२७, दैलेख । दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्या भएको आज १५ वर्ष पुगेको छ। तत्कालीन विद्रोही नेकपा माओवादीले २०६१ साउन २७ गते पत्रकार थापाको हत्या गरेको थियो। तर पत्रकार थापाको हत्यामा संलग्न मुख्य व्यक्ति हालसम्म पक्राउ परेका छैनन्।
राजनीतिक संरक्षणमा उनीहरु खुलेआम हिँडिरहेका छन्। पत्रकार थापाको हत्या गरेको भन्दै जिल्ला अदालत दैलेखबाट दोषी ठहर भएका बमबहादुर खड्का ‘मुक्ति’, बमबहादुर खड्का ‘अरुण’, केशव खड्का र भक्तिराम लामिछाने फरार छन्। अपहरणपछि हत्या गरिएका पत्रकार थापाको हत्यामा संलग्न रहेका उनीहरु हालसम्म पक्राउ पर्न सकेको छैनन्।
उनीहरु काठमाडौंमा नेताकै संरक्षणमा रहेको र सार्वजनिक कार्यक्रममासमेत देखिने गरेको नेकपा स्रोतले जनाएको छ। तर प्रहरीले भने उनीहरु फरार रहेको बताउँदै आएको छ।
जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते पत्रकार थापाको हत्यामा संलग्न रहेको भन्दै नौ जनालाई दोषी ठहर गरेको थियो। अदालतको फैसलापछि निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाही दुई÷दुई वर्ष, लक्षिराम घर्तीमगर डेढ वर्ष र विरबहादुर केसी एकवर्ष कैद सजाय काटेर जेलमुक्त भइसकेका छन्। फरार रहेका चार जनाको हकमा सम्पत्ति रोक्का गरेर पक्राउ गर्न आदेश दिइएको थियो। फरार भएका नेताकै संरक्षणमा खुलेआम हिँडिरहेको भन्दै पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन्। जिल्ला अदालत दैलेखले भने फरार रहेका पक्राउ परे मुद्दा अगाडि बढ्ने जनाएको छ।
दैलेखका डीएसपी ठाकुरप्रसाद पोखरेलले यसबारेमा आफुलाई जानकारी नभएको बताए। तत्कालीन माओवादीले दैलेख बजारमा आपूर्ति हुने खानेपानीको पाइपलाइन काटेर अवरोध पुर्याएपछि वार्ताका लागि गएकै बेला पत्रकार थापा अपहरणमा परेका थिए। त्यसपछि उनलाई विभिन्न ठाउँ घुमाउँदै एक महिनापछि जिल्लाकै द्धारी भन्ने स्थानमा हत्या गरिएको थियो।
मानव अधिकार आयोगले २०६५ मा थापा शव उत्खनन गरेपछि कानुनी बाटो खुलेको थियो। १२ भदौ २०६५ मा डेकेन्द्रकी पत्नी लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा किटानी जाहेरी दिएकी थिइन्। २०६९ पुष २१ मा पाँच जना अभियुक्तलाई पक्राउ गरिएको थियो। हत्या गरिएका पत्रकार थापाको परिवारले दोषीलाई कारबाहीको माग गरेको छ।