मंसीर १९, सिमकोट । हुम्लामा स्थानीय तह सञ्चालन भएको डेढ वर्ष पुगिसक्दा समेत स्थानीय तहमा कर्मचारीको अभाव कायमै रहेको छ ।
स्थानीय विकासका लागि संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइसकेको छ तर कर्मचारी नहुँदा काम प्रभावित हुँदै आइरहेका छन । स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी नहुँदा शिक्षासम्बन्धी काम बढी प्रभावित भएका छन् ।
जिल्लाका ७ गाउँपालिका रहेको स्थानीय तहमा स्रोत व्यक्तिको भरमा शिक्षा शाखा सञ्चालन हुँदै आइरहेको छ । स्थानीय तहको शिक्षा शाखामा, उपसचिवसरहको एक कर्मचारी, एकजना विद्यालय निरीक्षक, दुईजना स्रोत व्यक्ति र प्राविधिक सहायकको दरबन्दी भए पनि जिल्लाका ७ वटै स्थानीय तहमा दुई स्रोत व्यक्तिले कार्य सञ्चालन गर्दै आइरहेका छन् ।
दरबन्दी अनुसारको कर्मचारी नहुँदा अनुगमन तथा निरीक्षणको काम निकै प्रभावित हुने गरेको सिमकोट गाउँपकालिलकाको शिक्षा शाखा समालेका स्रोत व्यक्ति गंगा प्रसाद भट्टले बताउनु भयो ।
सिमकोट गाउँपकिालमा २२ वटा सामुदायिक विद्यालय,४ संस्थागत विद्यालय छन् तिनको अनुगमन गर्ने कि कार्यालयमा बसेर कार्यालयको काम गर्ने निकै समस्या हुने गरेको स्रोत व्यक्ति भट्टले बताउनुभयो ।
साबिकको जिल्ला शिक्षा कार्यालयले गर्दै आएको प्रशासनिक तथा विद्यालय अनुगमन, निरीक्षणको काम गर्नुपर्ने भए पनि सो अनुसारको काम गर्न नसकिएको उनको भनाइ छ । उनले भने प्रशासनकै काममा अल्झिँदा अनुगमनको पाटो छुटेको छ । मैले विद्यालयमै धेरै अनुगमन गर्नुपर्ने हो तर त्यो गर्न सकिरहेको छैन ।
अहिले सिमकोटमा रहेको शिक्षा शाखामा दुई जना मात्र कर्मचारी रहेका छन् । सात वटा गाउँपालिकामा स्रोत व्यक्तिको पनि अपुग रहेको दुई जना स्रोत व्यक्ति हुदा विद्यालय निरिक्षण गर्ने काम प्रभावित भएको छ ।