काठमाडौं । मौशम पुन सक्रिय भएकाले आजपनि दशका विभिन्न स्थानमा भारी वर्षाको संभावना भएको मौशम विज्ञान विभागले जनाएको छ ।
देशभर मनसुनी वायुको प्रभाव पुन शुरु भएकोले देशका अधिकांश क्षेत्रमा भारी वर्षासँगै ठूलो बाढीको संभावना भएकोले सजगता अपनाउने मौशमविद्ले उल्लेख गरेका छन् । अहिलेपनि देशभर सामान्यदेखि पूर्ण बदली भैरहेको जनाएका मौशमविद् राजु प्राधानांगले तराई, हिमाली र पहाडी क्षेत्रका केही जिल्लामा भारी वर्षासँगैको बाढी पहिरोको संभावना रहेकाले सजग रहनु पर्ने बताएका छन् ।
आज विहान साढे ३ बजे तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह नाघेको र बढ्दो रहेकाले कञ्चनखोला, तिनाउखोलाको तल्लो तटीय क्षेत्र र आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागका मौशमविद् प्रधानांगले आग्रह गरे । यसअघि आज विहान २ बजे मापन गरीएको रेकर्ड अनुसार ईलाम, झापा र मोरङका धेरैजसो स्थानमा भारी बर्षा भईरहेको र थप बर्षा हुने सम्भावना रहेकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला र अन्य साना खोलाको जलसतह सतर्कता विन्दु नजिक पुग्न सक्छ ।
तसर्थ आकस्मिक बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
त्यस्तै आज विहान २ बजे मापन गरीएको रेकर्ड अनुसार कैलालीको टिकापुर, चिसापानी लगायत कैलाली र कञ्चनपुरका धेरैजसो स्थानमा भारी बर्षा भएको छ भने थप बर्षा हुने सम्भावना रहेकाले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर लगायतका साना नदीको जल सतह सतर्कता बिन्दु नजिक पुग्नसक्ने भएकाले बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
आज दिउँसो देशभर अधिकांश क्षेत्रमा बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानहरु तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यसैगरी आज राती देशभर अधिकांश क्षेत्रको मौसममा बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, र सुदुर पश्चिमका केही स्थानहरु तथा कर्णाली प्रदेशको एक, दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।