सुर्खेत । कर्णाली प्रदेश सभाका सदस्यहरुले साझा मुद्दाहरुमा एकजुट भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को संसद् सहयोग परियोजनाले वीरेन्द्रनगरमा मंगलबार आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्यहरूले उक्त सामूहिक प्रतिवद्धता व्यक्त गरेका हुन् ।
‘कर्णाली प्रदेशका नागरिकका साझा र समृद्धिका मुद्दामा हामी सत्तापक्ष र प्रतिपक्ष बनेर विभाजित हँुदैनौ ।’ प्रदेशसभा सदस्य हिमबहादुर शाहीले भने, ‘समाजका कुसंस्कार तथा सीमान्तकृत समुदायको विषयमा एकजुट भएर सदनदेखि सडकसम्म एकतावद्ध रुपमा आवाज उठाउने छौं ।’ ‘सीमान्तकृत समुदायको न्यायका लागि हामी एकजुट भएको अवस्था छ ।’ उनले भने, ‘अब गाउँका दूरदराजमा बस्ने महिला, दलितहरुलाई पनि क्षमता अभिवृद्धि गर्ने र चेतनाको विकास गर्ने कार्यक्रमहरु लैजान आवश्यक रहेको छ ।’ प्रदेशसभा सदस्यले सदनमा उठाएका सीमान्तकृत समुदायका विषयवस्तुहरुलाई प्रदेश सरकारले कार्यान्वयन गरिरहेको शाहीले दाबी गरे ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने महिला सदस्यहरूकै पहलमा छोरीबुहारी छात्रबृत्ति कार्यक्रम ल्याउन सरकार बाध्य भएको बताएकी प्रदेशसभा सदस्य बद्मीकुमारी बोहोराले लैंगिक दृष्टिकोणले हेर्दा महिलाको शिक्षा, स्वास्थ्य र चेतनाको अवस्था निकै दयनीय अवस्थामा रहेको जिकिर गरिन् । उनले भनिन्, ‘कर्णालीका सबै महिला माननीयले आवाज उठाएपछि हाम्रा माग पूरा गर्ने सरकारले छोरी बुहारी छात्रबृत्ति कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।’
कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेशसभा सदस्य पद्माकुमारी खड्काले जसको सवाल छ उसैले मात्र आवाज उठाउने भन्दा पनि सबैले सहयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।
प्रदेशसभा सदस्यले सदनमा कस्तो विषयहरु उठाउने र सीमान्तकृत वर्गको विषयमा कसरी कुरा राख्ने विषयमा सदस्यहरूलाई अभिमूखीकरण गर्न कार्यक्रमको आयोजना गरिएको दलित महिला संघका कार्यक्रम संयोजक खगिसरा वलीले जानकारी दिइन् ।