हस्त बुढा
सुर्खेत । छाउपडी प्रथा उन्मुलनको महाअभियानमा जिल्लाका सरोकारवाला निकायले जिल्लाको छाउपडी अन्त्यका लागि साझा संकल्प गरेका छन् । महिलाको प्रत्यक्ष जीवनसँग जोडिएको महिनावारीलाई लिएर सामाजिक अन्धविश्वासका कारण गरिएको भेदभावलाई अन्त्य गर्न, महिला हिंसा, बालविवाह, बहुविवाह, घरेलु हिंसा मान्दैनौ, मान्न बाध्य पनि पार्दैनो भन्दै महायज्ञमा सांसददेखि जुम्लाका आठै स्थानीय तहका जनप्रतिनिधि संकल्प लिएका छन् ।
प्राय धार्मिक काममा मात्र गरिने महायज्ञ जुम्लामा महिनावारी हुँदा घरमा बस्नु हुन्न भन्ने धर्म तथा मानसिकताको अन्त्यकै लागि गरिएको महायज्ञमा जिल्लाका स्थानीय तह, सुरक्षा निकाय, नागरिक संगठन लगायतका सरोकारवाला निकायले शुक्रबार महायज्ञ सञ्चालन गरेका हुन् । सुदूरपश्चिम तथा कर्णालीमा चलेको छाउपडी प्रथा उन्मुलनको महाअभियानअन्तर्गत जुम्लामा गरिएको महायज्ञले यहाँका महिलाको मन भत्काउन ठूलो मद्दत गरेको ब्राम्हण रमान्नद आचार्यले बताए । उनले महायज्ञ मार्फत छाउपडीलगायत कुरितिहरुलाई स्वाँहा गरिएकाले अब कोही, कसैले छुई नबार्नसमेत सुझाव दिए । अन्य महायज्ञमा लाखौ दान दिएर पुण्य कमाउनुभन्दा यस्तो खालका महायज्ञबाट आम नागरिको जीवनमा सुधार ल्याउनका लागि साझा संकल्प गर्नुनै महान कार्य भएको दाबी गरे । धर्मले भन्दा कर्णालीमा महिनावारीले छेकेको छ । कर्णाली प्रदेशका सांसद पदम रोकायाले भने, ‘कर्णालीले छाउपडी उन्मुलनको अभियान लिएको छ । तर छाउपडी मुक्त जिल्ला घोषणाको अभियान जुम्लाबाट सञ्चालन गरिने बताइएको छ ।’
परम्परागत सोचाई भत्काउन महायज्ञ गर्नु नमूना कार्य भएको भन्दै जुम्लाबाट कर्णालीले धेरै सिक्नुपर्नेमा जोड दिए । महायज्ञमा होम गर्दै, ‘कुरिति अन्ततः स्वाहा’ भन्दै कर्णाली छाउपडी मुक्तको संकल्प गरेको उल्लेख कर्णाली प्रदेश सभा सदस्य रोकायाले गरे । चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले सधै धार्मिक कार्यमा गरिने महायज्ञ, जुम्लामा छाउपडी अन्त्यका लागि गर्नु गर्वको पक्ष भएको उल्लेख गरिन् । परिवर्तन आफैबाट शुरुवात गर्न आग्रह गर्दै मेयर सेजुवाल अबका महिला छाउगोठबाट मुक्ति खोजिरहेको आफ्नो पिंडाका लागि स्वयम् लड्न सक्षम हुन पनि आग्रह गरिन् । उनले आफू कहिले छुई नमान्ने र अब नगरपालिकालाई छुई मुक्त बनाउने संकल्प लिएको बताईन् । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले देवता रिसाउँछन् भनेर गोठमा बस्ने महिलालाई छाउपडी प्रथा उन्मुलन गर्न महायज्ञ लगाएपछि बल्ल अलि डर भत्किएको विश्वास व्यक्त गरे ।
कर्णालीमै जुम्लालाई छाउगोठ मुक्त जिल्ला घोषणाका लागि गरिएको साझा संकल्प कार्यान्वयनमा जोड दिन सरकोकारवाला निकायले आग्रह गरे । महिनाका पिंडा अन्त्य गर्नका लागि नेपालमै नमूना काम गर्न खोजिएको र यसमा जुम्लाबासीको पुर्ण साथ मिलेको उल्लेख गरेकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले महायज्ञ डर भत्काउने सुत्र मात्रै भएको जिकिर गरिन् । ‘अन्धविश्वास चिफार गर्ने जिम्मा अब स्वयम् महिलाकै रहेको छ ।’ उनले भनिन्, ‘जुम्लाको यस महानअभियानलाई प्रदेशदेखि संघीय मन्त्रालयले पनि चासोका साथ हेरेको र आवश्यक सहयोग समेत गरेको छ ।’
जिल्ला समन्वय समिति निमित्त प्रमुख जयराज भारती, तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीलगायत ब्राम्हण, महिला सञ्जाल, युवा क्लव, जन प्रतिनिधि, पत्रकारलगायत समग्र जुम्लाबासीले महायज्ञमार्फत छुई नमान्ने संकल्प गरेका छन् । छाउपडी प्रथा अन्त्यका लागि शुक्रबार गरिएको महायज्ञ सहितजुम्लामा सञ्चालन भएको छाउपडी उन्मुलनको महाअभियान पनि सम्पन्न भएको डिएसपी लालबहादुर धामीले बताए ।
महायज्ञमा सहभागी हुन संघीय सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ,, प्रतिनिधि सभा सांसद गजेन्द्र महत कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललगायत विशिष्ट पाहुना जुम्ला आउने कार्यक्रम भए पनि मौसम प्रतिकुलका कारण जान सकेनन् ।