हस्त बुढा
जुम्ला । कालीकोट र जुम्ला जिल्लाको सिमाना पर्ने नाग्मा बजारमा गएको पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
आईतबार (आज) बिहान गएको पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु र १ जना घाईते भएको प्रहरीले जनाएको छ ।
जुम्लाका डिएसपी लाल बहादुर धामीबाट प्राप्त जानकारी अनुसार तिला गुफा नगरपालिका १ का पुर्णा शाहिका ४ जना परिवारको मृत्यु भएको हो ।
जसमा पुर्णाका श्रीमान ४० वर्षिय प्रयाक शाहि, ८ वर्षिय छोरी हिमा शाहि, ५ वर्षीय छोरा निराजन शाहि र २ महिनाको छोरा अब्बल शाहि गरी ४ जनालाई मेरेकै अबस्थामा निकालिएको थियो ।
पहिरोमा परेर उद्धार गरिएकी पुर्णा शाहि अहिले खतरामुक्त रहेकी छन् । गम्भीर घाईते भएको अबस्थामा उद्दार गरि प्रतिष्ठानमा उपचारका लागि ल्याइएकी पुर्णा खतरा मुक्त रहेको प्रतिष्ठानले जनाएको छ ।
डिएसपी लालबहादुर धामीले भने,“जुम्ला र कालिकोटको सुरक्षाकर्मीको टोलीले पहिरो पन्छाउने काम गरिरहेका छन् । भने, स्थानीय मुनविर कटुवाल,लाल नेपाली र विर परियारको घरको पहिरो पन्छाउने काम अझै जारी छ । तीनै घरका सबै परिवारका सदस्य मरेकै हुन सक्ने प्रहरीको शंका छ ।”
राजमार्गमै पहिरो गएका कारण आईतबार दिनभरी राजमार्गको आवतजावतमा समेत अवरोध आएको थियो । घाईते पुर्णा शाहिका अनुसार अझैपनि १० देखि १५ जना पुरिएको हुन सक्ने अनुमान छ ।
विहान पहिलो घाईतेका रुपमा प्रतिष्ठानमा ल्याइएको १३ वर्षिय अर्जुन हमाललाई आईतबारनै डिस्चार्ज गरिएको डिएसपी धामीले जानकारी दिए । नाग्म बजारको माथि रहेका खेतहरुमा पानी छोडेपछि भिरालो जमिन भासिएर आएको हो । विपद जोखिमका दृष्टीले नाग्म बजारलाई अर्कै ठाउँमा स्तान्तरण गर्नुको विकल्प छैन् ।”
घरमा पुरिएको आसंका कायमै
कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन र पनि बिहानको समय भएकाले घरभित्र कम्तिमा पनि दशजना मानिस पुरिएको हुनसक्ने स्थानीयको भनाई छ ।
सो क्षेत्रमा सञ्चारको कुनै पनि सेवा र सुविधाको पहुँच नभएका कारण जुम्ला तथा कालिकोटबाट समयमै उद्धार हुन नसकेको स्थानीय मुनि बुढाले बताईन् । कालिकोटका डिएसपी श्याम ओलियाले भने, “पहिरो पन्छाउन जुम्ला र कालिकोटका सुरक्षाकर्मी खटिएका छन् । नाग्म बजारका पहिरो प्रभावितलाई स्तान्तरणका लागि विपद व्यवस्थापनको टोली सोमबार घटनास्थलमा पुगेर अनुसन्धान गरेपछि टुंगो लाग्ने छ ।”
पुरै नाग्म बजार पहिरोको जोखिममा छ भन्न मिल्दैन् तर पहिरो गएको क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा लिने विषयमा विपद व्यवस्थापन समितिले अनुसन्धान गरेपछि मात्रै भन्न सकिने उल्लेख गरे ।