काठमाडौं । पार्टी भित्रको आन्तरिक विवाद संवेदशिल मोडमा पुगेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज (शुक्रबार) बस्दैछ ।
तीन साता लामो तनावपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी सचिवालय बैठकका लागि तयार भएपछि सचिवालय बैठक आज बस्ने भएको हो । तर, आज बस्ने तय भएको सचिवालय बैठकमा पहिलाजस्तो एजेन्डा तय भएका छैनन् । बरु, यसबीचमा एकअर्का समूहले विरोधीमाथि दबाब बनाउन चालेका कदम, यहीबेला नेताहरुबीच उत्पन्न अविश्वास र उनीहरुले दिएका अभिव्यक्तिले शुक्रबारको बैठक सहज नहुने भने निश्चत छ । शुक्रबार बस्ने बैठकलाई लिएर अोली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल–वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले बिहीबार भिन्दाभिन्दै छलफलसमेत गरेका छन् ।
दाहालले सचिवालयका पाँच नेतासँग खुमलटारमा छुट्टाछुट्टै छलफल गरेका थिए । उता ओलीले पनि निकट नेताहरुसँग बैठकको तयारीलाई लिएर बालुवाटारमा छलफल गरेका छन् । भदौ २६ मा सकिएको स्थायी कमिटी बैठकले दुई अध्यक्षको कार्यविभाजनसहित १६ बुँदे प्रस्ताव पारित गरेको थियो । प्रस्तावको कार्यान्वयनमा कुनै प्रगति छैन । बरु नेकपामा दुवै पक्षले एक–अर्काले पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।
आरोप प्रत्यारोपकैबीच बस्न थालेको बैठकमा पनि विगतमा जस्तै तनावको सम्भावना छ । महासचिव बिष्णु पौडेल दूवै समूहलाई मिलाएर जाने गृहकार्यमा छन् । त्यसैले सचिवालय बैठक स्थायी कमिटीले लिएका तिनै निर्णय कार्यान्वयनमा केन्द्रित हुन्छ वा ती अधुरै रहेका निष्कर्षसहित थप नयाँ निर्णय गर्ने दिशातर्फ जान्छ रु बिहीबार साँझसम्म यो प्रश्नको स्पष्ट जवाफ छैन् ।
दाहाल-नेपाल समूह भने सचिवालय बैठकमा स्थायी कमिटीले लिएका निर्णय कार्यान्वयनबाहेक अन्य मुद्दालाई पनि प्रवेश गराउने तयारीमा छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली भदौ २६ को निर्णयबाट पछाडि हटेको यो समूहको निष्कर्ष छ । ओली समूह भने सरकारविरुद्ध घेराबन्दी भएको भन्दै त्यसको प्रतिवादमा उत्रने तयारीमा छ ।
दाहाल–नेपाल समूहले शुक्रबारको बैठकमा स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नभएको विषय, स्थायी कमिटी निर्णयविपरित मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशको पार्टी विवाद, भारतीय गुप्तचर रअका प्रमुखको नेपाल भ्रमण, कोभिड–१९ को अवस्था, संघीयताको मुद्दालगायतका विषय उठाउने तयारी छ ।
‘बैठकका लागि औपचारिक एजेण्डा त आईसकेका छैनन् । तर, पार्टीमा देखिएको संकट र त्यसको निवारणको विषयमा छलफल हुन्छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘त्योसँगै कोभिड–१९को महामारीबाट आम जनता पिडित छन् र स्वास्थ्य संकट पनि तीव्र रुपमा देखापरेको छ । जनजीविकाको संकट पनि देखिएको छ । अर्थतन्त्रको संकटलगायतका विषयमा छलफल गर्छौं ।’
खास गरेर दुई अध्यक्षबीचको कार्यविभाजनप्रति ओली इमान्दार नभएको दाहाल–नेपाल समूहको बुझाई छ । ओली र दाहालबीचको सहमतिअनुसार स्थायी कमिटी बैठकले ओली जारी संसदको कार्यकालभर प्रधानमन्त्री रहने र दाहाल कार्यकारी अध्यक्ष भई पार्टी चलाउने निर्णय लिएको थियो ।
त्यसैले यो मुद्दालाई पनि बैठकमा प्रवेश गराउने दाहाल-नेपाल समूहको योजना छ । विगतमा जस्तै आलोचना र आत्मआलोचना अनि पुन नयाँ सहमतिको विकल्प पनि कायमै छ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको मनोनयनविरुद्ध परेको रिटमा सर्वोच्च अदाललते अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उनको मन्त्री बन्ने बाटो खुलेको छ । योसँगै नेकपाको सचिवालयको समीकरणमा फेबदल आउने अनुमान पनि केही नेताले गरेका छन् । विगतमा गौतमले पाँच सदस्यीय सचिवालय समूहमा बस्ने र त्यहाँबाट निस्कने गरेका थिए ।
पछिल्लोपटक दाहाल–नेपाल समूहमा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठ छन् । ओलीलाई इश्वर पोखरेल, रामबहादुर थापा र महासचिव पौडेलको साथ छ ।
प्रधानमन्त्री ओली आफैंले राजीनामा माग्न सक्ने सम्भावना आकलन गरेर ‘कुनै हालतमा राजीनामा नदिने’ बताइसकेका छन् । बुधबार संखुवासभाको किमाथांका पुगेर पनि प्रधानमन्त्री ओलीले भनेका थिए, ‘म रहरले प्रधानमन्त्री भएको होइन, जनताको माया र विश्वासले देशको प्रधानमन्त्री भएको हुँ । त्यसैले कसैको रहर र चाहना पूरा गर्न राजीनामा दिन्नँ ।’
भदौ २६ मा सकिएको स्थायी कमिटी बैठकयता तीनपटक सचिवालय असोज ४, ६ र २० गते बैठक बसेको थियो। नेकपाको विधानको धारा ५९ को उपधारा २ मा केन्द्रीय सचिवालय बैठक आवश्यकताअनुसार बस्ने उल्लेख छ । असोज ४ को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्ति, सांगठनिक एकीकरणका बाँकी काम र विविध गरी चार एजेन्डा तय गरेको थियो ।