मुकेश पोखरेल
काठमाडौं । सत्तारूढ नेकपामा चुलिएको संकटले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको सत्ता र पार्टी नेतृत्वमा हलचल ल्याइरहँदा अर्का अध्यक्ष दाहालको अबको ‘मूभ’ के होला भन्ने कुराको पनि उत्तिकै ब्यग्र प्रतीक्षा हुँदैछ।
एक वर्ष पहिले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०भित्र प्रतिपक्षको झैं भूमिकामा थिए, वरिष्ठ नेता माधवकुमार नेपाल। कतिपयले उनलाई नेकपाका प्रतिपक्षी नेता भनेर पनि टिप्पणी गर्थे। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल मिलेर गरेका निर्णयलाई चुनौती दिंदै नेपाल भन्ने गर्थे, ‘दुई अध्यक्षको चोचोमोचो मिलेर मात्र हुँदैन, पार्टीमा विधि र प्रक्रियासम्मत निर्णय गरिनुपर्दछ।’
नेकपामा एक वर्ष पहिलेको त्यो स्थिति पूरै बदलिएको छ। शक्ति संघर्षको स्वरूप पनि त्यसैगरी फेरिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग संघर्ष गर्ने तर समयक्रममा एउटा लेनदेनमा पुगेर सम्झौता गर्ने नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अहिले नेपालसँगको गठबन्धनमा छन्। उनले नेकपामा नेपालसँग गठबन्धन मात्र बनाएका छैनन्, ओलीलाई अधिनायकवादी, भ्रष्टाचारको संरक्षक जस्ता आरोप लगाउँदै ओलीविरुद्ध एकखाले मोर्चा नै खोलेका छन्।
नेकपाको केन्द्रीय सचिवालयमा उनले प्रस्तुत गरेको १९ पृष्ठ लामो प्रस्ताव त्यसको उदाहरण हो, जसमा ओलीविरुद्ध आरोपको वर्षा छ। त्यसलाई ओलीसँग लामो सहयात्रा गरेका नेकपाका वरिष्ठ नेता नेपालले साथ दिइरहेका छन्। दाहालको प्रस्ताव र त्यसको प्रत्युत्तरमा ओलीले पेस गरेको ३८ पृष्ठको प्रस्ताव अहिले केन्द्रीय सचिवालय हुँदै नेकपाको स्थायी कमिटीमा पुगेको छ र अध्ययनका लागि स्थायी कमिटी सदस्यहरूलाई वितरण गरिएको छ।
नेकपाभित्रको शक्ति संघर्ष ‘कोर अफ दी लीडर्स’ भनिने सचिवालयले टुगो लगाउन नसकेपछि स्थायी कमिटीमा पुगेको हो। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली सचिवालयमा दाहालले प्रस्तुत गरेको र त्यहाँबाट स्थायी कमिटीसम्म आइपुगेको प्रस्तावमाथि छलफल हुन नसक्ने भन्दै २१ मंसीरमा बसेको स्थायी कमिटी वैठकमा अनुपस्थित रहेका थिए। दाहालले आफ्नो प्रस्ताव फिर्ता लिनुपर्ने ओलीको अडान छ। ओलीको अडानअनुसार दाहालले आफ्नो प्रस्ताव फिर्ता गर्लान् रु अब दाहालको मूभ कस्तो होला रु
दाहालका सम्भावित कदम
नेकपामा देखापरेको यो संकटबीच कार्यकर्ता पंक्ति नेतृत्वले अब के गर्ला भन्ने चिन्तामा देखिन्छ। धेरैको चासो चाहिँ कार्यकारी अध्यक्ष दाहालले के गर्लान् भन्नेमा देखिन्छ। अहिलेको चिसो सम्बन्धलाई निरन्तरता दिँदै दाहाल पार्टी विभाजनतर्फ अग्रसर होलान् या पुनः ओलीसँगै समझदारी गरेर अघि बढ्लान् भन्ने प्रष्ट छैन।
दाहालनिकट स्रोत उनको पहिलो प्रयास माधवकुमार नेपालसँग मिलेर नेकपाको नेतृत्वमा पकड कायम गर्ने रहेको बताउँछ। त्यो प्रयास सफल नभएमा भने नेपाल र झलनाथ खनालले साथ दिएमा ओलीसँग एउटै पार्टीमा बस्ने मनस्थितिमा दाहाल नरहेको त्यो स्रोत बताउँछ। “माधव र झलनाथ कमरेडले साथ दिने हो भने उहाँ ओली सँगसँगै बस्ने चाहनामा हुनुहुन्न। अझैं कति अपमान सहेर बस्ने भन्ने मनस्थिति उहाँमा देखिन्छ। तर, माधव र झलनाल कमरेडसँग उहाँको कुन तहको समझदारी भएको छ, त्यो म भन्न सक्दिनँ”, दाहालनिकट स्रोत भन्छ।
