काठमाडौं । जेन–जी आन्दोलनका वेला फरारमध्ये अझै ५,२५७ कैदीबन्दी सम्पर्कबाहिर, त्यसमध्ये भारत, चीन, बंगलादेश, दक्षिण अफ्रिका, सुडान, म्यानमार, पाकिस्तानलगायत २८ देशका कैदीबन्दीको संख्या मात्रै ६३९
जेन–जी आन्दोलनमा २८ जिल्लाका कारागारबाट फरारमध्ये ६३९ विदेशी कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन् । कारागार व्यवस्थापन विभागका अनुसार भारतसहित चीन, बंगलादेश, दक्षिण अफ्रिका, सुडान, म्यानमार, पाकिस्तान, बोलिभियालगायत २८ देशका कैदीबन्दी फरार छन् । फरार विदेशी कैदीबन्दीमा धेरैजसो भारतीय छन् ।
कारागार विभागको तथ्यांकअनुसार फरार १४ हजार ५५६ मध्ये हालसम्म नौ हजार २९९ जना पुनः जेल फर्किए पनि अझै पाँच हजार २५७ कैदीबन्दी फरार रहेका छन् । त्यसमध्ये नेपाली फरार कैदीबन्दीको संख्या चार हजार ६१८ हो भने बाँकी विदेशी नागरिक हुन् ।
भारतका ५३५, चीनका २४, बंगलादेशका १६, साउथ अफ्रिकाका ११, सुडानका चार, म्यानमारका ६, पाकिस्तानका चार, बोलिभियाका चार, उज्वेकिस्तानका चार, थाइल्यान्डका चार, भुटानका तीन, अमेरिकाका दुई, तान्जिनियाका दुई, क्यानडाका दुई, रुसका दुई र युगान्डाका दुई कैदीबन्दी फरार छन् । यसबाहेक मालीका एक, मलेसियाका एक, बेल्जियमका एक, इजिप्टका एक, हङकङका एक, भियतनामका एक, नाइजेरियाका एक, श्रीलंकाका एक, अफ्रिकी क्यारामिनका एक, जिम्बाबेका एक, भेनेजुएलाका एक, ब्रजिलका एक, म्यानमारका एक र बेलायतका एक कैदी फरार छन् । उनीहरू लागुऔषध, जबर्जस्ती करणी र अपहरणजस्ता गम्भीर अपराधमा संलग्न थिए ।
विभागले जेल फर्कन आग्रह गरे पनि ठुलो संख्यामा फरार कैदीबन्दी बाहिरै छन् । यसले सुरक्षा चुनौतीसमेत बढाएको छ । विभागले जतिसक्दो चाँडो कारागार फर्कने नत्र कानुनअनुसार कारबाहीको चेतनावनी दिँदै गत २८ भदौमा सूचना सार्वजनिक गरेको थियो । सूचनापछि झन्डै नौ हजार कैदीबन्दी फर्किए । विभागले गत १० असोजमा दोस्रोपटक सूचना सार्वजनिक गरी २० असोजभित्र जेल नफर्केका कैदीबन्दीलाई कारगार व्यवस्थापन ऐन, २०७९ अनुसार कारबाही गर्ने बताएको थियो ।
तर, विभागले गत २३ र २४ मा भएको जेन–जी आन्दोलनमा जेलबाट फरार कैदीबन्दीलाई कानुनअनुसार कारबाही गर्न सकेको छैन । गृह मन्त्रालयले गत १७ देखि १९ असोजसम्मको बढीपहिरोको कारण देखाउँदै तत्काल कारबाही नगर्न निर्देशन दिएको थियो । सोही निर्देशनपछि विभागले २० असोजपछि पक्राउ परेका कैदीबन्दीलाई हालसम्म कुनै कारबाही गर्न सकेको छैन ।
विभागका महानिर्देशक लीलाप्रसाद शर्माले २० असोजपछि पक्राउ गरिएका कैदीबन्दीलाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन नसकिएको बताए । शर्माले फरार भएका कैदीबन्दीलाई जेल फर्कन मोटिभेट गर्ने उद्देश्यले सूचना सार्वजनिक गरिएको बताए । ‘फरार भएका कैदीबन्दीलाई जेल फर्कन विभागले हालसम्म दुईपटक सूचना प्रकाशन गरेको छ । नत्र कानुनअनुसार कारबाही गर्ने चेतावनी दिइएको हो । यसबिचमा मुलुकमा बाढीपहिरो आयो । केही असुविधा भयो । सूचना प्रकाशनको उद्देश्य जेल फर्कन मोटिभेट गर्नु पनि हो । यसको अर्थ कारबाही नहुने भन्न खोजेको होइन,’ उनले भने ।
