काठमाडौँ । पार्टीको आन्तरिक विवाद समाधानको मस्यौदा बनाउन दुई अध्यक्षको पहलमा गठित कार्यदलको प्रतिवेदन सचिवालय बैठकमा छलफल गरेर अगाडि बढाउन तयार भएपछि नेकपा सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा चार नेताले कार्यदल गठन प्रक्रियामा प्रश्न उठाएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल कार्यदल प्रतिवेदन सचिवालयमा छलफल गराउन तयार भएका हुन् ।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा शुक्रबार ओली र दाहालले ६ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलको कार्यादेश र समय सीमाबारे बरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार अध्यक्ष दाहाललाई भेटेर असन्तुष्टि जनाएका थिए । उनीहरुकै मागअनुसार सोमबार सचिवालय बैठक बसेको हो ।
सोमबारको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमले समेत पार्टी कमिटीबाट कार्यदल नबनाएकोमा असन्तुष्टि राखेको सचिवालयका एक सदस्यले बताए । ती नेताका अनुसार आफूले अघि सारेको ६ बुँदे प्रस्तावअनुसार पार्टी विवाद हल हुने ठाउँमा पुगेको भन्दै गौतमले सचिवालय बैठकबाट कार्यदल नबनाएकोमा असन्तुष्टि राखेका थिए । शनिबार खनाल, नेपाल र श्रेष्ठसँग उपाध्यक्ष गौतम दाहाल निवास गएका थिएनन् । नेकपाको पछिल्लो शक्तिसंघर्षमा गौतमले आफू कुनै पनि समूहमा नरहेको बताउँदै आएका छन् ।
बैठकमा नेता माधव नेपालले विधि मिचेर कार्यदल गठन गर्ने परम्पराले सही ठाउँमा नपुर्याउने बताएका थिए । उनले कोरोना महामारी तथा विपतमा राहत, उद्धार र नियन्त्रणबारे छलफल गर्न छुट्टै कार्यदल बनाउन पनि माग गरेका थिए । नेता खनाल र प्रवक्ता श्रेष्ठले पनि प्रक्रिया नमिच्न अध्यक्षद्वयको ध्यानाकर्षण गराएका थिए । ‘व्यक्तिगत रुपमा सुझाव लिने भए एउटा कुरा हो, सम्रग्र पार्टीको प्रस्ताव बनाउन कमिटीबाटै कार्यदल गठन गर्दा राम्रो हुन्थ्यो,’एक नेताका अनुसार बैठकमा खनालको भनाई थियो । प्रवक्ता श्रेष्ठले आइतबार सामाजिक संजालमार्फत् कार्यदलले पार्टी विवादको समाधान खोज्ने बताएका थिए ।
सोमबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले धेरै कुरा नराखी अर्का अध्यक्ष दाहाललाई कार्यदल गठन, यसले गर्ने कामलगायतका विषयमा बोल्न दिएका थिए । सचिवालयका एक नेताका अनुसार अध्यक्ष दाहालले अहिलेको आवश्यकताअनुसार पार्टीभित्रको समस्या हल गर्न कार्यदल बनेको, कार्यदलले अन्तिम निर्णय लिने नभइ प्रस्तावको मस्यौदामात्र बनाउने र त्यसपछि पार्टी कमिटीमै छलफल गरेर निर्णयमा पुग्ने बताएका थिए ।