सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा भोली हुने राष्ट्रिय सभा निर्वाचनको चहलपहल बढेको छ । निर्वाचनका मतदाता रहेका स्थानीय तहका प्रमुख तथा उपप्रमूख, जिल्ला समन्वय समितिका प्रमुत तथा उपप्रमुख, प्रदेश सभा सदस्यहरू मतदान केन्द्र रहेको वीरेन्द्रनगरमा केन्द्रित भएपछि सुर्खेतको चुनावी चहलपहल बढेको हो ।
राष्ट्रिय सभाको रिक्त महिला एक र अन्य समूहको एक गरी दुई पदका लागि हुने निर्वाचनमा आप्mना उम्मेदवारको पक्षमा मतदातालाई केन्द्रित गर्न दलहरूले आ–आफ्नै कार्यक्रम सञ्चालन गर्न शुरू गरेपछि सुर्खेतको वातावरण निर्वाचनमय हुदैं भएको हो । निर्वाचनको मतदान प्रक्रियामा सहभागि हुने प्रदेशका दशवटै जिल्लाका स्थानीय तह, जिल्ला समन्वय समितिका प्रमुख र उप–प्रमुख र जिल्लामा गएका प्रदेश सभा सदस्यहरूसँग उम्मेदवारहरूले होटेल र चिया पसलमै गएर भेटघाट गर्न थालेपछि पनि वातावरण निर्वाचनमय भएको स्थानीय तहका पदाधिकारीहरूले जानकारी दिए । ‘जिल्लाबाट वीरेन्द्रनगरमा आउने बित्तिकै राष्ट्रिय सभाका उम्मेदवारहरूले फोन गर्ने, भेट्नका लागि समय माग्ने काम निकै बढिरहेको छ ।’ कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले भने, ‘यो पटकको सुर्खेत आवागमनले प्रष्टै निर्वाचनको झल्को दिएको छ ।’ फोनबाट मत माग्ने, नेताहरूले आफ्नो नजिकमै रहन निर्देशन दिने कामले पनि पछिल्लो दुई दिनदेखि निर्वाचनको चहलपहल बढेको हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए । पार्टीका नेताहरू नै मतदाता भएकाले प्रष्ट राजनीतिक पहिचान भएका नेताहरू भन्दा स्वतन्त्रलाई आफ्नो पक्षमा पार्न सुर्खेतमा चहलपहल बढेको देखिन्छ ।
कसको मतभार कति
राष्ट्रिय सभाको निर्वाचनमा नेकपाका ३३ प्रदेशसभा सदस्य छन् । उनीहरूको मतभार एक हजार ५ सय ८४ रहेको छ । स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी एक सय १० मतदाता नेकपाको पक्षमा छन् । प्रतिमत १८ का दरले उनीहरूको मतभार एक हजार ९ सय ८० हुन आँउछ । यसले नेकपाको कुल मत तीन हजार ५ सय ६४ हुन आउँछ ।
यसैगरी ६ जना प्रदेश सभा सदस्य र ३९ जना स्थानीय तहका प्रमुख/प्रमुख नेपाली कांग्रेसका छन् । जसमा प्रदेश सभा सदस्यको दुई सय ८८ र स्थानीय तहको सात सय दुई गरी ९ सय ९० मतभार कांग्रेसको छ । एक प्रदेश सभा सदस्य र एक स्थानीय तहका पदाधिकारी गरी दुइजना मतदाता गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल को जम्मा मतभार ६६ छ । भने स्थानीय तहका ६ जना मतदाता स्वतन्त्र रहेको कर्णालीमा एक सय ८ मतभार स्वतन्त्रको देखिन्छ ।
नेकपाले आज मतदाता भेटघाट गर्दै
राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज आफ्ना मतदातासँग छलफल कार्यक्रमको आयोजना गरेको छ ।
पार्टीको प्रदेश कार्यालयमा बोलाइएको भेलामा कर्णालीका १० वटै जिल्लाका जनप्रतिनीधि, जिल्लाका इन्चार्ज/सचिव, प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष÷ सचिव बीच अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको नेकपा कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले बताए । ‘हामीले जनप्रतिनीधि (मतदाता) उम्मेदवार र प्रदेशस्तरीय नेता बीच छलफल गर्ने तयारी गरेका छौं ।’ उनले भने, ‘हाम्रा जनप्रतिनीधि र नेता बीचको अन्र्तक्रिया कार्यक्रम नै हुन सकेको छैन् । हामीले यो अवसरलाई प्रयोग गर्न खोजेका हौं ।’
कांग्रेसको आन्तरिक तयारी तिब्र
राष्ट्रिय सभाको चुनावका लागि नेपाली कांग्रेसले पनि आन्तरिक तयारी तिब्र पारेको छ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनका लागि जनप्रतिनीधि (मतदाता) सँगको समन्वयको जिम्मा सम्बन्धित जिल्लाका जिल्ला पार्टी सभापतिहरूलाई सुम्पेको छ ।
नेपाली कांग्रेसको प्रदेश कमिटी पूर्णता नपाएका कारणले जिल्ला सभापतिहरूलाई नै राष्ट्रियसभाको निर्वाचन परिचालनको जिम्मेवारी दिएको नेपाली कांग्रेसका सुर्खेत जिल्ला सभापति कमलराज रेग्मीले बताए । ‘प्रदेश कमिटीले पूर्णता नपाएका कारणले निर्वाचनका लागि सबै जिम्मेवारी जिल्ला सभापतिलाई सुम्पेको छ ।’ उनले भने, ‘अहिले जिल्ला सभापतिहरू निर्वाचनका लागि होमिनु भएको छ ।’
अलमलमा साना दल
राष्ट्रिय सभाको निर्वाचनका लागि कर्णाली प्रदेशमा रहेका साना दल तथा स्वतन्त्र जनप्रतिनीधि (मतदाता) हरू अलमलमा परेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी नेतृ तथा कर्णाली प्रदेश सभा सदस्य सोशिला शाहीले कुन दललाई समर्थन गर्ने भन्ने विषयमा पार्टीको कुनै निर्णय नआएको बताइन् । ‘पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा कुनै निर्णय आएको छैन् ।’ उनले भनिन्, ‘बुधबारसम्म केही निर्णय होला ।’