रमेश रावल
कालीकोट । ३६ वर्षदेखि निर्माणाधीन कालीकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कोटबाडा विमानस्थल परीक्षण उडानमै सीमित भएको छ । २०७३ माघ २९ मा परीक्षण उडान गरेको विमानस्थल सूचारु गर्ने सम्बन्धमा कसैले चासो नदिएपछि विमानस्थल सञ्चालनमा आउन नसेको हो ।
सरकारले परीक्षण उडान गरेको चार वर्ष बित्दासमेत कोटबाडा विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर र अन्य भवन नबनेपछि सञ्चालनमा आउन नसकेको स्थानीय गणेशबहादुर विष्टले जानकारी दिए । ‘विमानस्थलमा परीक्षण उडान मात्र गरियो’, उनले भने, ‘त्यसपछि भौतिक पूर्वाधार बनाउने कामनै सकिएको छैन, भने उडान त कल्पनाभन्दा बाहिरको कुरा हो ।’
विमानस्थलका विषयमा प्रत्येक नेता र राजनीतिक दलले चुनावी नारा बनाए पनि यत्रो लामो समयसम्म नियमित सञ्चालनभन्दा विमानस्थलका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणमा समेत कसैको ध्यान नगएको गुनासो नरहरिनाथ गाउँपालिकाका सामाजिक अभियन्ता वीरेन्द्रबहादुर बुढाले गरे । ‘विमानस्थल निर्माणको विषय पञ्चायतकालदेखि बहुदलीय व्यवस्थाको नारा बन्यो,’ उनले भने, ‘ठूलो संख्याको मत बटुल्न सबै नेता र राजनीतिक दलहरुले कोटबाडा क्षेत्रमा आउँदा विमानस्थललाई आफ्नो निर्वाचनको जितसँग जोडेर गए पनि पछि यसलाई प्राथमिकतामा पार्न नसक्दा अहिले स्थानीयले ठूलो आशा र भरोसा मानेको निर्माणाधीन विमानस्थल अहिले आएर समस्याका रुपमा परिणत भएको छ । कोटबाडा क्षेत्रकै मतबाट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीदेखि विभिन्न नेता तथा सांसद जिल्ला र गाउँ गएको समयमा विमानस्थललाई सूचारु गर्ने भाषण दिन नबिर्सने तर त्यसलाई सूचारु गर्न पहल कदमी पनि लिन नसकेका कारण विमानस्थल परीक्षणमै सीमित बन्न पुगेको बुझाई स्थानीयको छ ।
राजनीतिक खिचातानी र सरकारी बेवास्थाको शिकार बन्दा विमान चढ्ने यस क्षेत्रका बासिन्दाको सपना सपनामै सीमित भएको पूर्वजिल्ला विकास समितिका सदस्य कटकबहादुर बिष्टको ठहर छ । सडक सञ्जालले नछोएको नरहरीनाथ गाउँपालिकाका स्थानीयले एक दिनको पैतल दुरी हिंडेर राजमार्गमा पुग्नुपर्ने बाध्यता भएका स्थानीयले विमानस्थल सूचारु भए आफूलाई आवतजावतमा सहज हुने ठूलो आशा गरेका थिए,’ विष्टले थपे, ‘३६ वर्ष पुग्दासमेत विमानस्थलका अत्यावश्यक संरचना नबनेपछि अहिले स्थानीयले विमानस्थलको नामै लिन लाज मान्ने अवस्थामा छन् ।’
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले २०७३ माघ २९ गते आफै गएर परीक्षण उडान गरेपछि थप आशा पलाएको भए पनि पछिल्ला तीन वर्षमा त्यसलाई नियमित गर्ने कुरा प्रदेश र संघीय सरकारको प्राथमिकतामा नपरेको नरहरीनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले बताए ।
