काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक अनिश्चित बनेको छ ।
गएको बुधबारदेखि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच संवाद हुन सकेको छैन । विभिन्न नेताले पार्टी एकता बलियो हुन थालेको, सहमति उन्मुख भएको बताए पनि नेकपाको विवाद थप उत्कर्षमा पुगेको एक सचिवालय सदस्य बताउँछन् ।
स्थायी कमिटी बैठक झण्डै दुईहप्तादेखि बस्न सकेको छैन । पछिल्लो पटक एकहप्ताका लागि स्थगित गरिएको स्थायी कमिटी बैठक पनि अनिश्चित बनेको छ । बाढी र पहिरोलगायतका प्राकृतिक विपत्तिमा लाग्ने कारण देखाइए पनि दुई अध्यक्षबीचको संवादका लागि बैठक स्थगित गरिएको थियो । तर, अध्यक्षद्वयबीच बाहिर सहमति जस्तो देखिए पनि संवाद नै हुन सकेको छैन ।
दुईहप्ता देखिको संवादका क्रममा पनि आरोप प्रत्यारोप र अडानमै अध्यक्षद्वयको भेटवार्ता सकिएको थियो । एक सचिवालय सदस्य भन्छन, ुपार्टी एकातिर र सरकार अर्कोतिर हुने वातावरण अन्त्य गरौँ भनेको हो । तर यहाँ त पार्टी नै विभाजन गर्नका लागि पहिलो अध्यक्षबाट विभिन्न काम भएको देखिएको छ । त्यसैले अहिले संवादले निकास दिने अवस्था देखिदैन । अहंकार र घमण्ड त्यागेर आउनु भयो भने कुरा ठूलो थिएन, समाधान हुने कुरा नै थियो । बरु प्रधानमन्त्री ओलीले विभिन्न अध्यादेशका लागि छलफल गरिरहनु भएको छ ।ु
ओली निकट स्थायी कमिटी सदस्य भन्छन्, 'अहिले ओलीलाई अध्यक्षबाट हटाउन मिल्दैन । उहाँलाई प्रधानमन्त्रीबाट हटाउनका लागि संसदीय दलमा बहुमत सावित गर्नुपर्छ । त्यसैले यी दुई कुराबाहेकमा अर्को पक्ष आयो भने सहमति बन्छ । अहिले त्यो सम्भावना देखिँदैन । यस्तो अवस्थामा विद्यमान कानुनको दायरामा रहेर चालिने कदमलाई सबैले सम्मान गर्नुपर्छ । यो वा त्यो भनेर आलोचना गर्ने काम राम्रो होइन् । घेरावन्दी पार्ने काम गलत हो ।'
सचिवालयका बहुसंख्यक सदस्य पनि पार्टी एकताको सहमतिलाई पालना गर्ने अर्थात आलोपालो प्रधानमन्त्री वा एकजनाले पाँच वर्ष प्रधानमन्त्री र अर्कोजनाले पाँचै वर्ष पार्टी अध्यक्षकोरुपमा काम गर्ने कुरालाई प्राथमिकता दिएका छन् । योबीचमा प्रधानमन्त्री निकट व्यक्तिहरुले निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी गठन गरेका र दुई प्रकारका अध्यादेशमा ओलीले जोड दिएका छन् । यसले ओली शक्तिको गलत प्रयोगमा लाग्ने संकेत देखिएको छ ।
बुधबार ओली र प्रचण्डबीचको संवादले विवादलाई थप उत्कर्षमा पुर्यायो । त्यसपछि ओली र प्रचण्डबीच संवाद हुन सकेको छैन । यहीँबीचमा ओली निकट नेताहरु महासचिव विष्णुप्रसाद पौडेल, सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र शंकर पोखरेल प्रचण्ड निवास पुगेर छलफल गरे ।
ओली निकट नेताहरुले पार्टी एकतालाई बचाइराख्न प्रचण्डलाई आग्रह गरे । उनीहरुको आग्रहमा बैठक स्थगित त भयो, तर संवाद भने हुन सकेको छैन । चार चार पटक स्थगित भएको बैठक फेरि पनि अन्यौलमा परेको छ । प्रचण्ड काठमाडौं फर्किएपछि ओलीसँग हुने संवादले नै नेकपाको भविष्य निर्धारण गर्ने देखिन्छ । प्रचण्ड काठमाडौं बाहिर गएपनि काठमाडौंमा भएका दुवै पक्षका नेताहरुले थप शक्ति संचय गर्नेगरी क्रियाकलाप अगाडि बढाएका छन् ।