काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच गृहकार्य पूरा नभएका कारण सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक बुधबारका लागि सारिएको छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार बालुवाटारमा भएको भेटवार्ताकै क्रममा बैठक सारिएको हो । स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्षबीच छलफल गरी एउटा निष्कर्षमा पुगेपछि मात्र बस्ने सहमति भएअनुसार बैठक सारिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले अध्यक्षद्वयबीच सहमति भएर नै बुधबारका लागि स्थायी कमिटीको बैठक सारिएको बताए । उनका अनुसार दुई जनाको बीचमा पार्टीको समग्र विषयवस्तुमा छलफल भएको छ तर निष्कर्षमा आएको छैन । छलफललाई निरन्तरता दिने सहमति भने भएको छ ।
स्थायी कमिटी सदस्य तथा महासचिव विष्णु पौडेलले भने, ‘दुवै अध्यक्षको बीचमा छलफल भइरहेको छ, आशा गरौँ भोलिसम्म केही न केही सहमति हुन्छ ।’ ‘दुई अध्यक्षबीच एक्लाएक्लै कुराकानी भएको छ । छलफल सकारात्मक भएको छ’ भन्दै उनले थपे, ‘अन्य शीर्ष नेताहरूको बीचमा पनि छलफल भइरहेकाले निष्कर्ष आउन सक्ने छ ।’
पार्टी एकतालाई कायम राख्न नयाँ ढङ्गबाट सहमति गर्दै अगाडि बढ्ने दिशामा दुवै अध्यक्ष लागिरहनुभएको बताइएको छ । उच्च स्रोतका अनुसार पार्टी एकतामा असर नपुग्ने गरी सहमतिका आधारहरू खोज्नेतर्फ अध्यक्षद्वयको वार्ता अगाडि बढेको छ ।
यही असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको कुरा उठेपछि पार्टीभित्र विवाद चुलिएको हो ।
प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि घटनाक्रम विवादतिर मोडियो । त्यसलगत्तै प्रधानमन्त्री ओलीले मदन भण्डारी जन्मजयन्तीको अवसरमा आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरूले साथ दिएको अभिव्यक्ति दिनुभएपछि स्थायी कमिटी बैठक नै प्रभावित भएको थियो । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।