स्थायी कमिटी सदस्य मणि थापा भने दाहाललाई पार्टी विभाजनसम्म पुग्नका लागि नेपाल र खनालको साथ हुन नसक्ने बताउँछन्। “विचारमा ओलीसँग जे अन्तरविरोध हो, माधव नेपालसँग पनि उहाँको त्यही अन्तरविरोध हो। वैचारिक कुरा नमिल्ने भएकाले पार्टी विभाजनको लागि नेपालले साथ दिनुहोला जस्तो लाग्दैन” थापा भन्छन्, “माधव नेपाललाई ओलीले पेलेकै कारण त्यसविरुद्ध दुईवटाको मिलन भएको हो। दुई जना मिलेर मात्र ओलीलाई कमजोर पार्न सकिने आकलनपछि उहाँहरू मिल्नुभएको छ।”
ओलीसँग दूरी निकै बढेपछि दाहाल अहिले पूर्वमाओवादी पंक्तिलाई एक ठाउँ ल्याउने प्रयासमा जुटेका छन्। पूर्वमाओवादीलाई एकजुट पार्दै पहिचानको मुद्दालाई ब्युँताउनेसम्मको छलफल दाहालले आफूनिकट नेताहरूसँग चलाइरहेका छन्।
दाहाल कुनै न कुनै सम्झौता गरेर ओलीसँग मिल्नसक्ने सम्भावना पनि उत्तिकै छ। किनभने नेकपामा धेरैपटक यो क्रम दोहोरिएको छ। त्यसमाथि दाहालको छबि नै यस्तो बनेको छ कि उनी कतिबेला कता ढल्किन्छन् भनेर आकलन गर्न कठिन हुन्छ। वामपन्थी राजनीतिबारे लेख्दै आएका विश्लेषक मुमाराम खनाल दाहालले जतिबेला जुनसुकै निर्णय पनि गर्न सक्ने अनुमान गर्छन्।
“राजनीतिमा ट्याक्टिकल र स्ट्राटेजिक मूभ हुन्छन्, ट्याक्टिकल मूभमा दाहाल माहिर छन्,” उनी भन्छन्, “दाहालको विश्वसनीय पोलिटिकल मूभ होला भन्ने मलाई लाग्दैन, आफू शक्तिमा रहिरहन उनी जे पनि गर्न सक्छन्।”
दाहालनिकट पूर्वमाओवादी नेताहरू महाधिवेशन अघि नै ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीबाट हटाएर जर्वजस्त नेतृत्वमा पकड जमाउनु दाहालका लागि सजिलो भने नभएको बताउँछन्। उनीहरूको भनाइमा नेकपाको विधानमै एकताको भावना र मर्मअनुरूप दुई अध्यक्षको सहमतिलाई जोड दिइएकाले जर्वजस्ती गर्दा दाहाल कमजोर हुने र त्यसो हुँदा अहिले ओलीको विरोधमा रहेको पूर्वएमाले पंक्ति एकढिक्का हुनसक्छन्। २१ मंसीरको स्थायी कमिटी बैठकलाई ओलीले पठाएको पत्रमा पनि खेलको नियम परिवर्तन गर्न खोजिएको भनेर यही कुरालाई इगिंत गर्न खोजिएको छ।
पूर्वमाओवादीलाई एक ठाउँ ल्याउने र पहिचानवादीसँग मिलेर जाने योजनामा दाहाल सफल हुन पनि सक्छन्। नेकपा स्थायी कमिटी सदस्य मणि थापा पूर्वमाओादी एक ठाउँ आउन सक्ने सम्भावना औंल्याउँदै भन्छन्, “यो असम्भव छैन, किनभने त्यहाँ भावना र आन्दोलनको कुरा पनि छ। हामीले एमाले र माओवादी कहिल्यै एक होलान् भनेर पनि सोचेका थिएनौं।”
पूर्वमाओवादीका अर्का एक नेता अब दाहालको अग्नि परीक्षा शुरू भएको टिप्पणी गर्छन्। “अब उहाँले के गर्नुहुन्छ, त्यसमै धेरै कुरा निर्भर हुनेछ”, उनले भने, “उहाँको खास अग्नि परीक्षा अब शुरू भएको छ।”
अस्थिर दाहाल
नेकपाका कार्यकारी अध्यक्ष दाहाललाई बुझेका र उनीसँगै काम गरेकाहरू दाहालले यसै गर्छन् भनेर आकलन गर्न नसकिने बताउँछन्। किनभने उनको स्वभाव नै यति अस्थिर छ कि आज भइरहेको कुरा उनको हकमा भोलि लागू नहुन पनि सक्छ। आफूलाई केन्द्रमा राखेर जुनसुकै निर्णय सक्छन् उनी। झण्डै ३३ वर्ष पार्टी प्रमुख रहेका दाहालका २०५७ सालपछिका क्रियाकलाप र घटनाक्रमलाई विश्लेषण गर्ने हो भने पनि धेरै कुरा छर्लंग हुन्छ।
