काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहालले पार्टी विभाजन निम्त्याउने खेल खेलेको आरोप लगाएका छन्।
पूर्वसमूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको पोखरेलको टिप्पणी छ।
सोमबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उपप्रधानमन्त्री समेत रहेका पोखरेलले विभाजन निम्त्याउनेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाउन अपील गरेका छन्। ट्वीटमा दाहालको नाम उल्लेख नगरिएपनि पोखरेलले दाहाललाई लक्षित गरेर लेखेको देखिन्छ।
‘एकताका बेला गरिएको सहमतिविपरीत पूर्वसमूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो’, पोखरेलले लेखेका छन्, ‘त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खबरदारी गरौं। व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं।’
नेकपाभित्रको विवाद अहिले चरम उत्कर्षमा पुगेका बेला नेताहरूका विभिन्न धारणा सार्वजनिक भइरहेका छन्। आइतबार मात्रै महासचिव विष्णु पौडेलले पनि पार्टी एकतामा गम्भीर संकट आएको भन्दै एकताको रक्षा गर्न सबै नेतारकार्यकर्तालाई अपील गरेका थिए।
आइतबार नै आफ्नो निवास खुमलटारमा नेकपा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालयका अर्का सदस्य रामबहादुर थापासँग छलफल गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री समेत रहेका ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको गरेको ‘ब्रिफिङ’ गरेका थिए।
केन्द्रको विवाद उत्कर्षमा पुगेपछि आइतबार हुने भनिएको कर्णाली प्रदेशको मन्त्रिमण्डल हेरफेर पनि रोकिएको छ। दाहाल–नेपाल समूहले ओली पक्षका मन्त्री हटाएर नयाँ मन्त्री थप्न लागेको सूचनापछि अध्यक्ष ओलीले प्रदेशमा मन्त्री हटाए केन्द्रमा पनि दाहाल–नेपाल समूहका केही मन्त्री हटाउने चेतावनी दिएका थिए। त्यसपछि दाहाल–नेपाल समूह पछि हटेको थियो।
पार्टीभित्रका समस्याबारे अध्यक्ष ओलीले पनि शनिबार साँझ र आइतबार बिहान आफू पक्षीय नेताहरूसँग बालुवाटारमा छलफल गरेका थिए। ११ दिन लामो संवादहीनता तोड्दै ओली(दाहालबीच शनिबार बालुवाटारमा भेटवार्ता भएको थियो तर, त्यसपछि उत्पन्न परिस्थितिले दुई नेताबीच फेरि संवाद टुटेको छ। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने पार्टी एकता जोगाउन दाहालले नै फेरि एकपटक ओलीसँग संवाद गर्नुपर्ने बताएका छन्।