राज शाही
कार्तिक ६, सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लाका ४४ वटा वडा कार्यालय मध्य २९ वडा सचिव विहिन बनेका छन् ।
संघिय सरकार र प्रदेश सरकारका झण्डै तिन दर्जन भन्दा बढी मन्त्रालय र विभागका कामहरुको प्रत्यक्ष सुविधा दिने जिल्लाका सात गाउँपालिकाका ४४ वडा मध्ये २९ वडा सचिव नभएपछि नियमित काम गर्न समस्या भएपछि जिल्लाका सबै स्थानीय तहले संघिय सरकार समक्ष तोकता गर्न शुरु गरेका छन् ।
नयाँ संरचना सँगै ८ वडा रहेको सिमकोट गाउँपालिकामा एक सचिव मात्रै भएपछि नियमित काम गर्न समस्या भएको बताएका सचिव धर्मराज रोकायाले पालिकाका ४, ५ र ६ नम्बर वडाको जिम्मेवारी लिनु परेको बताएका छन् ।
संघिय सरकार र प्रदेश सरकारले वडा सचिवको व्यवस्था नगरेकाले थप समस्इा भएको बताएका सचिव बोहराका अनुशार अहिले सिमकोट गाउँपालिकामा कतिपयमा करारका कर्मचारीबाट काम चलाउने गरिएको छ ।
जिल्लाको भौगोलिक हिसाबले निकै ठूलो गाउँपालिकाका रुपमा रहेको नाम्खाका ६ वटा वडामा पनि ३ जना मात्रै वडा सचिव कार्यरत भएपछि नियमित काममा सोचे अनुशार नभएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए । एक वडा देखि अर्को वडामा पुग्न ३ दिनसम्म लाग्ने स्थानमा समेत सचिवको अभाव भएपछि नागरिकलाई सेवा प्रवाहमा समस्या भएको अध्यक्ष लामाले नेपालबोटलाई जानकारी दिए ।
भूगोल र वडा संख्याका हिसाबले सानो गाउँपालिका मानिने खार्पूनाथका सबै वडामा समेत सचिव नभएपछि काम गर्न समस्या भएको छ । वडा अनुशारका सचिव कै अभावले सामाजिक सुरक्षा भत्ता वितरण देखि अन्य पञ्जिकरण दर्तामा समेत समस्या आएको प्रमूख प्रशासकिय अधिकृत चन्द्रविर शाहीले बताए । अधिकृत शाहीका अनुशार ५ वडा भएको खार्पुनाथमा पनि १ जना मात्रै सचिव कार्यरत छन् ।
वडागत रुपमा अर्को ठूलो सर्केगाड गाउँपालिकामा पनि सचिवको समस्या उस्तै छ । भौगोलिक रुपमा नाम्खापछिको ठूलो सर्केगाडमा पनि ४ जना सचिव मात्रै भएपछि नियमित काममा ठूलो समस्या भएको प्रमुख प्रशासकिय अधिकृत योगेश पाण्डेले बताए ।
सचिवको व्यवस्थाकालागि गाउँपालिकाका तर्फबाट पटकपटक मन्त्रालयलाई पत्राचार गर्दापनि हालसम्म सुनुवाई नभएकोले नियमित काम प्रभावित हुदै आएको बताएका प्रमूख पाष्डेले वडाअनुशार सचिवको संख्या नभएपछि हरेक नागरिककहाँ सरकार पुग्ने नारा पुरा हुन नसक्ने बताए ।
६ वडा भएको चंखेली गाउँपालिकामा पनि २ सचिवले काम चलाइरहेका छन् । सरकारको नारा अनुशार सिहंदरबार गाउँमा आएपनि सिंहदरबारको अनुभूति गराउने सचिवनै नभएपछि थप समस्या भएको प्रमूख प्रशासकिय अधिकृत धुर्व फुँयालले बताए ।
उता जिल्ला सदरमुकाम सिमकोट देखि निकै लामो दुरीका अदानचुली र ताँजकोटमा पनि समस्या उस्तै छ । वडा अनुशार सचिव नभएपछि आफूले सोचे अनुशारका काम गर्न नसकेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए । भौगोलिक रुपमा एक वडादेखि अर्को वडा जान टाढा भएको बताएका अध्यक्ष फडेराका अनुशार ६ वडा भएको अदानचुलीमा ३ जना मात्रै सचिव कार्यरत छन् ।
वडा अनुशारको सचिवको संख्याको व्यवस्थापनका लागि पटकपटक संघिय मन्त्रालयसँग समन्वय गर्दा केही नलागेको बताएका अध्यक्ष फडेराले पालिकामा भएका २ जना सचिवले मुष्किलले काम चलाएको प्रतिक्रिया दिए ।