खडुक सुनार
मुगु, ६ मंसिर । गाउँपालिकाको बजेटमा अनियमितताको आरोप लगाउँदै सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीमाथि दर्जन आरोपसहित छानबिनको माग गरिएको छ । गाउँपालिकाकोतर्फबाट अध्यक्ष शाहीले आफ्नै प्रमुख प्रशासकीय अधिकृतमाथि बजेट दुरुपयोगको आरोपमा उजुरी दर्ता भएको तीन दिनमै अध्यक्ष शाहीलाई यस्तो आरोप लागेको हो ।
सोरु गाउँपालिका २१ जनाको हस्ताक्षरित उजुरीमा गाउँपालिकाको बजेटमा अध्यक्ष शाहीले प्रचालित नियम विपरित रकम खर्च गरेको, गाउँपालिकाको स्रोत दुरुपयोग गरेको, गाउँपालिकाका कामहरू आफ्नै छोराको कम्पनीलाई दिएको जस्ता आरोप लगाइएका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालय मुगुमा दर्ता गरिएको आरोपपत्रमा राजनीतिक पूर्वाग्रही बनेर अध्यक्ष शाहीले गाउँपालिकाको बदनाम गरेको उल्लेख गरिएको छ ।
२०७५ साल साउन महिनामा गाउँपालिकाका तत्कालीन कार्यालय सहयोगी धनमान सिंह मल्लको नाममा काठमाडौं डेलिकेशन जाने बहानामा तीन लाख पेश्की लिन लगाएपछि उक्त रकम आफ्नो खातामा ट्रान्सफर गर्न लगाइ त्यसको पेश्की फस्र्योट गर्दा अध्यक्ष शाहीले नक्कली बिल भरपाइ बनाउन लगाएर रकम हिनामिना गरिएको कुरा आरोप पत्रमा उल्लेख गरिएको छ । शाहीले आफ्नो छोरा बलिजंग शाहीलाई सव–इन्जिनियर पदमा भर्ना गरी उनकै नाममा दर्ता भएको ब्यूल्ड लास्टिङ इन्जिनियरिङ कन्सल्टेन्सी प्राइभेट लिमिटेड काडमाडौंका नाममा सोरूकोट–नार्थपु हुँदै बिल्लीधारा–फोतु सडकको डीपीआर तयार गर्न १० लाख रूपैयाँ भुक्तानी दिएको, गाउँपालिकाको जिन्सी शाखाबाट दुई थान मोटरसाइकल दुई वटा घोडा र फोरह्विल पिकअप गाडी लगेर चरम दुरूपयोग गरेको आरोप लगाइएको छ । अध्यक्षविरुद्ध जिल्ला प्रशासन कार्यालय मुगुमा उजुरी गर्न पुगेका सोरु गाउँपालिकाका रतनबहादुर शाहीका अनुसार गाउँपालिकाका अध्यक्षले आफू संलग्न पार्टी (नेपाल काँग्रेस) का विभिन्न कार्यक्रममा भाग लिन जाँदा पाँच लाखको गाडी रिर्जभ गरेर पालिकाको रकम दुरुपयोग गरेका छन् ।’ गाउँपालिकाका काम सबै एकलौटी भएको आरोप लगाएका उनले भने, ‘हरेक वर्ष करोडौंको रकम खर्च भयो । गाउँमा देखिने काम एउटा पनि भएको छैन । त्यसैले हामी स्थानीय युवा बाध्य भएर छानबिनको मागसहित सदरमुकाम गमगढी पुगेका हौं ।’
उजुरी पत्र बुझ्दै मुगुका निमित्त प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले वास्तविकताका बारेमा अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरे । पछिल्लो समय सोरु गाउँपालिकामा भएका आरोपप्रत्यारोपका बारेमा चिन्ता व्यक्त गरेका अधिकारी घिमिरे भने, ‘कुनै पनि बहानामा सरकारी सम्पत्तिको दुरुपयोग गरेको भेटिएमा हामी कारबाही गर्छौ ।’ स्थानीय तहमा निकै बढी बेथिति बढ्दै गएको जिकिर गरेका उनले सरकारी सवारी साधनको प्रयोग कार्यालय प्रयोजनका लागि मात्रै गर्नुपर्नेमा जोड दिए ।
कसरी शुरु भयो आरोप प्रत्यारोपको श्रृंखला ?
जनप्रतिनिधि र कर्मचारीबीच बढ्दै गएको तिक्तताले आरोप प्रत्यारोपको श्रृंखला शुरु भएको हो । दसैंको अवसरमा घर बिदामा गएका गाउँपालिकाका कर्मचारीलाई काममा फर्किन गरेको आग्रह नमानेको भन्दै पदाधिकारीले कानूनी कारबाहीको प्रक्रिया अघि बढाएपछि गाउँपालिकाका पदाधिकारी र कर्मचारीबीच दूरी बढेको हो । लामो समय कर्मचारी नआएकाले गाउँपालिकाको काम प्रभावित भएको भन्दै गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले गएको कात्तिक २० गते सबै कर्मचारीको नाममा तीन दिने अल्टिमेटम दिएका थिए । गाउँपालिकामा काम गर्न सुरक्षित वातावरण नभएको बताएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुुराम उपाध्यायले जिल्ला सदरमुककाम गमगढीमै सम्पर्क कार्यालय सञ्चालन गरेर गाउँपालिकाको काम शुरु गरेपछि विवाद थप उत्कर्षमा पुगेको हो ।
कर्मचारीले आफ्नो निर्देशन नमानेको कुरालाई ठूलै इगोका रुपमा लिएका गाउँपालिका अध्यक्ष शाहीले प्रमुख प्रशासकीय अधिकृत उपाध्यायमाथि गाउँपालिकाको रकम हिनामिनाको आरोप लगाउँदै गाउँ कार्यपालिकाकै तर्फबाट मंसिर १ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि विवाद लिखित रुपमै उजुरीमा परिणत भएको हो । स्थानीय बासिन्दाको उजुरीको आधारमा अध्यक्ष शाहीले प्रशासकीय अधिकृत उपाध्यायमाथि लिखित उजुरी दिएपछि विवाद थप बल्झिएको हो । फरक विचार भएकै कारण आफूमाथि नभएको आरोप लगाएको भन्दै राजनीतिक संरक्षणका लागि नेताहरू कहाँ पुगेका प्रशासकीय अधिकृत उपाध्ययकै सूचनाका आधारमा अध्यक्ष शाहीमाथि लिखित उजुरी दर्ता भएको हो । स्रोतका अनुसार प्रशासकीय अधिकृत उपाध्यायलाई उजुरी दिने सबै नेपाली काँग्रेस समर्थक र अध्यक्ष शाहीलाई उजुरी दिने स्थानीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थक छन् ।