सुर्खेत– मौसमी प्रविधिमा नेपालले नयाँ फड्को मारेको छ । जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा मौसम सम्बन्धी पूर्व जानकारी दिने राडार रातानाङ्लामा जडान गरेको हो ।
विभागका महानिर्देशक सरोजकुमार वैद्यका अनुसार यो नेपालको पहिलो र एकमात्र आधुनिक प्रविधिको राडार हो । राडारले पश्चिम नेपालको हवाई उड्डयनलाई सुरक्षित बनाउने र मौसमका बारे पूर्व जानकारी दिनेछ ।
यो राडारले वायुमण्डलको तस्बिर खिचेर कन्ट्रोलरुममा पठाउँछ र सोही तस्बिरका आधारमा प्राकृतिक प्रकोप, वर्षा, आँधी, असिना, पानी, हिमपात आदिका विषयमा पूर्व जानकारी लिन सकिन्छ ।
सुर्खेतमा जडान गरिएको राडारले १५० किलोमिटरसम्म अर्थात् कर्णाली, सुदूरपश्चिम, प्रदेश ५ र भारतको लखनउसम्मको मौसमी जानकारी दिन्छ ।
यो प्रविधि अहिलेसम्मकै वास्तविक र विश्वसनिय प्रविधि मानिएको छ । राडार बनेसँगै अनुमानित मौसमी विश्लेषण गर्ने बाध्यताको अन्त्य भएको विभागका उपमहानिर्देशक जगदीश कर्मचार्यले बताए ।
यसलाई पूर्ण प्रयोगमा ल्याउन अझै थुप्रै अनुसन्धान र अभ्यास बाँकी नै रहेको छ। नेपालमा पहिलो पटक जडान भएका कारण यसको प्रविधि र संकलित तथ्यांक विश्लेषणका लागि केही समय लाग्ने विभागले जनाएको छ।
मौसमी रडारको आज ऊर्जामन्त्री वर्षमान पुनले उद्घाटन गरेका छन्।
उद्घाटन कार्यक्रममा मन्त्री पुनले राडारले हवाई यात्रा र प्राकृतिक प्रकोपबाट कर्णाली सुरक्षित हुने विश्वास गरे। जल तथा मौसम विज्ञान विभागको जलवायु प्रकोप समुत्थान निर्माण आयोजना अन्तरगत विश्व बैंकको आर्थिक सहयोगमा यो राडार जडान गरिएको हो ।
राडारले विपद न्यूनिकरण तथा व्यवस्थापन, यातायात, कृषि, पर्यटन तथा पर्वतारोहणका लागि उपयोगी सावित हुने अपेक्षा गरिएको छ।