कारागार व्यवस्थापन ऐन, २०७९ अनुसार कुनै पनि कैदीबन्दी कारागारबाट भागे वा भाग्ने उद्योग गरेमा पाँच वर्ष कैद वा ५० हजार रुपैयाँसम्मको जरिवाना र दुवै सजाय हुन सक्नेछ । त्यस्तै, कुनै बन्दीलाई भगाएमा वा त्यस्तो उद्योगमा संलग्न भएमा पनि घटनामा संलग्न व्यक्तिलाई तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्मका जरिवाना हुन सक्छ ।
विदेश भाग्न सक्ने देखिएपछि विभागले फरार सबै कैदीबन्दीको विवरण अध्यागमन विभागमातहतका सबै कार्यालयमा पठाएको छ । त्यस्तै, मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पनि उनीहरूको विवरण पठाइएको छ । जिल्ला प्रशासन कार्यालयले मातहतका सबै स्थानीय तहमा प्राप्त विवरण सर्कुलेट गरेको विभागको भनाइ छ ।
विभागका अनुसार नफर्किएका कैदीबन्दीविरुद्ध स्थानीय तहबाट समेत निगरानी भइरहेका छन् । कतिपय कैदीबन्दी स्थानीय तहकै सूचनापछि पक्राउ परेको विभागको दाबी छ । सूचना प्राप्त हुना साथ पक्राउका लागि सुरक्षाकर्मी परिचालन गर्ने वातावरण बनाउन गृह मन्त्रालयले मातहतका सबै सिडिओ कार्यालयलाई निर्देशन गरेको छ । प्रहरीले पनि सोहीअनुसार सुरक्षाकर्मी परिचालन गर्न मातहतका जिल्ला प्रहरी कार्यालयहरूलाई निर्देशन दिएको छ ।
कारागार व्यवस्थापन विभागका प्रवक्ता चोमेन्द्र न्योपाने भन्छन्–पक्राउ गर्न सम्बन्धित दूतावासमा पत्राचार गरिएको छ
जेलबाट विदेशी कैदीबन्दी फरार भएका छन् । फरार रहेकामध्ये ६३९ जेल फर्किएका छैनन् । उनीहरूको भिसा रद्द गरिएको छ । गृह मन्त्रालयमार्फत सम्बन्धित दूतावासमा सूचीसहित पक्राउका लागि अनुरोध गरिएको छ । भारतीयको हकमा नाकामा कडाइ गरिएको छ । दूतावासमा पनि पत्राचार गरिएको छ ।
फरार विदेशी कैदीबन्दीमध्ये भारतका मात्र ५३५
कुन मुद्दाका कति ?
जेन–जी आन्दोलनमा देशभरका कारागारबाट कैदीबन्दी भाग्दा ठुलो संख्यामा भारतीय कैदीबन्दी पनि भागेका थिए । फरार भारतीय कैदीबन्दी विभिन्न कसुरमा २८ जिल्लाका कारागारमा थिए । कारागार व्यवस्था विभागको तथ्यांकअनुसार फरार भारतीय ३३५ कैदीबन्दीमा सबैभन्दा धेरै लागुऔषधका २२५ जना छन् ।
यसबाहेक जबर्जस्तीकरणीका ९६, कर्तव्य ज्यानका ३४, मानव बेचबिखनका आठ, अपहरणका २०, सवारी ज्यानका २१, हतियार खरखजानाका ११, सुन चोरी पैठारीका १३, चोरीका ४४, डाँकाका १४ र अन्य ४९ जना छन् । अन्यअन्र्तगत वन्यजन्तु कसुरका तीन, एसिड प्रहारका एक, राजस्व चुहावटका एक, अप्राकृतिक मैथुनका एक, अभौतिक मुद्राका दुई, विद्युतीय कारोबार ऐनका एक, खोटा चलनका दुई, ज्यान मार्ने उद्योगका एक, आत्महत्या दुरुत्साहनका १, अभद्र व्यवहारका २, हुन्डीका २ छन् भने बाँकीको विवरण खुलेको छैन ।
कुन कारागारबाट कति भागे ?
