प्रचण्ड, माधव नेपाललगायतका नेताहरू प्रधानमन्त्री ओलीलाई जसरी पनि पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन चाहान्छन्।
प्रधानमन्त्री ओली कुनै पनि हालतमा दुवै पद नछोड्ने अडानमा छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको रिले ‘सकारात्मक’ कुराकानी जारी छ।
आज पनि तीन घण्टाभन्दा बढी समय कुराकानी भयो।
प्रचण्ड, माधव नेपाल लगायतका नेताहरू प्रधानमन्त्री ओलीलाई जसरी पनि पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन चाहान्छन्।
प्रधानमन्त्री ओली कुनै पनि हालतमा दुवै पद नछोड्ने अडानमा छन्। दुई समूहको परस्पर विरोधी अडानले राजनीतिक बजारमा अन्योलको धुँवा पुत्पुताएको छ।
त्यही धुवाँ देखेर धेरैले अड्कल काटेका छन्, नेकपाको जेट कतै दुर्घटना उन्मुख त छैन?
“छैन्,” एक स्थायी समिति सदस्य भन्छन्, “प्रचण्ड र माधव नेपालको समीकरण टिक्ने समीकरण नै होइन।”
किन ?
उनले भने, “दुवैको स्वार्थ नै यस्तो छ, जसले उहाँहरूलाई मिल्नै दिँदैन।”
प्रचण्ड र माधव नेपालको तत्कालीन र दीर्घकालीन स्वार्थलाई हेरौं।
दुवैको तत्कालीन स्वार्थ भनेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा पदबाट हटाउने हो। तर, त्यो कुन पदबाट हटाउने भन्ने कुरा चाहिँ आफ्नो दीर्घकालीन स्वार्थमा अडिएको छ।
प्रचण्ड र नेपाल के चाहन्छन्?
प्रचण्ड ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन चाहन्छन्।
ओलीलाई तत्काल पार्टी अध्यक्षबाट हटाउने उनको माग र इच्छा दुवै होइन। त्यसैले उनी निकट पूर्वमाओवादी नेताहरूले एक पद छोडे कुरा मिल्ने बताइरहेका छन्।
पूर्वमाओवादीहरूले भनेको त्यो एक पद प्रधानमन्त्री हो। प्रचण्डले समेत स्थायी समितिको बैठकमा आफूले आलोपालो प्रधानमन्त्रीको सहमति छोडेर गल्ती गरेको महसुस भएको बताइसकेका छन्।
अहिले अध्यक्ष र प्रधानमन्त्री हुन पाए अब आउने पार्टीको महाधिवेशनमा सबै पक्षलाई पाखा लगाएर पार्टीको एकल अध्यक्ष आफंै बन्ने दाउ प्रचण्डको छ। ठूलो पार्टीको अध्यक्ष र प्रधानमन्त्री हुन पाए आफूमाथि लागेका सबै राजनितीक र आर्थिक मुद्दालाई पार लगाउन सकिने उनको बुझाइ छ।
पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता नेपालको दाउ चाहिँ अर्कै छ। नेपाल पक्ष एक व्यक्ति एक पदमा जानुपर्नेे बताइरहेको छ।
त्यो स्थितिमा प्रधानमन्त्रीले अध्यक्ष पद छोड्नु पर्ने नेपाल पक्षको माग छ। एक व्यक्ति एक पद भए आफू पार्टीको अध्यक्ष बन्ने दाउ नेपालको छ।
प्रधानमन्त्रीले अध्यक्ष पद छोडे प्रधानमन्त्री र अध्यक्ष दुवै पद पूर्वएमालेसँग रहने र पार्टी पूर्व माओवादीको हातमा नजाने भन्दै ओली पक्षीय नेतालाई ‘कन्भिन्स’ गर्न प्रयास गरिरहेका छन्।
तर, प्रधानमन्त्री ओली वैधानिकरूपमा महाधिवेशन नभएसम्म अध्यक्ष पद कुनै हालतमा नछोड्ने मुडमा छन्। “बरू भोलि महाधिवेशन गरांै,” प्रधानमन्त्री ओलीले आफ्ना निकटसँग भन्ने गरेका छन्, “म तयार छु।”
तर, छिटो महाधिवेशन गर्न न प्रचण्ड तयार छन् न माधव नेपाल। किनकी दुवैजनालाई अध्यक्ष पदमा जित्छु भन्ने विश्वास छैन।
प्रधानमन्त्री ओलीले आफू अब अध्यक्ष पदमा चुनाव नलड्ने बताएपछि प्रचण्ड र नेपाल दुवैले आफ्नो प्रतिस्पर्धा अब एक–अर्कासँग हुने हो भन्ने राम्ररी बुझेका छन्।
त्यसैले प्रचण्डलाई प्रधानमन्त्री र माधव नेपाललाई अध्यक्ष पद चाहिएको हो। अर्का पूर्वप्रधानमन्त्री एवम् एमालेका पूर्वअध्यक्ष खनालको पनि आफ्नै दाउ छ।
प्रधानमन्त्री ओलीलाई साथ दिएर दल विभाजनका लागि सहयोगी बनेको आरोप राष्ट्रपतिमाथि लगाउँदै महाअभियोगको बलमा उनी शीतल निवास प्रवेश गर्न चाहन्छन्।
नेकपाको आन्तरिक राजनीतिमा खास प्रभाव नराख्ने खनालको ईच्छा शीतल निवास प्रवेश गरेर बाँकी जीवन आरामपूर्वक बिताउने मात्र हो।
महाधिवेशनले निर्वाचित गरेको अध्यक्ष पद अर्को महाधिवेशन नआई किन छोड्ने? ओली पक्षले चित्तबुझ्दो जवाफ पाएको छैन।
त्यसमाथि पूर्वमाओवादी र एमालेका नेताहरूले प्रचण्ड र नेपालबाट पार्टी नचल्ने भन्दै अध्यक्ष पद नछोड्न दबाब बढाइरहेका छन्।
प्रधानमन्त्री पद पनि किन छोड्ने? आफ्नो नेतृत्वमा नेकपाले बहुमत ल्याएको र निर्वाचनमा स्थायित्वको नाराले जितेको हुनाले पाँच वर्ष निर्वाधरूपमा सरकार चलाउन पाउनुपर्ने ओली पक्षको भनाइ छ।
त्यसमाथि अहिले झन् मुलुक कोरोनासँग युद्ध लडिरहेको छ। आर्थिक संकट आउँदैछ। राष्ट्रिय एकता कायम गरी भारतसँग दरिलो तरिकाले वार्तामा बस्नु छ।
“युद्धमा कमाण्डरलाई प्रश्न होइन साथ चाहिन्छ,” एक स्थायी समिति सदस्य भन्छन्, “धेरै युद्धका कमाण्डरले राम्रो काम नगर्दा बरू पछि मारिएका छन्। तर युद्धमा तिनले साथ पाएका छन्। प्रचण्ड र नेपाललगायतका नेताले आफ्नो भविष्य बचाउन तीन करोड नेपालीको वर्तमान र भविष्य दुवैलाई जोखिममा पारेका छन्। हेराैं के हुन्छ ?”