काठमाडौं । भारतीय सञ्चारमाध्यमबाट नेपाल र नेपालका राजनीतिज्ञहरूलाई जोडेर प्रसारित आपत्तिजनक सामग्रीको विरोधमा नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाएको छ ।
नेपाल र नेपालको नेतृत्वको भावनामा आघात पुगेको भन्दै दिल्लीस्थित नेपाली दूतावासले शुक्रबार भारतीय विदेश मन्त्रालयमार्फत औपचारिक रुपमै ‘कूटनीतिक नोट’ दिएको हो ।
नेपाल र नेपालका राजनीतिज्ञहरूलाई जोडेर भारतीय सञ्चारमाध्यमबाट प्रसारित आपत्तिजनक सामग्रीको विरोधमा नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाएको छ । दिल्लीस्थित नेपाली दूतावासले शुक्रबार भारतीय विदेश मन्त्रालयमार्फत त्यस्तो नोट दिएको हो । नोटमा केही भारतीय सञ्चारमाध्यमबाट प्रसारित घृणित सामग्रीप्रति भारत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै ती सामग्रीहरु गलत, आधारहीन र असंवेदनशील भएको तथा नेपाली जनता र नेतृत्वको अपमान गरेको जनाइएको छ । ‘यस किसिमका सामग्रीलाई लिएर भारती विदेश मन्त्रालयमार्फत भारत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं, साथै यस्ता सामग्रीले भ्रम सिर्जना गर्नुका साथै सभ्य समाजको सामाजिक मर्यादा र शिष्टाचारको समेत ख्याल नगर्नुका साथै नेपालीको भावना र नेपाली नेतृत्वको व्यक्तित्वमा समेत चोट पुगेको उल्लेख गरिएको छ’ नोटमा उल्लेख छ ।
नोटमा नेपालले भारतीय मिडियाबाट प्रसारित समाचार सामग्रीहरु आपत्तिजनक र निनन्दीय हुनुका साथै प्रेस स्वतन्त्रताको लक्ष्मण रेखासमेत नाघेको जनाइएको छ । ‘दुई देशबीचको गहिरो र बहुआयामिक सम्बन्ध विशेषगरी समान सार्वभौमिकता, मित्रता र एक–अर्काका रुचि र चासोको पारस्परिक सम्मानमा आधारित छन्, तिनलाई थप सुदृढ बनाउन मिडियाको ठूलो भूमिका हुन्छ, हामी प्रेस स्वतन्त्रताको सम्मान गर्छौं, मिडियाले शिष्टता र मर्यादाको सीमा नाघ्नु हुँदैन,’ नोटमा छ, ‘तर, भारतीय मिडियाबाट प्रेस स्वतन्त्रताको लक्ष्मण रेखा नाघ्ने काम भएको छ ।’
त्यसैगरी नेपालका अर्का मित्र राष्ट्रका प्रतिनिधिलाई अनावश्यक रुपमा विवादमा तान्ने काम भएकामा समेत आपत्ति जनाइएको छ । नेपालका सम्बन्धमा भारतीय मिडियाबाट प्रसारित आपत्तिजनक सामग्रीविरुद्ध तत्काल कदम चाल्न र त्यस्ता सामग्रीले भविष्यमा भारतीय मिडियामा स्थान नपाउने सुनिश्चितता गर्नसमेत नोटमा आग्रह गरिएको छ ।
भारतीय सञ्चारमाध्यमले केही सातायता प्रसार र प्रकाशन गरेका समाचार सामग्रीलाई लिएर नेपालमा विरोध हुँदै आएको थियो । भारतीय टिभी च्यानल जी न्यूजले ओली र चिनियाँ राजदूतलाई जोडेर एउटा विशेष कार्यक्रम नै चलाएपछि विरोध थप चर्किन पुग्यो । जसमा प्रधानमन्त्री ओली चिनियाँ राजदूतको मायामोहमा फसेको आरोप लगाइएको थियो । जी न्यूजको त्यस समाचार सामग्रीलाई लिएर नेपालमा नागरिकस्तरबाट मात्र नभएर मन्त्री, पूर्वकूटनीतिज्ञ र राजनीतिज्ञबाट समेत चर्को विरोध जनाइएको थियो । त्यसपछि नेपालमा भारतीय न्यूज च्यानलहरू नै बन्द गरिएको छ । त्यसैगरी अघिल्लो साता भारतीय अंग्रेजी दैनिक टाइम्स अफ इन्डियामा नेपालबारे लेखिएको ‘ओलीको राजनीतिक संकट’ शीर्षकको सम्पादकीयमा प्रधानमन्त्री ओलीलाई पार्टीभित्रैबाट संकट रहेको देखाउन ओलीको मुहार भएको एउटा हिमाली याकको शरीरभरि वाणैवाण प्रहार भएको कार्टुन राखिएको थियो । उक्त काटुर्नलाई लिएर पनि नेपालमा चर्को विरोध भएको थियो ।
यसै विषयलाई लिएर गत बिहिबार दूतावासले भारतको विदेश मन्त्रालयलाई मौखिक रुपमा समेत ध्यानाकर्षण गराएको थियो । भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्यले भारतीय मिडियामा आएका सामग्रीका सम्बन्धमा विदेश मन्त्रालयका उच्च अधिकारीहरुसँग सम्पर्क गरेर असन्तुष्टि प्रकट गरेका थिए । त्यसक्रममा उनले भारतीय मिडियामा आएका सामग्रीहरु आपत्तिजनक र निन्दनीय रहेको र त्यसलाई लिएर भारतका सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका थिए । राजदूत आचार्यले जी न्यूजका सञ्चालक सुभाषचन्द्र गोयन्कासँग समेत कुरा गरेका थिए । त्यसपछि उक्त टिभी च्यानलले प्रधानमन्त्री ओलीसँग सम्बन्धित सामग्रीलाई लिएर माफी मागेको थियो ।