हस्त बुढा
जुम्ला । जुम्लामा मार्सी धानफल्ने छ सय ४० रोपनी जग्गा डुबानमा परेको छन ।
मार्सी धान रोपेका खेतहरु नदि बनि रहेका छन । तिला कर्णाली नदीको बहाव बढेसँगै ठाउँठाउँमा गएको बाढीले जुम्लाका दर्जनौ मार्सी खेतहरु नदिमा परिणत भएका हुन् ।
बाढीले जुम्लाका तीन स्थानीय तह चन्दननाथ नगरपालिका, तातोपानी र तिला गाउँपालिकामा खेती गरिएको हजार रोपनी मार्सी खेत डुबानमा परेका छन् । नदी बग्ने क्षेत्र चन्दननाथ नगरपालिकाको खल्लाचौर ज्युलोदेखि कुडारी त्रिवेणी जिउलोसम्मका हजारौं रोपानी मार्सी रोपेका खेत बालुवा र ढुंगाले भरिएका छन् ।
जेठमा रोपेको मार्सी कार्तिकमा पाक्छ । गोडमेल गरेर फल लाग्ने बेलाको मार्सी धान बाढीले नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । मार्सी रोपेका खेतभरी बालुवा भरिएपछि यस वर्ष धान उत्पादन घट्ने भएको हो ।
कतिपय कृषकका सबै खेत डुबानमा परेका छन् । उनीहरु राहतको पर्खाइमा छन् । डुबान पर्नेमा तिला गाउँपालिकाको त्रिबेणी जिउलोका ५० रोपनी, लुम्सेरा जिउलोका ५०, तातोपानी गाउँपालिका १ मा पर्ने चारवटा जिउलोका दुईसय ५०, तातोपानीकै लाछूँ जिउलोका तीनसय, ताँ जिउलोका ६०, टापुका ३०, बाबिराका २० र हाँकु तलिजिउलोका २० रोपनी खेत डुबानमा परेका हुन् ।
यस्तै चन्दननाथ नगरपालिकाको उम्मगाड जिउलोका ४०, श्रीढुस्का जिउलोका ५० र रानी जिउलोका करिब ७० रोपनी खेत डुबानमा पर्दा मार्सी धान नष्ट भएको तातोपानी गाउँपालीका ३ नं. वडा वडाध्यक्ष डिल्ली रावलको भनाइ छ ।
बाढीले मार्सी धानबाली नष्ट भएका कृषकका परिवारमा भोकमारी हुनसक्ने स्थानीय कृषक टिकदत्त रावलको अनुमान छ । बर्सेनि नदी कटान क्षेत्रमा तटबन्ध निर्माण गर्दागर्दै पनि खेतीयोग्य जमिन कटान तथा डुबानमा पर्ने समस्या नरोकिएको तातोपानी गाउँपालिका २नं।वडाका वडाध्यक्ष कृष्ण बुढाले बताए । उनले भने, 'डुबानमा परेका खेतमा मार्सी धान उत्पादनमा गिरावट आउने भएकाले पीडित किसानलाई राहतका लागि पहल गरिने छ ।'
यता जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले किसानलाई नआत्तिन आग्रह गरेका छन् । डुबानमा परेका सबै खेतमा मार्सी उत्पादन नहुने भन्ने छैन । स्थीति हेर्नुपर्छ । के कति क्षति भएको छ, उनले भने, हामी अवस्था बुझेर किसानलाई जानकारी गराउँछौ । उनका अनुसार कृषि विज्ञसहितको टोलीले डुबानमा परेका मार्सी फाँटको अनुगमन गरेर समस्या समाधानका लागि पहल गर्नेछ ।