काठमाडौं । पछिल्लो समय विवादको गम्भीर मोडमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई विभाजनबाट जोगाउन कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले फेरि एकपटक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्नुपर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।
नेकपा प्रवक्ता श्रेष्ठले पार्टीभित्र देखिएको मतभिन्नतालाई अन्त्य गरी एकतालाई कायम राख्न पनि अध्यक्ष दाहालले नै संवादका लागि पहल गर्नुपर्ने बताएका हुन्। आइतबार अध्यक्ष दाहालले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीसँगको भेटवार्तामा भएको कुराकानीको ब्रिफिङ गरेपछि आफूहरूले पार्टी एकतालाई कुनैपनि अवस्थामा बचाउन फेरि एकपटक संवाद गर्नुपर्ने सुझाव दिएको उनले बताए।
नेपालको राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्दै समाजिक न्यायसहितको समृद्ध नेपाल बनाउने आधार तयार पार्न र समाजवादसम्म पुग्नका लागि पनि एकता कायम हुनुपर्ने प्रवक्ता श्रेष्ठले बताए।
“हामीले के भन्यौं भने हामीले ठूलो मिहिनेत गरेर पार्टी एकता गरेको हो। नेपालको राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्ने, सामाजिक आर्थिक रूपान्तरण गर्ने, समाजिक न्यायसहितको समृद्ध नेपाल बनाउने, समाजवादको अधार तयार पार्ने र अन्ततः समाजवादमा जाने उद्देश्यले पार्टी एकता गरिएको हो”, प्रवक्ता श्रेष्ठले थपे, “त्यसैले ख्यालख्यालमै पार्टी फुटको दिशातिर जान हुन्न। हामीले पार्टी एकताको रक्षा गर्न पहल नै गर्नुपर्छ। त्यसकारणले अध्यक्ष ‘प्रचण्ड’ले फेरि एकचोटी अध्यक्ष केपी ओलीसँग कुराकानी गर्नुहोस्, बैठक बसौं भनेर बैठक राख्ने नै प्रयत्न गरौं। बैठक राखेर सबै पाटारपक्षमा छलफल गरौं, खुला ढंगले छलफल गरौं र पार्टी एकताको निम्ति प्रयत्न जारी राखौं।”
यद्यपि, आइतबार साँझ आफूहरूसँग भएको ब्रिफिङपछि अहिलेसम्म अध्यक्ष दाहाल र ओलीबीच कुनै संवाद हुन नसकेको प्रवक्ता श्रेष्ठले बताए। आइतबार साँझको ब्रिफिङमा अध्यक्ष दाहालले दुई अध्यक्षबिचको संवादमा अध्यक्ष ओलीले अब कुनैपनि कमिटीको बैठक गर्नुको औचित्य नरहेको भन्दै सल्लाहमै औपचारिक रूपमै अलग भएर काम गरौं भन्ने प्रस्ताव राखेको आफूहरूलाई सुनाएको उनले बताए। उनले ओलीले दाहाललाई पार्टीका कुनैपनि कमिटीको बैठक नमान्ने बताउँदै सल्लाह गरेरै अलगअलग हुन प्रस्ताव गरेको कुरा साँचो रहेको दाबी गरे।
“अध्यक्ष ‘प्रचण्ड’ले हामीलाई जानकारी दिनुभए अनुसार अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठकको केही काम छैन, बैठक बसेर के गर्ने भनेर भन्नुभयो र बैठक बस्न अस्वीकार गर्नुभएछ। बैठकको निर्णय त मान्दै मान्दिनँ, तपाईंहरूले बहुमतले निर्णय गरेर हुन्छ ? केन्द्रीय कमिटीबाट निर्णय गर्नुस्, स्थायी कमिटीबाट निर्णय गर्नुस्, सचिवालयको निर्णय गर्नुस् तर, बहुमतले गरेको निर्णय म मान्दिनँ भन्नुभएछ”, श्रेष्ठले भने, “यति भन्दाभन्दैपनि तपाईंहरूले आफ्नै तर्फबाट बैठक बोलाउनुभयो भने बैठक बोलाउनासाथै म ठूलो अर्को एक्सन लिन्छु त्यसको सामना गर्न तपाईंहरू तयार हुनुहोस्। अथवा सल्लाह गरेर अलगअलग होऔं। अब एकैठाउँ बस्न सकिन्न भनेर भन्नुभएछ।”
प्रवक्ता श्रेष्ठले पार्टी एकता ठूलो मिहिनेत गरेर र क्रान्तिकारी उद्देश्यलाई केन्द्रविन्दुमा राखेर गरिएकाले यसलाई अहिले नै विफल हुन र फुटको स्थिति उत्पन्न हुन नदिन सबै नेता कार्यकर्ताले पहल गर्नुपर्ने बताए।