काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जवराको कार्यशैलीप्रति आपत्ति जनाउँदै उनको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ ।
बारले प्रधानन्यायाधीश राणाको भूमिकाको कारण न्याय सम्पादन सन्तोषजनक हुन नसकेको पनि आरोप लगाएको छ । बारले सोमबार पत्रकार सम्मेलन मार्फत प्रधानन्यायाधीशको कार्यशैलीप्रति आपत्ति जनाएको हो ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार २०७५ सालमा प्रधानन्यायाधीशले बहाली हुँदा न्यायपालिका भित्रको विकृति हटाउन नेतृत्व गर्ने बताए पनि व्यवहारमा त्यस्तो देखिएको छैन । नाम उल्लेख नगरेरै बारले अन्य केही न्यायाधीशहरूमा अनुभव र ज्ञानको अभाव देखिएको पनि आरोप लगाएको छ । तर त्यस्ताको पहिचान गरी न्याय परिषदमा हाजिर गराउने र तालिम तथा प्रशिक्षणको उचित व्यवस्था गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
यस्तै बारले न्याय क्षेत्रभित्रका विकृति हटाउन बार प्रतिनिधि सम्मिलित विशेष संयन्त्र गठन गर्न माग गरेको छ । यस्तै न्यायाधीश र बारका पदाधिकारीको सम्पत्ति पारदर्शी बनाउन पनि बारले माग उठाएको छ ।