्याड गाउँपालिका ७ कि ३२ वर्षीया गाउँ कार्यपालिका सदस्य उम्मकला भियाल र वडा नम्बर ४ का कार्यालय सहयोगी २८ वर्षिय गणेश थापा घाइते भएका हुन्।
शनिबार पाँचौ गाउँसभाले वडा नम्बर ३, ६, ७, ९ र १० को वडा केन्द्र प्रस्तावित स्थानमा कायम गरिने बहुमतबाट निर्णय गरेको थियो। अन्य वडामा कुनै विवाद छैन। खत्याड गाउँपालिका ३ को वडा केन्द्र सोही वडाको रोलगाउँको भाडटुकुरीमा कायम गर्न स्थानीयबासीले माग गरेका छन्। तर गाउँसभाले हाल वडा कार्यालय रहेको वडा नम्बर ३ को रानकोटमा वडा केन्द्र कायम गरेको छ। रोलगाउँका केही युवाले गाउँसभा चलिरहेका बेला ढुङ्गाढाडा गर्दा दुई जना घाइते भएको गाउँपालिका उपाध्यक्ष जयनन्दा रावलले जानकारी दिइन्।
घाइते दुबैजनालाई शनिबार खत्याड गाउँपालिका ४ माथिचौरमा रहेको निजी मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि आइतबार सिम्रिक एयरको हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको छ।
घटनामा संलग्नको खोजीका लागि इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी नायव निरीक्षकको कमान्डमा ५ प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर ऐरले बताए।