काठमाडौं । गएको वैशाख २० गते बसेको पार्टी सचिवालय बैठकले बिहीबार बस्ने भनेर तय भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अघिल्लो दिन आएर स्थगित भएको छ ।
पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएपछि गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गर्न सहमत भएको बताइए पनि यस अघि बाहिर आएको पार्टी भित्रको विवादले थप चर्को रुप लिएपछि अन्तिम समयमा आएर बैठक स्थगित भएको स्रोतले जनाएको छ ।
स्थायी कमिटिको बैठकका लागि एजेन्डा तय गर्ने भनेर आज (बुधबार) स्थायी कमिटी बैठक पनि बसेको थियो । बैठकबारे जानकारी दिदै प्रवक्ता नरायणकाजी श्रेष्ठले बैशाख २० गतेको सचिवालयको बैठकले तय गरे अनुसारको स्थायी समितिको बैठकका लागि प्रस्ताव तयार गर्न दुई अध्यक्षबीच गृहकार्य बाँकी रहेको जानकारी बैठकमा गराइएको बताए ।
तर पार्टी महासुचिव विष्ण् पौडेलले बैठको आवश्यक तयारी नपुगेको भन्दै अध्यक्षद्धयको सल्लाहका आधारमा अन्तिम समयमा आएर स्थगित गर्ने निर्णय भएको जानबारी दिए । उनका अनुसार आज स्थगित भएको अर्को बैठकको मिति तय नभएपनि बिस्तारै पछि तय हुनेछ ।
‘कार्यकारी अध्यक्ष प्रचण्ड र आफूले प्रस्ताव तयार पार्न नभ्याएको र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली थाकेका कारण स्थायी कमिटीको बैठक सार्नुपरेको हो’ महासचिव पौडेलले भने, ‘अध्यक्ष प्रचण्ड र मलाई सचिवालयले प्रस्ताव तयार गर्ने जिम्मेवारी दिएको थियो । जस अनुसार हामीले प्रस्तावै तयार गर्न भ्याएनौं । अब प्रस्ताव पनि तयार गर्ने र सचिवालयमा प्रस्तुत गर्ने भन्ने भएको छ ।’
बिहीबार ११ बजे धुम्बाराहीस्थित पार्टी कार्यालयमा स्थायी कमिटीको बैठक बस्ने बारेमा सबै स्थायी कमिटिका नतोहरुलाई पार्टी कार्यालयले एसएमएसबाट खबर यस अघि नै गरिसकेको थियो ।
बैठकका लागि ऐजेण्डा तय गर्ने बारेमो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा नेताहरु बिच मत विभाजन भएर बैठकले निर्णय गर्न नसक्दा भोलीको बैठक स्थगित भएको स्रोतले जानकारी दियो ।
बुधबार बालुवाटारमा बस्ने सचिवालय बैठकले विहीबारको बैठकका लागि प्रस्ताव तय गर्ने भनिएको थियो । सचिवालयका एक नेताले नेपालबोटर्लाइ भने, ‘तर, बुधबार बसेको सचिवालय बैठकमा भाँडभैलो भएपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली बैठकबाट उठेर शयन कक्षतिर लाग्नुभयो त्यसपछि सचिवालयले एजेण्डा नै तय गर्न सकेन । जसको परिणाम स्थायी कमिटी बैठकसमेत अनिश्चितकालका लागि स्थगित हुने अवस्थामा पुगेको हो ।’
उपाध्यक्ष गौतम खुमलटार पुगेपछि भाँडभैलो शुरु
सचिवालयको गएको साताको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेपछि उनी हौसिएर शनिबारको बैठकमा ओली पक्षमा खुलेरै समर्थन गरेका थिए । उनकै वामदेवकै कारण शनिबार ९ सदस्यीय सचिवालयमा ओली पक्षको बहुमत पुगेको थियो, जसका कारण प्रचण्ड–माधव समूह रक्षात्मक स्थितिमा पुगेको थियो ।
तर, केपी ओली समूहमा लागेका नेता गौतम बुधबार बिहान अकस्मात प्रचण्ड निवास खुमलटार पुगेपछि । सचिवालयको शक्ति सन्तुलनमा फेरि गडबडी आयो ।
‘बैठकका प्रस्तावबारे छलफल गर्न’ भन्दै प्रचण्डनिवासमा पुगेका गौतमले आफूलाई केपी ओलीले धोका दिएको र आफू माधव(प्रचण्ड खेमामै रहेको बताउन भ्याए ।
यसरी वामदेव गौतमले एकाएक साथ छाडेर प्रचण्ड खेमामा लाग्ने प्रष्ट संकेत दिएपछि प्रधानमन्त्री ओली पुनः अल्पमतमा परेको र सचिवालय बैठक टारेको संस्थापन इत्तर पक्षका नेताहरुको दाबी छ ।