पाँचथर । आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि पाँचथरमा राजनीतिक दलहररूले धमाधम उम्मेदवार टुङ्गो लगाउँदैछन् । पाँचथरमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष, फिदिम नगरपालिका–१ र हिलिहाङ गाउँपालिका–७ को वडाध्यक्ष पद रिक्त छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तीन वटै स्थानका उम्मेदवार छनोट तथा सिफारिस गरेको हो । नेकपाले रिक्त फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा पार्टीका जिल्ला सचिवालय सदस्य वीरबहादुर कुरुम्बाङलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । कुरुम्बाङ गत स्थानीय तह निर्वाचनमा समेत तत्कालीन नेकपा ९एमाले०बाट अध्यक्ष पदको उम्मेदवार भई निकटतम प्रतिद्वन्द्वी रहनुभएको थियो ।
गाउँपालिका अध्यक्षको उम्मेदवार प्रदेश कमिटीले टुङ्ग्याउने व्यवस्थाअनुसार प्रदेश कमिटीमा कुरुम्बाङको नाम सिफारिस गरिएको नेकपाका केन्द्रीय सदस्य एवं पाँचथर इन्चार्ज इन्द्रबहादुर आङ्बोले जानकारी दिनुभयो ।
नेकपाले फिदिम नगरपालिका¬–१ को वडाध्यक्ष पदमा जिल्ला सचिवालय सदस्य गजाधर भट्टराईलाई तथा हिलिहाङ गाउँपालिका–७ को वडाध्यक्ष पदमा गाउँपालिका कमिटीका सदस्य ग्यनाथ रिजाललाई उम्मेदवार बनाउने निर्णय गरेको आङ्बोले बताउनुभयो । भट्टराई गत स्थानीय निर्वाचनमा तत्कालीन नेकपा (एमाले)बाट वडाध्यक्ष पदको उम्मेदवार भई पाँच मतले पराजित हुनुभएको थियो । नेकपाबाट हिलिहाङ गाउँपालिका¬–७ को वडाध्यक्ष पदका उम्मेदवार रहनुभएका रिजाल हिलिहाङकै श्रीजङ्ग माविका पूर्वप्रधानाध्यापकसमेत हुनुहुन्छ ।
नेपाली काङ्ग्रेसले फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा जिल्ला कार्यसमितिका सचिव वृजहाङ आङ्देम्बेलाई उम्मेदवारका रुपमा सिफारिस गरेको छ । जिल्ला कार्यसमितिले उहाँको एकल रुपमा माथिल्लो कार्यसमितिमा पठाउने निर्णय गरेको काङ्ग्रेस पाँचथरले जनाएको छ । फाल्गुनन्द गाउँपालिकामा गत स्थानीय निर्वाचनमा काङ्ग्रेसले विजय हासिल गरेको थियो । काङ्ग्रेसले हिलिहाङ गाउँपालिका–७ को वडाध्यक्ष पदमा तत्कालीन भारपा गाविसका पूर्वअध्यक्ष तिलविक्रम इधिङ्गोलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । फिदिम नगरपालिका–१ को वडाध्यक्ष पदमा भने काङ्ग्रेसले उम्मेदवार टुङ्ग्याउन बाँकी रहेको नगर सभापति सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।
यस अतिरिक्त समाजवादी पार्टीले फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा जिल्ला कार्यसमिति सदस्य विमला नेम्वाङ आङ्देम्बे र हिलिहाङ–७ को वडाध्यक्ष पदमा जिल्ला कार्यसमिति सदस्य धिरेन योक्पाङ्देनलाई उम्मेदवार बनाएको जिल्ला अध्यक्ष लक्ष्मण लावतीले जानकारी दिनुभयो । यस्तै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले जिल्ला कार्यसमितिका उपाध्यक्ष जितेन चेम्जोङलाई फाल्गुनन्द गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले फिदिम–१ को वडाध्यक्ष पदमा निलम गिरी तथा हिलिहाङ–७ को वडाध्यक्ष पदमा तुलप्रसाद पन्थाकलाई उम्मेदवार बनाएको छ । यहाँ तीन वटै स्थानका अध्यक्षको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको २०७५ माघ २६ गते निधन भएको थियो ।
यस्तै फिदिम नगरपालिका¬–१ का वडाध्यक्ष हर्कबहादुर मोक्तानको २०७६ साउन ६ गते निधन भएको थियो भने हिलिहाङ गाउँपालिका–७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको २०७४ चैत १६ गते निधन भएको थियो । यहाँ रिक्त तीन वटै पदमा नेकपा र काङ्ग्रेसका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।