‘विमानस्थल सूचारु भई नियमित उडान भएको भए अछामको रामारोसन, बाजुरा, कालीकोटको त्रिवेणी पाटन र बडिमालिका जस्ता पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो हुन्थ्यो’ अध्यक्ष विष्टले भने, ‘विमानस्थललाई परीक्षण उडानमै सीमित पारेपछि न त्यस क्षेत्रका पर्यटकीय स्थलहरुको प्रचारप्रसार भयो न त त्यहाँ कुनै पर्यटकको आवागमन नै भयो ।’
गाउँपालिकालाई अहिलेसम्म पनि सडक सञ्जालले नजोडिएको उल्लेख गरेका उनले बिरामी हुँदा दुई दिनको पैदल हिडेर राजमार्गमा पुग्नुपर्ने बाध्यता भएको बताए ।
अझंै स्तरोन्नति हुदैं
२०४२ सालदेखि निर्माण शुरु भएको विमानस्थलमा अझैं स्तरोन्नतिको काम भैरहेको छ ।
संघीय सरकारको बजेटले धावनमार्गको कालोपत्रे गर्ने, रिपिटर टावर निर्माण लागि ठेक्का स्विकृत भएको नरहरिनाथ गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताइन् ।
‘विमानस्थलको स्तरोन्नतीको लागि अहिले ठेक्का प्रक्रियामा गएको छ ।’ उनले भनिन्, ‘धावनमार्ग र रिपिटर टावर बनेमा हामीले नियमित उडानको अन्तिम पहल थाल्ने छौं ।’ विमानस्थल बन्न थालेको दशकौं बितेको बताएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यले ठेकेदारलाई चाँडो काम सकाउन मन्त्रालयबाट निकै ताकेता गरेको उल्लेख गरे । उनले भने, ‘धावन मार्ग र अन्य पूर्वाधार निर्माणका काम भए नियमित उडान भर्न सकिनेछ ।’
नारामै सीमित
पञ्चायतकालमा निर्माण थालिएको विमानस्थलाई बहुदलीय व्यवस्था आएपछि पनि दलहरुले सधैँ चुनावी एजेण्डा बनाउँदै आए । यही विमानस्थललाई नारा बनाएर धेरै नेता केन्द्रीय मन्त्रीपरषद्मा समेत पुगे । तर, चुनाव जितिसकेपछि कसैले पनि यसको निर्माणमा खासै प्रयत्न नगरेको ठहर कोटबाडाका स्थानीयको छ ।
२०६४ को संविधानसभा चुनावमा सबै दलका उम्मेवारले विमानस्थल आफ्नो पहिलो प्राथमिकतामा परेको भन्दै भोट मागे । जस अनुसार स्थानीयनै उम्मेरदवार बनेका तत्कालीन नेकपा माओवादीका नेता खड्गबहादुर विश्वकर्माले त्यस क्षेत्रको ८० प्रतिशत मत प्राप्त मात्रै गरेनन् भारी मतान्तरले निर्वाचन जिते । पटक–पटक मन्त्री भएका नेता विश्वकर्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत भए । विमानस्थल निर्माणका बारेमा निकै सात करोड रकम विनियोजन गरे पनि तत्कालीन दलगत गुटका कारण रकम खर्चभयो तर खासै काम हुन सकेन ।
२०७० मा सम्पन्न संविधान सभाको निर्वाचनमा कोटबाडाकै बहुमत मत प्राप्त गरेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही निर्वाचित भए । ऊर्जा मन्त्रीसमेत भएका शाही २०७४ को प्रदेश सभाबाट त्यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएर हाल कर्णाली प्रदेशका मुख्यमन्त्री छन् ।
हरेक निर्वाचनमा चुनावी मुद्दा बने पनि कार्यान्वयनको प्राथमिकतामा कोटबाडा विमानस्थल नपरेको गुनासो स्थानीय वीरेन्द्रबहादुर बुढाको छ । उनले भने, ‘कोटबाडा विमानस्थल हरेक निर्वाचनमा मत बटुल्ने पेटिका भयो, नेतालाई सत्तामा पु¥याउने भ¥याङ भयो तर कहिल्यै यो नेताहरूको प्राथमिकतामा परेन ।’