सुर्खेत। कर्णाली प्रदेश सरकारले अबका दश वर्षमा पन्ध्र लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भको अवसरमा आजदेखि व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याएको कर्णाली पर्यटन गुरु योजना अनुसार प्रदेश सरकारले यस्तो लक्ष्य राखेको हो ।
अगामी सन् २०२९ सम्म कर्णालीमा भ्रमण गर्ने १५ लाख पर्यटक मध्ये चार लाख विदेशी पर्यटकहरुले कर्णालीको भ्रमण गर्नेछन् भने बाँकी एघार लाख आन्तरिक पर्यटकहरु कर्णाली प्रदेशमा आउने छन । अहिले कर्णालीमा आउने आन्तरिक तथा बाह््य पर्यटकको संख्यामा हरेक वर्ष ३९ दशमलव ५ प्रतिशतका दरले वृद्धी भएर आगामी दश वर्षमा उक्त संख्या पुग्ने अनुमान दश वर्षे कर्णाली पर्यटन गुरुयोजनामा उल्लेख छ ।
कर्णाली पर्यटज गुरु योजनाले पर्यटकहरुलाई आकर्षित गर्न नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भदेखि नै कर्णालीको प्राकृति र जैविक विविधतामा आधारित आयोजनाहरु, तीर्थास्थल, अध्यात्म र ध्यान सम्बन्धी आयोजनाहरु सञ्चालन गर्ने उल्लेख गरेको छ । यसैगरी चालु आर्थिक वर्ष देखिनै कार्यान्वयन गर्ने जनाएको कर्णालीले संस्कृति, कला र ईतिहास सम्वन्धी, साहसिक तथा मनोरञ्जनात्मक ईन्भेन्ट सम्वन्धी आयोजना र माइस तथा व्यापारसम्वन्धी आयोजनाहरु मार्फत लक्षित पर्यटकले कर्णालीको भ्रमण गर्ने दावी गरेको छ ।
प्रदेश समृद्धीको आधारकै रुपमा पर्यटन क्षेत्रलाई मानेको कर्णाली प्रदेश सरकारले यसकालागि मूर्मा मोडल ईको भिलेज, काँक्रेविहार प्राणी उद्यान, छार्का–धो–सालदाङ–भिजेर–कामाराङ हिउँ चितुवा एक्सपेडिसन, भण्डारवन प्राकृतिक पदमार्ग/प्राकृतिक प्राणीउद्यान, रैथाने वन प्रजाति, वनस्पति र जडिबुटीको संरक्षण र प्रर्वद्वन, राकम पर्यपर्यटन तथा मत्य विकास, सुर्खेत–गोठीकाँडा–सिद्वपाइला केवलकार सञ्चालन जस्ता आयोजनाबाट आन्तरिक तथा बाह्य पर्यटकलाई कर्णालीमा भित्र्याउने आधारमा रुपमा पर्यटन गुरु योजनामामार्फत अघि सारिएको छ । त्यस्तै, काक्रेविहार आध्यात्म तथा ध्यान केन्द्र, आम्ची परम्परागत हिलिङ केन्द्र, सालदाङ, अन्र्तराष्ट्रिय बौद्व तालिम केन्द्र, यलवाङ, हुम्ला, सिमकोट–खार्पुनाथ तर्थाटन हव, रारा–छायाँनाथ तीर्थाटन र योगा केन्द्र, बौद्व बोन अन्र्तराष्ट्रिय रिट्रिट केन्द्र निर्माण गरेर पर्यटकको संख्यामा वृद्धी गरिने छ ।
कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयोजनमा तयार पारिएको गुरु योजनामा संस्कृति, कला र इतिहाँस सम्बन्धि ६ वटा, साहसिक तथा मनोरञ्जनात्मक ईन्भेन्ट सम्वन्धी ११ वटा र माइस तथा व्यापारसम्वन्धी तिन वटा आयोजनाहरु सञ्चालन गरेर पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जानकारी दिए ।
