भदौ १०, सिमकोट । नेपाल खाद्य संस्थान सिमकोटमा पुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चालम केरुङ नाकाबाट झण्डै एक वर्षपछि पुगेको छ । काठमाडौं, केरुङ, हिल्ला हुँदै याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष २०७५/७६ मा आइपुग्नुपर्ने चामल स्थलमार्गबाट हुम्ला पुग्न एक वर्ष लागेको हो ।
काठमाडौं, केरुङ हुँदै हिल्सादेखि सिमकोट पुग्न गाडीमा ६ दिन लाग्ने भएता पनि सिमिकोट डिपोका लागि चार हजार र याल्वाङ वितरण केन्द्रमा पुग्नुपर्ने एक हजार ५०० क्विन्टल गरी पाँच हजार ५०० क्विन्टल चामल बल्लतल्ल केरुङ नाकामा पुगेको छ ।
हवाइमार्गभन्दा स्थलमार्गबाट भाडादर कम पर्ने भए पनि समयमा आउनुपर्ने चामल एक वर्षसम्म नपुग्दा उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीलाई समस्या भएको छ ।
स्थलमार्गको काठमाडौंबाट केरुङ, हिल्सा हुँदै सिमकोट पुग्न प्रतिकेजी ४२ रुपैयाँ भाडा लाग्ने गरेको नेपाल खाद्य संस्थानका सुब्बा सुरेन्द्र पोखरेलले जानकारी दिए । अहिले नेपागञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले प्रतिकेजी चामलको भाडा ११५ र सुर्खेतबाट हवाइमार्गमा १०५ पर्ने गरेको उनले जानकारी दिए ।
आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्म पाँच हजार ५०० मध्ये चार हजार क्विन्टल चामल सिमकोट डिपोमा र एक हजार ५०० क्विन्टल चामल याल्वाङ वितरण केन्द्रमा पुग्नुपर्ने भए पनि नपुगेको पाइएको हो ।
स्थलमार्गबाट चामल नपुग्दा नेपाल खाद्य संस्थानका प्रमुख रामबहादुर विष्ट आफैँ काठमाडौंबाट केरुङ हुँदै सिमकोट डिपोमा चामल पुर्याउनका लागि उक्त नाका हुँदै गाडीमा चामलसँगै आइरहेको बताए ।
काठमाडौं केरुङ हुँदै हिल्सासम्म पुग्न पाँच दिन लाग्ने गरेको उनले जानकारी दिए । केरुङ नाकादेखि हिल्सा जान सरकारी कामकाज गर्नुपर्ने भएकाले दुई दिन लाग्ने गरेको उनले बताए । हिल्सादेखि याल्वाङ पुग्न एक दिन गरी स्थलमार्गबाट काठमाडाँैदेखि सिमकोट पुग्न ६ दिन लाग्ने गरेको उनले जानकारी दिए । हवाइमार्गबाट ४५ मिनेटमा सिमकोट पुग्ने चामल काठमाडाँैबाट केरुङ हुँदै आउन ६ दिन लाग्नुका साथै झन्झट हुने गरेको छ ।
काठमाडौंबाट हुम्ला पुग्न स्थलमार्गबाट ६ दिन लागे पनि अहिलेसम्म चामल पुर्याउन नसकिएको नेपाल खाद्य संस्थानले स्वीकार गरेको छ ।
ठेकेदारको ढिलासुस्तीले स्थलमार्गको चामल पुग्न एक वर्ष लागेको हो । नेपालगञ्ज र सुर्खेतबाट गरी हवाइमार्गबाट गत आर्थिक वर्षको असारसम्म सिमकोट खाद्य संस्थान शाखामा १३ हजार १०७ क्विन्टल चामल भित्रिएको संस्थानका सुब्बा पोखरेलले जानकारी दिए ।
यस्तै दक्षिण क्षेत्रको स्थलमार्गबाट एक हजार १२६ क्विन्टल चामल भित्रिएको उनले जानकारी दिए । सिमकोट डिपोमा भित्रिएको चामलमध्ये ११ हजार ९६१ क्विन्टल चामल वितरण गरिएको उनले बताए ।
हवाइमार्ग र स्थलमार्गबाट हुम्लामा चामल पुर्याउने जिम्मा चङ्खेली देउती बजै जेभीका धु्रव शाहीले लिएका छन् । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा यस क्षेत्रका स्थानीयवासी दैनिक पिठ्युँमा भारी बोकेर जीविकोपार्जन गर्दै आएका छन् ।