हुम्ला, १८ कात्तिक । काठमाडौंको बौद्धस्थित कैलाबोधी बोर्डिङ स्कुलको कक्षा ६ मा अध्ययनरत सिमकोट–५, की विनिता रावत हुम्लाको सिमकोट विमानस्थल जाने र आउने गर्न थालेको ६ दिन भयो । गएको बिहीबारदेखि पढाइ शुरू भएपछि निकै हतारिएकी उनलाई सोमबार जिल्लाकै मन्त्री आउने खबरले सोमबार नेपालगन्ज झर्न पाउने भएँ भन्दै निकै उत्साहित बनायो । तर नेकपा हुम्लाका नेतासहित राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमको विमान चार्टर गरेर आएका प्रदेशका सामाजिक विकासमन्त्री दल रावलको टिकट दिनेको सूचीमा नपरेपछि उनको आस निराशामा परिणत भयो ।
गएको एकसातादेखि सिमकोटमा सरकारी तथा नीजि विमान कम्पनीहरूका उडान नभएपछि विनिताजस्ता सयांै विद्यार्थी र बिरामी सिमकोटमै अलपत्र छन् । दसंैतिहार सकेर उपचार, अध्ययन, रोजगारी र अन्य कामका लागि जिल्ला बाहिर जाने यात्रुहरू टिकट नपाएर हैरान छन् । फाट्टफुट्ट दिनमा एकदुई उडान भए पनि जिल्लाबाट प्रतिनिधित्व गर्ने मन्त्री, सांसद, नेता र आसेपासेलाई माथिबाटै टिकट दिन थालेपछि आफूहरू मर्कामा परेको खार्पुनाथ गाउँपालिका–४, का स्थानीय रामबहादुर शाहीले गुनासो गरे । चार दिन निरन्तर विमानस्थल आए पनि नीजि विमान कम्पनीले आफूलाई नटरेको बताएका शाहीलाई सरकारी विमानमा जिल्लाकै मन्त्रीले देखाएको व्यवहारप्रति पटक्कै चित्त बुझेको छैन । ‘हाम्रै मन्त्रीले सरकारी जहाज ल्याएर आए अब त जान पाइने भयो भन्ने ठूलो आस गरेका थियौं,’ उनले भने, ‘नेपाल वायुसेवाको विमान चार्टर गरेर आएका मन्त्री ज्यूले पनि नेपालगन्जबाट आफ्नालाई टिकट बेच्नु भएछ ।’ ‘एक उडानमा १५ देखि १६ जना बोक्ने भए पनि प्रदेशका सामाजिक विकासमन्त्री दल रावल ज्यूले १२ जना आफन्तलाई नेपालगन्जबाटै नाम टिपाएर टिकट दिनुभयो,’ सिमकोट–५, का रामजन रावलले भने, ‘मन्त्री आफैँले नेतृत्व गरेर आफन्तलाई टिकट दिन थालेपछि निमुखा बिरामी र विद्यार्थीले कहिले टिकट पाउने तपाईं आफैँ बुभ्mनुहोस् ?’
किन भयो विरोध ?
नेकपाको सोमबारदेखि शुरू भएको हुम्लाको विस्तारित बैठकका लागि सिमकोट आएका मन्त्री रावलले आउँदा र जाँदा आफ्नै सूचीका यात्रुलाई मात्र टिकट दिएको भन्दै मन्त्री रावलको चर्को विरोध भएको हो । सोमबार नेपालगन्जबाट नेकपा कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीसहितका नेकपाका नेता र परिवारसहित जिल्ला आएका मन्त्री रावलले आइतबार बेलुका काठमाडौं फोन गरेर सरकारी विमानको चार्टर गरेका थिए ।
बैठकमा सहभागी हुन आएका मन्त्री र नेताले नेपालगन्जदेखि अन्य कुनै यात्रुलाई नल्याएकोमा विरोध गरेका छैनन् । तर नेपालगन्जबाट जहाज नउड्दै मन्त्री रावलले सिमकोटबाट नेपालगन्ज झर्ने यात्रुको सूचीमा आफन्तलाई मात्रै राखेर विमानका कर्मचारीलाई म्यासेज गर्न लगाएको खबर सार्वजनिक भएपछि मन्त्रीको चर्का आलोचना भएको हो ।
सोमबार बिहान ६ः४९ मिनेटमा सिमकोटको कर्मचारीलाई म्यासेज गरेका नेपाल वायुसेवा क्षेत्रीय कार्यालय नेपालगन्जका कर्मचारीले मन्त्री रावलको निर्देशनअनुसार १२ जान यात्रुको नामै किटान गरेर टिकट दिने सन्देश हुम्लाका आफ्ना कर्मचारीलाई गरिएको छ । बाँकी यात्रुका बारेमा मन्त्री रावलको कार्यालयमा मोबाइल दिएर परामर्श गर्नु भन्दै लेखेको उक्त म्यासेजको स्क्रीनसट नै सार्वजनिक भएपछि मन्त्री रावल विवादित भएका हुन् । उनको नाममा नेपाल एयरलायन्सले धनसरा रावल, नरजीत रावल, रवीन रावल, धर्मजित साउद, वीरेन्द्र रावत, भरत रावत, टोपजंग फडेरा, देवीचन्द्र महातारा, कलावति बोहोरा, फूलमाया जैशी, सुजन भण्डारीको नाममा टिकट बुक भएका थिए । तर जिल्लाका यात्रुले लगाएको आरोपप्रति मन्त्री रावल सहमत छैनन् । ‘नीजि कम्पनीहरूले हुम्लालाई चाहिनेबेला भाँडो, नचाहिने बेला ठाँडो बनाए,’ उनले भने, ‘मैले कसैलाई काखा र पाखा गरेको छैन ।’ एयरलायन्सका कर्मचारीले सिमकोटबाट फर्किनेको पनि सूची दिन भनेपछि जो सम्पर्कमा आए उनकै नाम सिफारिस गरेको स्वीकार गरेको मन्त्री रावलले आफूमाथिको आरोपको खण्डन गरे ।