काठमाडौँ : आफ्नो खेल करिअरमा एकपछि अर्को सफलता चुम्दै आएका १८ वर्षीय क्रिकेटर सन्दीप लामिछानेले आफ्नो नाममा अर्को एउटा कीर्तिमान बनाएका छन् ।
इन्डियन प्रियमिर लिग (आईपीएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) र ग्लोबल टी-२० लिग कयानडामा समेत कुशलता देखाइसकेका सन्दीप नेपालबाट वान डे इन्टरनेशनल (ओडीआई) मान्यता प्राप्त खेलमा सबैभन्दा धेरै विकेट झार्ने खेलाडी बन्न सफल भएका हुन् ।
उनले यो कीर्तिमान मलेसियाको क्वालालाम्पुरमा जारी एसिया कप क्रिकेट छनोट प्रतियोगता अन्तर्गत युएईविरुद्ध चार विकेट लिँदै बनाउन सफल भएका हुन् ।
सन्दीपले यसअघि नेदरल्यान्ड्सविरुद्ध भएको पहिलो सिरिजका दुईवटा खेलमा पनि ४ विकेट लिन सफल भएका थिए । नेदरल्यान्ड्स र युएईविरुद्ध लिएकोसहित सन्दीपको विकेट संख्या ८ भएको छ।
ओमानविरुद्ध प्रभाव जमाउन नसकेका सन्दीपले युएईविरुद्ध भने १० ओभर बलिङ गर्दै २ मेडनसहित केबल २४ रन मात्रै दिएर ४ विकेट झारेका थिए ।
सन्दीपपछि नेपालका लाई आईसीसीबाट मान्यताप्राप्त ओडीआईमा सोमपाल कामीले ६ विकेट लिइसकेका छन् । उनले नेदरल्यान्ड्सविरुद्धको पहिलो वान डे सिरिजमा ४ विकेट झारेका थिए भने युएईविरुद्ध आज भएको खेलमा २ विकेट लिए ।
अर्को पनि कीर्तिमान
सन्दीपले अर्को पनि कीर्तिमान बनाएका छन् । उनी केबल २४ खेलमै ५० विकेट लिने पहिलो नेपाली क्रिकेटर पनि भएका छन् । सन् २०१६ मा विश्व क्रिकेट लीग च्याम्पियनसिप अन्तर्गत नामिबियाविरुद्ध टियु मैदाना डेब्यु गरेका उनले लिस्ट ए खेलमा आफ्नो विकेट संख्या पनि ५० पुर्याएका हुन् ।
अर्का क्रिकेटर वसन्त रेग्मीले पनि एसिया कप क्रिकेट छनोट अन्तर्गत युएईका २ विकेट लिएर लिस्ट ए मा विकेट संख्या ५० विकेट पुर्याए । वसन्तले युएईविरुद्धसहित ३८ खेल खेलिसकेका छन् ।
त्यसैगरी लिस्ट ए मा नेपालबाट सबैभन्दा पहिले ५० विकेट सोमपाल कामीले पुरा गरेका थिए । उनले अहिलेसम्म ४० खेलमा बलिङ गर्दै ५८ विकेट झारिसेका छन् ।
युएईविरुद्ध पनि नेपाल फिक्का
पहिलो खेलमा ओमानसँग ७ विकेटको लज्जास्पद हार ब्यहोरेको नेपाल दोस्रो खेलमा पनि युएईलाई नतिजा सुम्पिने अवस्थामा पुगेको छ ।
ताजा अवस्थामा ३९ ओभर खेलिसकेको नेपालले ७ विकेटको क्षतिमा केबल १२० रन बनाएको छ । तीन विकेट रहेको अवस्थामा नेपालले अझै १२६ रन बनाउनुपर्ने बाध्यता छ ।