सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारलाई आलोचना नभएर सूझाव दिन आग्रह गरेका छन् । पत्रकार महासंघ केन्द्रीय समितिले आयोजना गरेको सञ्चार नीतिबारे प्रदेशस्तरीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्मन्त्री शाहीले उक्त कुरा बताएका हुन् ।
‘संघीयता भर्खर जन्मेको बालक हो । यो दुई वर्षको मात्रै भयो ।’ मुख्यमन्त्री शाहीले भने, दुई वर्षमा कुनै पनि बलक भर्खर उभिएर हिड्न प्रयासरत हुन्छ । त्यसलाई तन्नेरी जसरी दौडियोस् भन्ने कल्पना गरियो भने त्यो गलत हुन्छ ।’
प्रदेशको संरचनासमेत नयाँ भएकाले त्यसमा कहाँनेर के कमजोरी भयो भनेर खोतल्नु भन्दा त्यसलाई सकरात्मक रुपमा लिएर सहयोग गर्न उनले आग्रह गरे । केही समयता तिललाई पहाड बनाउने बानी कर्णालीको परम्परा जस्तै बनेको छ । कुन पक्ष हो भन्ने किटान नगरे पनि मुख्यमन्त्री शाहीले एकपक्ष कमजोरी कहाँ छ भने पिछा गरिरहको दाबी गरे ।
यो समय कसले, कहिले के गल्ती गर्ला र आलोचना गरौंला भनेर लाग्ने वेला होइन । भएका कमजोरीलाई सच्याऊ भनेर सुझाव दिन आग्रह गरेका मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश सरकारलाई रचनात्मक सुझाव दिन्होस् । अँझ म भन्छु, कणालीलाई सुन्दर बनाउन अहिले अरु केही होइन ठूलाठूला सपना देख्नुहोस् र देखेका सपना मात्रै हामीलाई सुनाउनुहोस् । अनिमात्र कर्णालीको नयाँ विकास गर्न सकिन्छ । आवश्यक नीति तथा कार्यक्रम तय गर्न सकिन्छ ।’
प्रदेशले निर्माण गरेको सञ्चार नीति र अन्य कानूनमा देखिएका कमीकमजोरीको बचाउ गरेका शाहीले भने, ‘गाउँलेको छोराले जे जिम्मा पायो त्यही काम जस्तो जान्यो त्यस्तै ग¥यो ।’ त्यसलाई अनावश्यक टिप्पणी गर्नु उचित नभएकोे तर्क गरे । कानूनको ‘क’ नजानेका र पत्रकारिताको ‘प’ नसुनेकाले पत्रकारिता सम्बन्धी कानून निर्माण गर्नु ठूलो उपलब्धी ठान्नुपर्ने जिकिर गरेका उनले कार्यान्वयनमा जटिलता आए सरकार जस्ता जुनसुकै बेला सहज हुने व्यवस्थाको लागि कानूनको संशोधन गर्न तयार रहेको जानकारी दिए । ‘अहिले कर्णाली प्रदेशले कानून निर्माणलाई तीव्रता दिइरहेको छ,’ उनको दाबी थियो, ‘केही कानूनहरू कार्यान्वयनमा जटिलता आएकाले अहिले हामी परिमार्जन गर्ने तयारीमा लागिरहेका छौं । त्यसका लागि सबै पक्षको सकारात्मक साथ सहयोग आवश्यक पर्दछ ।’
एक अर्को प्रसंगमा मुख्यमन्त्री शाहीले कर्णालीमा भ्रष्टाचार मौलाउँदै गएको खुलासा गरे । ‘पछिल्लो समय कर्णालीका शहरदेखि गाउँ जाने बजेट विकास गर्न होइन मिलेर खानका लागि गएको जस्तो देखिएको छ ।’ उनले भने , हाम्रा गाउँहरूमा भ्रष्टाचारले चुर्लुम्म डुबेका छन् ।’ केन्द्र र प्रदेश सरकारबाट जाने बजेटको आकार हेर्ने हो भने प्रदेशका सबै जनताको घरघरमा सडक पुगिसक्नु पर्ने उल्लेख गरेको उनले भने भ्रष्टाचारले गर्दा ठोस् उपलब्धी नदेखिएको स्विकारे । भ्रष्टाचार अन्त्य नभएसम्म प्रदेश बनाउन समस्या हुने भनाइ राखेका मुख्यमन्त्री शाहीले त्यही गलत संस्कार स्थापित भएकै कारण प्रदेशमा गरिबीको दर बढी देखिएकोे बताए । कुनैबेला संघसंस्थाको उर्भरभूमि कर्णाली तिनीहरूकै प्रवेशपछि नागरिकमा आर्थिक हिनामिनाको गलत संस्कार बसेको दावी गरे ।
परम्परागत कर्णाली निकै धनी भएको कर्णाली अहिले आएर गरिवको परिचय पाएको उनको भनाई थियो । ‘हाम्रा घरमा ठुलठूला सुनका डल्ला, चाँदीका माला लगाएर कर्णालीवासी आज भिखारी भएको छ,’ उनी भन्छन् ‘चरेसको थालीमा मार्सीको भातखाने कर्णालीवासी आफ्नै गलत प्रवृती र साँस्कृतीकै कारण आज मगन्तेका रुपमा परिणत भएको छ ।’
मुलुकमा आएको संघीयतामाथि नै केही शक्तिले प्रहार गरिरहेको बताउँदै मुख्यमन्त्री शाहीले उनीहरूको सपना पुरा नहुने बताए । ‘हिजो गणतन्त्र नचाहने, संघीयता नचाहने तत्व धेरै थिए,’ उनले भने, ‘ती तत्वहरू अहिले नचाहेर भएपनि संघीयता स्वीकार गर्न बाध्य भएका छन् ।’