हिजोको माओवादीमा दाहालले कहिले मोहन वैद्यनजिक रहेर अर्का नेता बाबुराम भट्टराईलाई कारबाही गरे भने कहिले भट्टराईको साथ लिएर वैद्य र रामबहादुर थापालाई किनारामा पुर्याए। दाहालको त्यही स्वभावकै कारण वैद्य, भट्टराई, नेत्रविक्रम चन्द, गोपाल किराती लगायतले छुट्टै पार्टी खोले।
२०६० सालतिर नेकपा माओवादीका तत्कालीन नेता भट्टराईले पार्टीमा संघीय लोकतान्त्रिक गणतन्त्रको लाइनलाई अघि सारेवापत दाहालबाट ‘जनसेनाको नजरबन्दमा बस्नुपर्ने’ कारबाही व्यहोरेका थिए। लडाकूको नजरबन्दमा राखिएका भट्टराईको जीवनरक्षालाई लिएर त्यसबेला दाहाललाई विभिन्न पक्षबाट खबरदारी भएको थियो। रोचक चाहिँ त्यसको करीब डेढ वर्षमै दाहाल नै भट्टराईको लाइनमा आइपुगे। र, २०६२ को चुनवाङ्ग बैठकमार्फत दाहालले बाबुराममाथिको कारबाही फिर्ता गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लाइनलाई बटमलाइन बनाउँदै संसदवादी दलहरूसँग सहकार्य गर्ने कार्यनीति लागू गरे। त्यसपछि तत्कालीन माओवादी र सात दलको संयुक्त आन्दोलन भयो। त्यहीँबाट मुलुक गणतन्त्रमा आइपुग्यो।
त्यतिबेला माओवादीको केन्द्रीय समितिमा रहेका एक नेता दाहालले त्यसबेला वैद्यको साथ लिएर अरु धेरैमाथि कारबाहीको अस्त्र चलाएका थिए। कुनै बेला माओवादीको केन्द्रीय सदस्य रहेका मुमाराम खनाल एउटालाई साथ लिएर अर्कोलाई हिर्काइरहने र आफूलाई सँधै बहुमतमा राख्न खोज्ने दाहालको कला रहेको बताउँदै भन्छन्, “बहुमत पुर्याउन उहाँ गुटबन्दी, षडयन्त्र सबै गर्नुहुन्छ,” खनाल भन्छन्।
अहिले ओलीसँगको लडाइँलाई पनि दाहालको विगतसँग जोडेर हेर्नुपर्ने खनालको धारणा छ। नेकपाका स्थायी कमिटी सदस्य मणि थापा भने काम गर्ने शैली, महत्वाकांक्षा र एकल नेतृत्व गरेको दाहालको विगत लगायतका कारणले ओलीसँग विवाद देखिएको बताउँछन्।
ओलीको तयारी
लामो समयसम्म सँगै काम गरेका वरिष्ठ नेता माधवकुमार नेपाल र एकीकरणबाट सहकार्य शुरू भएका कार्यकारी अध्यक्ष दाहालको घेराबन्दीमा परेका नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री ओली आफूमाथि पार्टी र सरकारमा आइलागेको संकटसँग जुध्ने तयारीमा केन्द्रित छन्। ओलीनिकट स्थायी कमिटी सदस्य सुवास नेम्वाङ्गका अनुसार अहिले ओलीको पहिलो प्रयास नेकपाको विधानमा भएको व्यवस्था अनुरूप दुई अध्यक्षबीच सहमति गरेर अघि बढ्ने छ। र, उनले महाधिवेशनसम्म अध्यक्ष र अर्को निर्वाचनसम्म प्रधानमन्त्री पद नछोड्ने पटक पटक स्पष्ट पारिसकेका छन्। नेम्वाङ्गका भनाइमा यो ओलीको बटमलाइन हो।
ओलीको अर्को प्रयास पनि छ, जुन अघि बढिसकेको छैन। दाहाल सहमतिमा नआएर पार्टी विभाजनको स्थितितर्फ गएमा शक्ति बाँडफाँडका निम्ति पूर्वएमालेबीच समझदारी गर्ने र एमाले पंक्तिलाई एक ठाउँमा ल्याउने प्रयासमा छन् ओली। यद्यपि, अहिले दाहालसँग नजिक रहेका वरिष्ठ नेता माधवकुमार नेपालले पूर्वएमाले एक बनाउँछु भन्ने मानसिकता त्याग्न ओलीलाई सार्वजनिक रूपमै आग्रह गरिसकेका छन्।
साभार हिमालखबर