असोज ११, काठमाडौं । संघीय संसदको दोश्रो अधिवेशन बिहीबारदेखि समाप्त भएको छ ।
प्रतिनिधिसभाको बिहीबार (आज) बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै (आज) बिहीबार रातीदेखि संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको दोश्रो अधिवेशन अन्त्य हुने घोषणा गरेका हुन ।
दोश्रो अधिवेशन अन्तर्गत २०७५ बैशाख २३ गते आइतबार पहिलो बैठक बसेको प्रतिनधिसभा बैठक असोज ११ गते सम्म गरी जम्मा १ सय ३५ दिन चालु चलेको थियो । यो अवधिमा संसदको ६९ दिनमा ७९ पटक बैठक बसेको थियो ।
नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था अनुशार नै दोस्रो अधिवेशनको अन्तय गरिएको संसद सचिवालयले जनाएको छ ।
आज सम्पन्न भएको अधिवेशनले चालु आर्थिक २०७५।७६ को सरकारको नीति तथा कार्यक्रम पास गर्दै कर प्रस्ताव बाहेक विनियोजन विधेयक माथि छलफल गरी सर्वसम्मतीले पास गरेको थियो ।
विभिन्न २६ वटा सरकारी विधेयक दर्ता भएकोमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ सम्बन्धित मन्त्रालयमा फिर्ता यही अधिवेशनमा भएको छ । दर्ता भएका सबै विधेयक मध्ये १८ वटा विधेयक संघीय संसदका दुवै सदनबाट पास भइसकेका छन ।
त्यसैगरी ६ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् भने राहदानी विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा सन्देश पठाइएको छ । राष्ट्रियसभामा उत्पति भई प्रतिनिधिसभामा पेश भएका विभिन्न ७ वटा विधेयक मध्ये ५ वटा विधेयक पारित भइसकेका छन ।
बाँकी दुई विधेयक राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल भएको छ । प्रतिनिधिसभामा नियमावलीमा भएको व्यवस्था अनुसार गत भदौ १८ गतेबाट मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सुरु गरेको थियो । यो अधिवेशनले केही अध्यादेशलाई स्वीकृत गर्नुको साथै विभिन्न अन्तर्राष्ट्रिय सम्झौता सम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको थियो । त्यसैगरी विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पनि यो अधिवेशनका बैठकमा पेश भएका थिए ।
यो अधिवेशनमा प्रतिनिधिसभाले महिला हिंसा विरुद्धको संकल्प प्रस्ताव सर्वसम्मति पास गरेको थियो ।