उनका अनुसार गुरु योजनाको लक्ष्यप्राप्तीका गर्न उत्पादन केन्द्रित बजारिकरण, सार्वजनिक–निजी–सहकारी साझेदारी, सरोकारवालाहरुसँग समन्वय र सहकार्य, वातावरणमैत्री पर्यटन पूर्वाधार, स्थानीय र रैथाने कृषि उत्पादनलाई प्राथमिकता तथा पर्यटकीय क्षेत्रको अवधारणा जस्ता रणनीति अपनाईने छ । रणनीतिक पर्यटन क्षेत्रका रुपमा प्रदेशलाई पाँच भागमा विभाजन गरिएको गुरुयोजनाले डोल्पो पर्यटन क्षेत्र (डोल्पा), मध्य भेरी पर्यटन क्षेत्र (रुकुम पश्चिम, सल्यान र जाजरकोट), मध्य कर्णाली (सुर्खेत र दैलेख) पर्यटन क्षेत्र, रारा–जुम्ला–सिंजा–कालिकोट पर्यटन क्षेत्र (कालिकोट, जुम्ला र मुगु) र हुम्ला–लिमी–हिल्सा पर्यटन क्षेत्र (हुम्ला) लाई अघि सारेको छ ।
४० पर्यटकीय गन्तव्य छनोट
नेपाल भ्रमण वर्ष २०२० कालागि कर्णाली प्रदेश सरकारले बाह्य पर्यटककालगि २० र आन्तरिक पर्यटकका लागि २० गरेर ४० वटा पर्यटकीय गन्तव्य छनोट गरेको छ ।
छनोट भएका गन्तव्यमा हुम्लाको लिमी उपत्यका र खार्पुनाथ, सिमिकोट, मुगुको राराताल र छाँयानाथ, जुम्लाको चन्दननाथ, गुठिचौर, पातारासी र सिँजा उपत्यका, कालिकोटको पचालझरना, चुलीमालिका, कोटदरबार पिली र मान्म बजार परेका छन् ।
त्यस्तै, कर्णाली प्रदेश सरकारले दैलेखको राकम कर्णाली र पञ्चकोशी सर्किट, सुर्खेतको काँक्रेबिहार, बुलबुले ताल र पञ्चपुरी सर्किट, सल्यानको कुपिण्डे दह र छायाँनाथ तथा खैरावाङ मन्दिर, रुकुम पश्चिमको सिस्ने हिमाल र स्यार्पुताल मुसीकोट दरबार र डिग्रेमाई मन्दिर, जाजरकोटको भेरी मन्दिर, डोल्पाको माथिल्लो डोल्पा, से फोक्सुण्डो ताल र त्रिपुरासुन्दरी मन्दिर पर्यटकीय गन्तव्यको सूचीमा सूचिकृत गरेको छ ।
पर्यटकको बसाई अवधी २१ दिन पुर्याइने
आवश्यक पूर्वाधार अभावले कर्णालीको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक कर्णालीमा दुई दिन बिताउन पनि गाह्रो मान्छन भन्ने टिप्पणी भैरहेको बेला कर्णाली प्रदेश सरकारले गुरु योजनामार्फत बाह्य पर्यटकको बसाई २१ दिनसम्म लम्ब्याउने महत्वकांक्षी योजना राखेको छ ।
अहिले आएका वाह्य पर्यटक (भारतीय वाहेक) को वसाई अवधि १९ दिन रहेको दावी गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २ दिन थपेर २१ दिन पुर्याउने जनाएको छ । प्रत्येक पर्यटकले प्रति दिन १ सय २० डलर खर्च गर्ने अनुमान गरेको गुरु योजनाले यसबाट कर्णाली समृद्धीको आधार तयार हुने दावी गरेको छ ।
‘आगामी १० वर्षमा पर्यटन क्षेत्रमा दक्ष मानव संशाधनको संख्या २० हजार पुग्ने छ ।’ कर्णाली पर्यटन गुरु योजना भन्छ, ‘यस अवधीमा तीन हजार पर्यटन उद्यमी, एक सय ५० वटा सुविधा सम्पन्न होटल तथा रिसोर्ट खुल्ने छन् ।’ पर्यटन क्षेत्रमा बढ्ने होटल व्यवसायबाट यो अवधीमा एक लाख ५० हजार रोजगारी थप हुने लक्ष्य उक्त गुरु योजनामा उल्लेख गरिएको छ । जसले प्रदेशको कुल ग्राहस्थ उत्पादनमा १० प्रतिशत पर्यटनबाट योगदान हुने रणनीतिक लक्ष्य राखेको ।
अन्तरदेशीय पर्यटन समिति
