आजको बैठकमा एनके प्रसाइँ, पेशल खतिवडा, योगेश भट्टराई, मातृका यादव र लिलामणि पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले नाममा दल दर्ताका लागि दिइएको निवेदनका विषयमा आफ्नो विचार राखेका थिए ।
बैठकस्थलमै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा भोलिसम्मका लागि स्थगित गरेर वार्ता गर्ने विषयमा छलफल भए अनुसार आजको बैठक स्थगित भएको दावी स्रोतले गरेको छ । बैठक अब भोलि बिहान ११ बजे बस्नेछ ।
बैठकमा भने सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएकाले नेताहरु कार्यक्रममा सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गर्ने प्रस्ताव गरिएको थियो ।
भोलिसम्म कुनै सहमति होला ?
प्रधानमन्त्री ओलीले बुधबार बिहान केही स्थायी कमिटी सदस्यसँग परामर्श गरेका थिए । जहाँ पर्यटनमन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भुषालले वार्ता तथा संवादबाटै निकास निकाल्न ओलीलाई सुझाव दिएका थिए । उनीहरुले आग्रह गरे अनुसार नै नेकपा स्थायी कमिटी बैठक भोलिसम्म स्थगित भएको छ ।
दुवै पक्षबीच अनौपचारिक संवाद पनि सुरु भएको एक सचिवालय सदस्यले जानकारी दिए । तर, एकले अर्कालाई विश्वास गर्ने वातावरण तयार गर्न एक दिनको छलफल पर्याप्त नहुने ती नेताको तर्क छ ।
बैठक स्थगित भएपछि नेताहरु औपचारिक कार्यक्रमपछि अनौपचारिक छलफलमा जुटेका छन् । सचिवालयका ९ जना सदस्य नै सक्रिय भएका छन् । दोस्रो पुस्ताका नेताहरु पनि अनौपचारिक छलफलमा जुटेका छन् ।
नेकपा महासचिव विष्णु पौडेलले सहमति र सबै नेताहरुबीचको एकता नै अहिलेको मुख्य आवश्यकता भएको बताएका छन् । स्रोतका अनुसार उनीसहितका नेताहरु सहमतिको प्रयासका लागि दुवै पक्षसँगको छलफलमा लागेका छन् ।
दुवै पक्षका आन्तरिक बैठक
सहमतिका लागि गर्नुपर्ने प्रयास भन्दा पनि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओली र उनी निकट नेताहरु अहिले छलफलमा जुटेका छन् । त्यस्तै प्रचण्डसहितका अन्य नेताहरु पनि आन्तरिक छलफलमा जुटिरहेका स्रोतको भनाइ छ ।
अहिलेसम्मको अवस्था हेर्दा दुवै पक्षले एकले अर्कोलाई दबाब बढाउनेगरी छलफल चलिरहेको छ । प्रधानमन्त्री ओलीले आफू निकटसँग अबका विकल्पमा छलफल गरिरहेका छन् भने प्रचण्डसहितका नेताहरुले अब कसरी अगाडि बढ्ने भन्नेमा केन्द्रित भएर छलफललाई अगाडि बढाएका छन् ।
प्रचण्ड निकट एक स्थायी कमिटी सदस्य भन्छन्, 'महेश बस्नेतलाई लगाएर उहाँले पार्टी नै दर्ता गरेपछि अब छलफलले निकास निस्किने सम्भावना कम देखिएको छ । तर पनि उहाँले एक पद छाड्ने र गल्ती स्वीकार गर्नेगरी बैठकमा प्रस्तुत हुँदा सहमतिको वातावरण बन्ने थियो । उहाँले अहिले पनि सहमति भन्दा पनि फरक ढंगले पार्टी सञ्चालन कसरी गर्ने भन्नेमा छलफल केन्द्रित गरेकाले सहमतिको सम्भावना कम छ ।'
त्यस्तै ओली निकट एक स्थायी कमिटी सदस्य भन्छन्, 'विधि, प्रक्रिया र पार्टी एकताको भावना विपरित प्रधानमन्त्री ज्यूलाई घेराबन्दीमा पारियो । यो घेरा तोड्न हामी सक्षम छौँ । अध्यक्षकै निर्देशनमा पार्टी दर्ता गरेको प्रमाण दिनुपर्छ । अहिलेसम्मको अवस्था हेर्दा निकास सरल छैन ।'