हुम्ला । कोरोना भाइरसको प्रारम्भीक परिक्षण नेगेटिभ भएपछि अदानचुली गाउँपालिकाले व्यवस्थापन गरेको क्वरेन्टिनमा बसेका २३५ जनालाई गाउँपालिकाले आज (शनिबार) घर पठाएको छ। ।
सरकारले निर्धारण गरेको मापदण्ड अनुसार १४ दिनको क्वारेन्टिनको बसाई सकेपछि उनीहरुलाई घर पठाइएको गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए ।
काठमाडौ, नेपालगञ्ज, सुर्खेतलगायतका नेपालकै विभिन्न शहरबाट आएका २ सय १४ जना र भारतबाट आएका २१ जना गरी २ सय ३५ जना सबैलाई कोरोना भाइरसको संक्रमण नदेखिएपछि पालिकाले घर पठाएको गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिए ।
उनका अनुसार बैशाख १८, १९, २० र २१ गते देखी क्वारेन्टिनमा बसेका सबै शनिबार देखी घर फिर्ता भए पछि आजबाट अदानचुलीका सबै क्वारेनटाईन खाली भएको हो ।
गाउँपालिकाले जनकल्याण आधारभुत बिद्यालयमा २१ जना, मण्डाल्नी प्राथमिक बिद्यालयमा १६ जना, हिमालचुली आधारभुत बिद्यालयमा ३ जना, ज्ञानोदय माध्यामिक बिद्यालयमा १६ जना, छत्रपाल आधारभुत बिद्यालयमा ४२ जना, सुर्योदय माध्यमिक विद्यालयको छात्रबासमा २९ जना, सुर्योदय माध्यमिक विद्यालयको भवनमा १९ जनालाई करेन्टिनमा राखेको थियो । त्यसैगरी सल्लाघारी माध्यमिक विद्यालयमा २१ जना, फिन्गौणामा १२ जना, गल्फागाड प्राथमीक बिद्यालयमा ६ जना, डाहालमा १५ जना, सर्किदेउ प्राबिमा ५ जना र कैलाशपुरी माध्यामिक बिद्यालयमा ३० जना गरी जम्मा २३५ जना क्वारेन्टिनमा राखेको थियो ।
हुम्ला जिल्लाको बिच भागमा रहेको सर्केगाड गाउँपालिकाले ब्यबस्थापन गरेको क्वारेनटाईनमा बसेका ११ जनालाई आज घर पठाइएको अहेब बुढाले बताउनु भयो । उहाँका अनुसार वडा नम्बर १ जैरको डोर्का क्वारेनटाईनबाट ८ जना र नाउली क्वारेनटाईनबाट ३ जनालाई १४ दिन क्वारेनटाईनबाट साधारण चेकजाँच गरी घर फिर्ता पठाइएको बताए ।