काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उच्च स्तरका नेताहरुको वालुवाटार बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपिशर्मा ओलीले आफू विरुद्ध गुटबन्दी गरेर सरकारलाई असफल बनाउन खोजिएको आरोप लगाएका छन् ।
नेकपाभित्रको विवाद गम्भीर मोडमा पुगेकै बेला पार्टी का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका पाँच जना सचिवालय सदस्यले पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसेको पछिल्लो दिन ओलीले यस्तो बताएका हुन् ।
कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी भएको वालुवाटार बैठकमा प्रधानमन्त्री ओलीले पार्टीमा गुटबन्दी गर्ने, सरकारकार काम कारबाहीलाई विफल बनाउन लाग्ने कामले राम्रो नगरेको प्रतिक्रिया दिनु भएको वालुवाटार स्रोतले जनाएको छ ।
कार्यकारी अध्यक्ष दाहालकै अध्यक्षमा शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले संकटपूर्ण परिस्थितिमा रहेको पार्टी एकतालाई जोगाएर सहमतिका आधारमा अगाडि बढ्न ओलीलाई सामूहिक आग्रह गर्ने निर्णय गरे बमोजिम लिखित पत्र बोकेर वालुवाटार पुगेका नेताहरुसँग प्रधानमन्त्री ओलीले बैठक बस्ने कुरा अस्वीकार गरेको बताइएको छ ।
स्रोतका अनुसार उनले भने, ‘बस्ने र बैठक हुन्छ बसौँला । समय मिलाएर बस्नुपर्छ । तर, त्यसअघि छलफल गर्न आवश्यक छ ।’ बालुवाटार स्रोतका अनुसार ओलीले बैठक बस्नुपूर्व दुई अध्यक्षबीच सहमति हुनुपर्ने कुरामा आफ्नो स्पष्ट धारणा राखेका छन् ।
सचिवालयका एक नेताका अनुसार बालुवाटारमा पुगेका प्रचण्डसहितका नेताहरुसँग ओली आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले आफूविरुद्ध ५ नेताले गुटबन्दी गरेको गम्भीर आरोप लगाएका थिए भने भने आफूले कुनै पनि हालतमा बैठक नबोलाउन भन्दै जंगिएका थिए ।
‘म बैठक बोलाउन्नँ । किन बोलाउने ? मेरा विरुद्ध गुटबन्दी गर्ने ? मलाई असफल पार्न खोज्ने ?’ वैठकमा ओलीको आक्रोश थियो । ओलीले आफूलाई सँधै अफ्ठारोमा पार्ने काम पार्टीभित्रै बाट भइरहेको भन्दै जनमतको अपमान नगर्न समेत चेतावनी दिए ।
ओली आक्रामक रुपमा प्रस्तुत भएपछि प्रचण्डपनि जंगिएका थिए । उनले गुटबन्दीको आफूहरुले नभइ ओलीबाटै भएको जवाफ फर्काएका थिए । जबज ब्यूँताउने भन्दै जुम बैठक गरेर गुटबन्दीको आह्वान ओलीले गरेको प्रचण्डको आरोप थियो । यस्तै हरेक विषयमा मनपरी गर्ने तथा पार्टीमा कुनै छलफल नगरेको भन्दै ओलीको आलोचना गरेका थिए ।
प्रचण्डसहितका नेताले भोलि वा पर्सीसम्म बैठक बस्नुपर्नेमा जोड दिए पनि ओलीले तत्काल बैठक नबस्ने संकेत गरेका छन् । यसअघि शनिबार बिहान पनि पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बसेको थियो ।
हिजोको बैठकमा जस्तै आज पनि अध्यक्ष ओलीको निर्देशन अनुसार महासचिव विष्णु पौडेल, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा धुम्बाराही बैठकमा सहभागी भएका थिएनन् ।
नेकपामा स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नभएको, कर्णाली प्रकरण, पर्सा घटना, मन्त्रिपरिषद्को बिस्तार तथा हेरफेर, राजदूत नियुक्ति र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग कुटनीतिक मर्यादाविपरित गरेको भेटले नेकपा भित्रको आन्तरिक विवाद उत्कर्षमा पगेको छ ।
बैठकभर ओली र ५ नेताहरुबीच एकले अर्कालाई आरोप प्रत्यारोपमै २ घण्टा सकिएको थियो । अन्तिममा विवाद र आरोप प्रत्यारोपले थप समस्या नित्याउने भन्दै सहमति र समझदारीमै अघि बढ्नुपर्ने र यसमा ओली सहमत हुनपर्ने भन्दै ५ नेताहरु उठेर हिँडेका थिए ।