हुम्ला । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि हुम्लाका राजनीतिक दलहरूले विभिन्न ६ वटा विषयमा सहमति गरेका छन् । खार्पुनाथ गाउँपालिकाको रिक्त उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा सुरक्षा व्यवस्था सम्बन्धी बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।
निर्वाचन आचारसंहिता पालन गर्दै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न मतदान गर्ने दिन गाउँपालिका बाहिरबाट गएका व्यक्तिलाई कडा निगरानीमा राख्ने, कुनै अमर्यादित गतिविधि भएमा तत्काल सुरक्षा निकाय र आचारसंहिता अनुगमन समितिलाई जानकारी गराउनेलगायतका विषयमा राजनीतिक सहमति भएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताइन् ।
उनका अनुसार नेपाली कांग्रेस, नेकपा, राप्रपा संयुक्तसहित सरोकारवाला पक्षबीच बसेको बैठकले उपनिर्वाचनको मतदानको दिनसम्म खार्पुनाथ गाउँपालिकामा मदिरा उत्पादन, बेचबिखन र ओसार पसारमा रोक लगाउने, कुनै व्यक्तिले कानूनी रूपमा प्राप्त गरेका बन्दुक र पेस्तोलजस्ता हतियार भए निर्वाचन अवधिभर जिल्ला प्रशासन कार्यालयमा बुझाउन लगाउने लिखित सहमति दलहरूबीच भएको छ ।
निर्वाचनको समयमा पनि ब्यक्तिले बिष्फोटक वा विषालु पदार्थ, लाठी, भाला, चक्कु, खुकुरी, बन्दुक, पेस्तोल लिएर हिँड्न नपाउने र हिडेको पाइएमा प्रहरीले तत्काल नियन्त्रण लिने, निर्वाचन आयोगबाट जारी भएको आचारसंहिता कर्मचारी, राजनीति दलहरूबाट पूर्णरूपमा लागू गर्ने, चुनाव प्रचारप्रसारमा कुनै पनि राजनीति दलहरूले बालबालिकाको प्रयोग गर्न नपाइने र निर्वाचनको मौन अवधिभर निर्वाचन हुने गाउँपालिकामा मतदाता र निर्वाचन आयोगबाट जारी भएको पास भएका व्यक्ति बाहेक अन्य असम्बन्धित ब्यक्तिहरूको आवागमनलाई कडाईका साथ निगरानी गरिने विषयमा सर्वदलीय सहमति भएको छ ।