काठमाडौं । पुराना कम्युनिस्ट नेता तथा पूर्व सांसद बर्मन बुढामगरको ९० वर्षको उमेरमा उपचारको क्रममा ललितपुरमा निधन भएपछि उनको जन्मभूमी रोल्पाको थबाङ शोकमा डुबेको छ । पारिवारिक खबर तथा सामाजिक सञ्जालमार्फत बुढाको निधनको खबर गाउँमा पुगेपछि थबाङ शोकमा छ ।
नेपाल पत्रकार महासंघको प्रदेश नं. ५ का अध्यक्ष थबाङ निवासी मौसम रोकाका अनुसार त्यहाँका मानिसहरु विहानैदेखि बर्मन बुढाको घरमा जम्मा भइरहेका छन् । ‘थबाङले आज आफ्नो अभिभावक गुमाएको छ, आदरणीय बर्मान बुढाको निधनले थबाङ अहिले पुरै शोकमा छ,’ थबाङमै रहेका रोकाले भने ।
थबाङ जसरी कम्युनिष्ट आन्दोलनको केन्द्रको रुपमा स्थापित छ, यसमा दिवंगत बुढाकै देन रहेको बताउँछन् रोका । ‘आज थबाङ भिन्न इतिहास बनाएर जसरी उभिएको छ, हामी यसमा जसरी गौरव गर्छौं, यो सबै बनाएको उहाँले नै हो,’ रोकाले भने, ‘आज गाउँ शोकमा डुबेको मात्रै छैन, उहाँको योगदानका बारेमा पनि चर्चा भइरहेको छ ।’
पत्रकार रोकाका अनुसार बुढा रोल्पाको पहिलो कम्युनिस्ट सदस्य हुन् । उनलाई मोहनविक्रम सिंहले कम्युनिस्ट पार्टीको सदस्यता दिएका थिए । बुढा पञ्चायतमा प्रधानपञ्च थिए, तर जनमत संग्रहको क्रममा उनको नेतृत्वमा थबाङले भोट बहुदलको पक्षमा हाल्यो । उनलाई तेजमान घर्ती, सूर्यलाल बुढाजस्ता युवाहरुले साथ दिएका थिए ।
थबाङको मुखिया, प्रधानमञ्च भएका बुढा २०४८ सालमा तत्कालिन जनमोर्चाको तर्फबाट रोल्पा क्षेत्र नं। १ बाट सांसद बनेका थिए । सो समयमा क्षेत्र नं। २ बाट कृष्णबहादुर महरा सोही पार्टीबाट विजयी भएका थिए ।