काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारले आफूमाथि कटाक्ष गरेको भोली पल्ट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको विवाद हल गर्न आफू भित्रको अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पार्टी प्रवक्ता पदको इज्जत जोगाउन भन्दै ट्वीट गेको भोली पल्ट सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले त्यसको जवाफ दिएका हुन् ।
व्यक्तिगत आरोप र प्रत्यारोप वा गालीगलौजका रुपमा होइन, वैचारिक, सैद्धान्तिक, राजनीतिक र प्रवृत्तिगत विषयमा छलफल गर्न प्रवक्ता श्रेष्ठको माग छ ।
'म फेरि जोड दिएर भन्छु, हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं । सबै बैठकमा उपस्थित भएर आ(आफना विचार राखौं र छलफल गरौं । त्यसबीचमा आवश्यकताअनुसार शीर्षस्थ नेताहरुको बीचमा र सचिवालयमा गृहकार्य गरौं,' उनले भनेका छन्, 'बैठकले पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णयअनुसार महाधिवेशनको तयारी गर्ने गरी निकास निकालौं ।'
प्रवक्ता श्रेष्ठले थपेका छन्, 'यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गरौं र अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकालौं । पार्टीभित्रको बहस र अन्तसंघर्षलाई सत्यौन्मुख रुपान्तरणको साधन बनाऔं, व्यक्तिको हार र जीतको विषय होइन । पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनतालाई विजयी बनाऔं । व्यक्तिगत आरोप-प्रत्यारोप वा गालिगलौजका रुपमा होइन, वैचारिक, सैद्धान्तिक, राजनीतिक र प्रवृत्तिगत विषयमा छलफल गरौं । ’
स्थायी कमिटी सदस्य रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार रिमालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको भूमिकालाई लिएर तीव्र असन्तुष्टि जनाएका थिए । नेकपाभित्रको पछिल्लो अन्तरसंघर्षमा प्रवक्ता श्रेष्ठ पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा छन् । त्यही समूहमा बसेर काम गरेको विषयलाई लिएर रिमालले प्रवक्ता श्रेष्ठमाथि टिप्पणी गरेका थिए ।