कर्णालीमा आउने पर्यटकहरुको संख्यामा वृद्धी गर्न प्रदेश सरकारले संस्थागत संरचना अन्र्तगत अन्तरदेशीय पर्यटन समन्वय समिति समेत गठन गर्ने भएको छ । आजदेखि व्यवहारिक कार्यान्वयनमा आएको कर्णाली पर्यटन गुरु योजनाले कर्णाली–चीन (तिब्बत) अन्तरदेशिय पर्यटन समन्वय समिति गठन गर्ने उल्लेख गरेको छ ।
मुख्यमन्त्रीको अध्यक्षतामा कर्णाली प्रदेश पर्यटन समन्वय परिषद्, पर्यटन मन्त्रालयका सचिवको अध्यक्षतामा कर्णाली प्रदेश पर्यटन बोर्ड, पर्यटन मन्त्रालयमा पर्यटन तथा संस्कृति महाशाख स्थापना, भेरी–कर्णाली रिभर करिडोरमा पर्यटन कार्यालयको स्थापना, निजि–सार्वजनिक–साझेदारी मोडलमा पर्यटन सूचना तथा कोसेली केन्द्रलगायत सार्वजनिक संरचनाको स्थापना गर्ने लक्ष्य प्रदेश सरकारले राखेको छ । यसका साथै कर्णाली पर्यटन व्यवसायी संघ÷संगठन, पर्यटन उद्योग व्यवसायी संघ/संगठन, सास्कृतिक सम्पदा टूर गाईड संघ, निजि–सार्वजनिक–संझौता मोडलमा पर्यटन सूचना तथा कोसेली केन्द्र स्थापना जस्ता निजी संरचनाको समेत स्थापना गर्ने योजना अघि सारिएको छ ।
पाँच अर्व बजेट आवश्यक
पर्यटन सम्बन्धि १० वर्षे कर्णाली पर्यटन गुरुयोजनाको कार्यान्वयन गर्न पाँच अर्ब बजेट आवश्यक पर्नेछ ।
गुरु योजनाले अघि सारेका पर्यटकीय उत्पादन विकास र स्तरोन्नतीकालागि १० प्रतिशत, पर्यटन पुर्वाधार विकास ३५ प्रतिशत, गन्तव्य प्रर्वद्वन र बजारीकरणमा १० प्रतिशत, निति तथा संस्थागत संरचनामा १० प्रतिशत रकम खर्च हुने अनुमान गरिएको छ । यसैगरी मानव संशाधन विकासमा ५ प्रतिशत, स्थानीय समुदायको सहभागिता र स्थानीय अर्थतन्त्रमा पर्यटनको फाइदा अभिवृद्धिमा १० प्रतिशत, सांस्कृतिक तथा प्राकृतिक सम्पदा तथा जैविक विविधता संरक्षणमा १० प्रतिशत बजेट खर्च गरिने प्रस्ताव गुरु योजनाले अघि सारेको छ ।
गुरु योजना सार्वजनिक गर्न भाषिक समस्या
नेपाल भ्रमण वर्ष २०२० को सुभारम्भकै अवसरमा आज सार्वजनिक गर्ने भनिएको दश वर्षे कर्णाली पर्यटन गुरु योजनाको सार्वजनिक गर्ने योजना भाषाका कारण अन्तिममा आएर रोकिएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तयार पारेको कर्णालीको पर्यटन सम्बन्धि पन्ध्र वर्षे रणनीति सहितको दश वर्षे गुरु योजनामा उल्ले खगरिएको भाष अंग्रेजी भएकाले प्रदेश मन्त्री परिषद्मा पारित गर्न कानूनी समस्या भएपछि आज सार्वजनिक हुन नसकेको हो ।
‘नेपालको संविधानले नेपाली भाषालाई सरकारी कामकाजको भाषाका रुपमा मानेको हुनाले गुरु योजना सार्वजनिक गर्न र कार्यान्वयनमा ल्याउन केही प्राविधिक समस्या परेको हो ।’ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय स्रोतले भन्यो, ‘गुरु योजनाको नेपाली अनुवाद गर्ने काम केही दिन अघिदेखि मात्रै शुरु गरिएको छ ।’ गुरु योजना सार्वजनिक हुन केही समय लागेपनि व्यवहारिक कार्यान्व्यन भने आजकै मितिदेखि भएको बताइएको छ ।