विभागका अनुसार धेरै भारतीय कैदी केन्द्रीय कारागारबाट भागेका छन् । केन्द्रीय कारागारबाट २०५, नौबस्ता बाँकेबाट १८, रौतहटबाट १२, सिन्धुलीबाट पाँच, चितवनबाट १२, मकवानपुरबाट २७, म्याग्दीबाट एक, कपिलवस्तुबाट १३, कास्कीबाट ११, तनहुँबाट चार, कैलालीबाट १९, नक्खुबाट ५९, कञ्चनपुरबाट १७, नवलपरासीबाट ३९, पस्तरीबाट ६, झुम्काबाट ४७, तुलसीपुरबाट आठ र महोत्तरीबाट ३२ भारतीय कैदीबन्दी फरार छन् । उनीहरूको पहिचान र पक्राउका लागि सीमामा कडाइ गरिएको विभागका अधिकारीहरूले बताएका छन् । तर, फरार भएको एक महिना काट्दा पनि उनीहरूमध्ये धेरै पक्राउ परेका छैनन् । खुला सीमानाका कारण फरार भारतीय कैदीबन्दी नेपालबाट भागेको अनुमान गरिएको छ ।
अन्य कुन देशका कति ?
चीन : २४ (सुन चोरीपैठारीः १२, ओभरस्टे ; १, जक ; ३,
मानव बेचबिखन :१, मुद्रासम्बन्धी : ६, राजस्व चुहावट : १)
बंगलादेश : १६ (सुन चोरी पैठारी: २, कर्तव्य ज्यान : १, ओभरस्टे: ३, ठगी : ७, अपहरण : २, चोरी: १०
साउथ अफ्रिका :११ (सबै लागुऔषध कसुरका)
सुडान ः ४ (सबै सुन चोरी पैठारी कसुरमा)
म्यानमार : ६ (दूरसञ्चार :१, लागुऔषध : १,
सुन चोरी पैठारी : २, ओभरस्टे : १, जक : १)
पाकिस्तान : ४ (ओभरस्टे स् १, लागुऔषध : ३)
बोलिभिया : ४ (सबै लागुऔषध कसुरका)
उज्वेकिस्तान : ४ (सबै सुन चोरी पैठारी कसुरका)
थाइल्यान्ड : ४ (सबै लागुऔषध कसुरका)
भुटान: ३ (ओभरस्टे १, नखुलेको :२)
अमेरिका :२ (मानव बेचविखन :१, लागुऔषध : १)
तान्जिनिया : २ (दुवै लागुऔषध कसुरका)
क्यानडा : २ (सुन चोरी पैठारी : १, ओभरस्टे:१)
रुस स् २ (ओभरस्टे: २)
युगान्डा : २ (मानव बेचबिखन: १, लागुऔषध: १)
माली, मलेसिया, नाइजेरिया, श्रीलंका, अफ्रिकी क्यारमिन, जिम्बावे, भेनेजुएला, ब्राजिल, बेलायत र युक्रेनका एक–एकजना लागुऔषध कसुरका बन्दी
बेल्जियम, इजिप्ट र हङकङका एक–एक नागरिक सुन चोरी पैठारी मुद्दामा जेलमा थिए भने भियतनामका एक नागरिक अहपरण शरीर बन्दक तथा लिखतसम्बन्धी कसुरको मुद्दामा जेलमा थिए
उनीहरूमध्ये दुई भुटानी सुनसरीको झुम्का कारागारबाट, दुई चिनियाँ नागरिक कास्की कारागारबाट तथा चीनका ८, बेलायतका १, बंगलादेशका , अमेरिकाका १ र म्यानमारका १ कैदीबन्दी नक्खु कारागारबाट फरार भएका थिए । बाँकी ८७ कैदीबन्दी केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका हुन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२ ०९:५४