काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न समस्यालाई लिएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको बैठक भर्खरै सकिएको छ।
कोटेश्वरस्थित् नेपाल निवासमा भेला भएका दुवै पक्षका नेताहरूले आजको बैठकमा मन माझामाझ भएको प्रतिक्रिया दिएका छन्।
सरकारले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश ल्याएपछि नेकपाको विवाद सतहमा देखिएको थियो।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपालपक्षीय नेताहरूले असन्तुष्टि जनाएपछि सरकारले दुवै अध्यादेश फिर्ता गरिसकेको छ। तर, दाहाल, नेपाललगायतका नेताहरूले यसबारे छलफल गर्न तत्काल पार्टीको सचिवालय र स्थायी कमिटी बैठक बोलाउन माग गरिरहेका छन्।
यसबारे छलफल गर्न पूर्वएमालेका ओली र नेपालपक्षीय नेताहरूले पहिलोपटक छलफल गरेका हुन्। छलफलमा सहभागी नेपालपक्षीय नेता भीम रावलले प्रधानमन्त्री ओलीले पठाएका नेताहरूले पार्टीभित्र देखापरेका समस्या हल गर्न र पार्टीलाई एकताबद्ध बनाएर लैजान आग्रह गरेको बताए।
“उहाँहरूको ठोस प्रस्ताव त केही थिएन, बसेर छलफल गरौँ, कमीकमजोरी छन् भने समीक्षा गरौँ, अगाडि केही गर्नुपर्ने हो भने त्यो पनि कुरा गरौँ भन्नुभो”, रावलले भने, “हामीले पनि पार्टीलाई एकताबद्ध बनाउनकै लागि गलत अध्यादेशको विरोध गरेका हौँ, पार्टीभित्रका समस्या समाधान गर्न भोलि सचिवालय बैठक बसौँ, पर्सि नै स्थायी कमिटीको बैठक बसौँ भनेका छौँ। उहाँहरूले यो कुरा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीसमक्ष राख्छौँ भन्नुभएको छ।”
छलफलमा सहभागी नेपालपक्षका अर्का नेता रघुजी पन्तले पनि कुनै निर्णय नभएपनि भोलि सचिवालय बैठक बस्नेगरी टुंगिएको बताए।
“अहिले के भन्यौँ भन्दा सरकारका र पार्टीका विनापूर्वाग्रह समीक्षा गर्नुपर्छ र यो समस्याको निकास हामीले खोज्नु पर्छ। निकास पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको हैसियतमा ओलीजीले दिने हो। गतिरोध टुंग्याउने ढंगले निकास दिनुपर्छ भन्ने कुरा भयो”, नेता पन्तले भने।
छलफलमा ओली पक्षबाट नेकपा महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए भने नेपाल पक्षबाट स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त सहभागी थिए।
छलफलमा सहभागी अर्का एक नेताले दुवै पक्षबीच मन माझामाझ गर्ने काम भएको र सचिवालय तथा स्थायी कमिटी बैठकमा जाँदा कतिपय समस्या समाधान गरेर जाने समझदारी बनेको बताए।
यसअघि आज बालुवाटारमा प्रधानमन्त्री ओली र नेकपा वरिष्ठ नेता नेपालबीच छलफल भएको थियो। कोटेश्वरमा ओली र नेपाल पक्षका नेताहरुबीच छलफल भइरहँदा वरिष्ठ नेता झलनाथ खनाल भने अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका थिए।