काठमाडौं । पार्टीको आन्तरिक विवदाका बारेमा अनेक चर्चा चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष प्ष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानमन्त्री केपीशर्माओलीले आफूलाई थकाई लागेको उल्लेख गरेका छन् ।
सरकारी निवाश वालुवाटारमा भएको अध्यक्षद्वय बीचको भेटवार्तामा ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीलाई भेट्न आज मध्यन्न १२ बजे बालुवाटार पुगेका प्रचण्डसँग उनले यस्तो बताएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
नेकपा अध्यक्षद्वयबीच बुधबार बेलुकीदेखि संवाद हुन सकेको थिएन । यो बीचमा प्रचण्ड गृहनगर चितवन पुगे ।
चितवनबाट सोमबार काठमाडौं फर्किएका प्रचण्ड खुमलटारमै आराम गरेर बसिरहेका थिए । त्यहीँबीचमा बालुवाटारमा ओलीलाई भेटेर महासचिव विष्णु पौडेल सोमबार बेलुकी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगे । उनको उद्देश्य दुवै अध्यक्षबीच संवाद गराउनु थियो।
महासचिवले ओली र प्रचण्डबीच भेटवार्ता तय गरेका थिए । त्यसैअनुसार बालुवाटार पुगेका प्रचण्डलाई ओलीले सुरुवाती राम्रो रेस्पोन्स गरेनन् । एक सचिवालय सदस्यका अनुसार सुरुको ३० मिनेट भन्दा धेरै समयसम्म ओलीले प्रचण्डलाई अर्को कार्यक्रम भनेर कुराए ।
आधा घन्टापछि आइपुगेका ओली र प्रचण्डबीच शिष्टाचारमात्र कुराकानी भयो । प्रधानमन्त्रीले अयोध्याका विषयमा दिएको अभिव्यक्ति र प्रचण्डको चितवन भ्रमणलगायतका विषयमा छलफल भयो । प्रचण्डले चितवनबाट दिएका अभिव्यक्तिका विषयमा सामान्य छलफल भयो ।
त्यस लगत्तै प्रचण्डले विषयबस्तु प्रवेश गराउन खोजे । उनले भने, 'आम जनता र कार्यकर्ताको चाहना अनुसार पार्टी एकता बचाएर जाऊँ, विषयबस्तुमा छलफल गरौँ ।'
तर, ओलीले त्यसको उत्तर दिएनन् । उनी निकै थाकेको जस्तो देखेपछि प्रचण्डले 'तपाईँको स्वास्थ्य कस्तो छ ? भनेर फेरि सोधे । ओलीले विषयबस्तु प्रवेश गर्न चाहेनन् । उनले भने, 'मेरो स्वास्थ्य राम्रो छ । तर, हल्का थकान छ । मलाई थकाइ लागेको छ । त्यसैले हो ।'
ओलीको उत्तर सुनेपछि प्रचण्डले भने, 'तपाईँ आराम गर्नुस् । भोलि विषयबस्तुमा प्रवेश गरौँला । हामी समस्या समाधान गरेर अगाडि बढ्नुपर्छ ।' त्यस लगत्तै दुवैजना उठेर हिँडे । ओली र प्रचण्डबीच मंगलबार संवादहीनता त तोडिएको छ, तर विषयबस्तुमा छलफल भने हुन सकेन् ।
आजको भेटवार्ता सामान्य शिष्टाचारबाहेक अरु केही नभएको एक सचिवालय सदस्यले बताएका छन् । साउन दुई गतेदेखि भने निरन्तर स्थायी कमिटी बैठक चलाउनुपर्ने निष्कर्षमा प्रचण्डसहितको समूह पुगेको छ ।